लिखु । नुवाकोट जिल्लाको ६४ वटा स्वास्थ्यचौकीमध्ये चालू आव २०८१/०८२ मा लिखु गाउँपालिका-४ मा रहेको चौघडा स्वास्थ्यचौकी जिल्लाकै उत्कृष्ट भएको छ ।
स्वास्थ्यचौकीको सेवा स्तरीकरण र न्यूनतम सेवा मापदण्डका आधारमा गरिएको जिल्लास्तरीय मूल्याङ्कनमा ६३ वटा स्वास्थ्यचौकीलाई पछि पार्दै ९७ प्रतिशत अंक प्राप्त गरेर चौघडा स्वास्थ्यचौकी उत्कृष्ट भएको हो । आव २०५२/०५३ मा स्थापना भएको चौघडामा जनस्वास्थ्य निरीक्षक अधिकृत छैटौँ तह एक, हेल्थ असिस्टेन्ट एक, अनमी दुई, अहेव एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी दुईजना कार्यरत रहेका छन् । स्वास्थ्य सेवा सुदृढीकरण, स्तरीय सेवा प्रवाह र संस्थागत समन्वयलाई प्राथमिकता दिँदै आएको स्वास्थ्यचौकी इन्चार्ज नवीन घटालले बताउनुभयो । जिल्लाकै उत्कृष्ट बन्नुमा चौकी इन्चार्ज नवीन घटालको नेतृत्वमा स्वास्थ्यचौकी परिवार, व्यवस्थापन समिति अध्यक्ष तथा वडा नम्बर-४ का अध्यक्ष प्रकाश राई, व्यवस्थापन समिति सदस्य, गाउँपालिका स्वास्थ्य शाखा, गाउँपालिका नेतृत्व र जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीलगायत सम्पूर्ण जनस्वास्थ्य परिवारको उल्लेखनीय भूमिका रहेको पालिका अध्यक्ष ध्रुव श्रेष्ठले बताउनुभयो ।
सङ्घीय सरकारले बनाएको न्यूनतम सेवा मापदण्डको आधारमा मापन गर्दा चौघडा जिल्लाभरिकै उत्कृष्ट बनेको जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले जानकारी दिनुभयो । कार्यालयले १२ पालिकाको छुट्टाछुट्टै न्यूनतम सेवा मापदण्डको आधारमा मूल्याङ्कन गर्दा विदुर नगरपालिकाभरिमा खड्गभञ्ज्याङ स्वास्थ्यचौकी र बेलकोटगढी नगरपालिकामा मदानपुर स्वास्थ्यचौकी उत्कृष्ट भएको छ । त्यसैगरी, तारकेश्वर गाउँपालिकामा तारुका स्वास्थ्यचौकी, ककनीमा चतुराले स्वास्थ्यचौकी, म्यागङमा किम्ताङ स्वास्थ्यचौकी, किस्पाङमा भाल्चे स्वास्थ्यचौकी, सूर्यगढीमा वागेश्वरी स्वास्थ्यचौकी, शिवपुरीमा सिक्रे स्वास्थ्यचौकी, दुप्चेश्वरमा राउतबेँसी स्वास्थ्यचौकी, तादीमा उर्लेनी स्वास्थ्यचौकी, पञ्चकन्यामा थप्रेक स्वास्थ्यचौकी घोषित भएका छन् भने लिखुको चौघडा जिल्लाकै उत्कृष्ट बनेको छ ।
प्रतिक्रिया