शुक्रपथ सहकारीले बचत फिर्ता गर्ने

शुक्रपथ सहकारीले बचत फिर्ता गर्ने
त्रिशूली प्रवाह
१ महिना अगाडी

बट्टार । काठमाडौँ, नयाँसडकस्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले नुवाकोटका बचतकर्ताको बचत रकम फिर्ता गर्ने सहमति गरेको छ । सहकारीले विदुर– २, बट्टारमा सम्पर्क कार्यालय खोलेर चार वर्षदेखि बचत सङ्कलन र ऋण लगानी गर्दै आइरहेको थियो ।

बचतकर्ताले बचत फिर्ताका लागि ६ महिनादेखि माग गरे पनि सहकारीले फिर्ता गर्न नसकेपछि यही असार ८ गते बट्टारको कार्यालय घेरेका थिए । कार्यालय गुपचुपमै बन्द गर्न लागेको भन्दै बचतकर्ताले कार्यालयका कर्मचारी र सङ्कलकलाई कार्यालयमै थुनेपछि सहकारी समस्यामा परेको कुरा बाहिरिएको हो । कार्यालय घेराउ गर्दै बचतकर्ताले सहकारी अप्ठ्यारो अवस्थामा पुगेको भन्दै रकम फिर्ता लिन प्रहरी प्रशासन, नगरपालिका र सहकारी सङ्घको ध्यानाकर्षण गराएका थिए । उक्त सहकारीले नुवाकोटमा करिब रु. चार करोड ८० लाख निक्षेप सङ्कलन र रु. दुई करोड ८० लाख ऋण लगानी रहेको पनि सार्वजनिक भएको छ ।

बचतकर्ताले सहकारीका अध्यक्ष नरहरि उपाध्याय, सञ्चालक जीवराज ओझा, शाखाप्रमुख जयबहादुर थापा र प्रमुख कार्यकारी अधिकृत नरेन्द्र विष्टसहित विदुर नगरपालिकाका जनप्रतिनिधि, जिल्ला सहकारी सङ्घका प्रतिनिधिको रोहवरमा तीन दिनसम्म बृहत् छलफल गरेपछि सम्पूर्ण बचत रकम फिर्ता गर्ने सहमति भएको छ । आइतबार प्रहरीले सिल गरेको बट्टारमा रहेको सम्पर्क कार्यालय नियमित खोल्ने र बचतकर्ताको रकम हिसाब गरेर केही महिनापछिको चेक दिने सहमति भएको एक सहभागीले बताए । उक्त सहकारीमा रु. पाँच सयदेखि रु. ५० हजारसम्म बचत गर्ने दुई सयभन्दा बढी सदस्य रहेको बताइएको छ । सहकारीले एक वर्षअघिदेखि नै मागअनुसार बचत रकम फिर्ता गर्न थालेको थियो । सो अवधिमा सहकारीले लगभग रु. तीन करोड फिर्ता गरिसकेको जनाइएको छ । सहकारीका अध्यक्ष उपाध्यायले बचत रकम फिर्ता गर्न जग्गा बेच्ने जनाउँदै किन्नसमेत बचतकर्तालाई आग्रह गरी लगानीमा रहेको ऋण उठाउनका लागि सहयोगको अपेक्षा गर्नुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह