+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपा नेता पाण्डेको जिल्लालाई फलफूलमा आत्मनिर्भर बनाउने अभियान

रास्वपा नेता पाण्डेको जिल्लालाई फलफूलमा आत्मनिर्भर बनाउने अभियान
त्रिशूली प्रवाह
१ महिना अगाडी

विदुर । नुवाकोट जिल्लालाई फलफूलमा आत्मनिर्भर बनाउने अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवम् पर्यटन व्यवसायी सुमनविक्रम पाण्डे लाग्नुभएको छ । उहाँले यो अभियान सफल बनाउन विसं २०८० देखि बिरुवा वितरणलाई निरन्तर दिँदै आइरहनुभएको छ । २०८० सालमा उहाँले ४२ सय एभोकाडो र कागतीको बिरुवा परीक्षणका लागि वितरण गर्नुभएको थियो । कृषकलाई स्थानीय स्रोतमै भरपर्ने कृषि अर्थतन्त्र विकासतर्फ उन्मुख गराउने योजना उहाँले बनाउनुभएको छ ।

कृषकको मागअनुसार माटो परीक्षण गराई कृषिसम्बन्धी तालिम दिई प्राविधिक परामर्श र बिरुवाको नियमित अनुगमनका लागि कृषि प्राविधिकको समेत व्यवस्था गर्नुभएको छ । उहाँले २०८१ सालमा २७ हजार सुन्तला र कागती, यस वर्ष ३० हजार सुन्तला र २० हजार कागतीको बिरुवा वितरण गर्नुभएको उहाँका सहयोगी अशोककुमार थापाले जानकारी दिनुभयो । युवालाई स्वावलम्बन, कृषिमा रोजगार बनाउने र जिल्लालाई फलफूलमा आत्मनिर्भर बनाउन फलफूल र कफीको बिरुवा वितरण गरिरहनुभएको छ । उहाँले यो अभियानलाई गैरराजनीतिक रूपले हेरिदिन आग्रहसमेत गर्नुभएको छ ।

कृषकका लागि पछिल्लो समय फलफूल खेतीमा उत्साह थप्ने काम उहाँले गर्दै गत मंगलबार तारकेश्वर गाउँपालिकामा र बुधबार म्यागङ गाउँपालिकाका पाँचवटा वडामा फलफूलका बिरुवा वितरण गर्नुभएको बताइएको छ । उहाँले म्यागङ गाउँपालिकाको बुङताङ क्षेत्रलाई सुन्तला उत्पादनका लागि पकेट क्षेत्र बनाउन सकिने बताउनुभएको छ । ‘अहिले नै त्यहाँ २७ हजार सुन्तलाको बिरुवाको माग छ, किसानको मागअनुसार अरू बिरुवा ल्याएर वितरण गर्ने योजना छ,’ पाण्डेले भन्नुभयो । कृषि मात्र नभई वातावरण संरक्षणमा समेत जोड दिँदै पाण्डेले बिरुवा रोप्दा वातावरणीय सन्तुलन कायम हुने र भविष्यमा हरियाली प्रर्वद्धनमा योगदान पुग्ने बताउनुभयो । एभोकाडोजस्ता उन्नत जातका बिरुवासमेत वितरण गर्ने तयारीमा रहेको, आगामी वर्ष एक लाख फलफूलका बिरुवा वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह