बट्टार । विगत १४ वर्षदेखि नुवाकोट जिल्लामा कर परामर्श तथा लेखा सेवा प्रदान गर्दै आइरहेको विदुर कर परामर्श सेवा केन्द्रको आयोजनामा बट्टारमा एकदिने वित्तीय प्रतिवेदन, लेखामानक र करलेखा परीक्षणसम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ ।
नेपाल लेखामान बोर्डले ल्याएको नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस) २०२४ आगामी आर्थिक वर्ष २०८२ साउन १ गतेदेखि अनिवार्य रूपमा लागू हुँदै छ । त्यसको तयारीस्वरूप बैंक तथा वित्तीय संस्थालाई नयाँ मानकका प्रावधानबारे जानकारी दिन तालिमको आयोजना गरिएको विदुर कर परामर्श सेवा केन्द्रका निर्देशक दिनेश श्रेष्ठले जानकारी दिनुभयो । तालिममा नुवाकोट, रसुवा र धादिङ जिल्लामा कार्यरत विभिन्न बैंक तथा वित्तीय संस्थाका एक सय ३० भन्दा बढी शाखा प्रबन्धक र ऋण विभाग प्रमुखको सहभागिता थियो । कार्यक्रममा कर तथा लेखा विषयका विज्ञ प्रवीणराज काफ्लेले नेपाल वित्तीय प्रतिवेदन मानक, नेपाल लेखा मानक र कर लेखा परीक्षणसम्बन्धी प्रावधान र व्यावहारिक पक्षबारेमा प्रशिक्षण दिनुभएको थियो ।
सो कार्यक्रमको सहआयोजक ज्ञानको चौतारी र नुवाकोट बैंकर्स क्लब रहेका थिए । विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । परामर्श केन्द्रका निर्देशक श्रेष्ठले नयाँ लेखा मानक लागू भएपछि वित्तीय संस्थाको प्रतिवेदन प्रणाली थप पारदर्शी र जवाफदेही हुने बताउनुभयो ।
प्रतिक्रिया