पृथ्वी र सेतीभूमे माविमा राष्ट्रिय सेवा दल तालिम

पृथ्वी र सेतीभूमे माविमा राष्ट्रिय सेवा दल तालिम
त्रिशूली प्रवाह
१ महिना अगाडी

विदुर । नुवाकोट जिल्लामा यस वर्ष राष्ट्रिय सेवा दल (एनसिसी) तालिम पृथ्वी मावि विदुरमा सोमबारदेखि सुरु भएको छ । विद्यालयका कक्षा नौ र १० का ३० छात्रछात्रा तालिमका लागि छनोट भएका छन् ।

एनसिसी नेपाल सरकारको युवा विकास कार्यक्रमअन्तर्गत एक असल, अनुशासित, चरित्रवान, जिम्मेवार, देशभक्तिले ओतप्रोत नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहितको युवा विकास कार्यक्रम हो । सोको जिम्मेवारी नेपाली सेनालाई नेपाल सरकारबाट दिइएको छ । एनसिसी सैनिक सेवा नभए पनि तालिमका दौरान सैनिकको जस्तो अनुशासन, जीवनोपयोगी सिप, विपत् व्यवस्थापन गर्ने सिप, समय व्यवस्थापनजस्ता विषयमा पर्याप्त अभ्यास गराई दीक्षित गराइने गरेको प्रधानाध्यापक बाबुराम लामिछानेले बताउनुभयो ।

एनसिसीको तालिममार्फत देशका समग्र युवा जनशक्तिलाई अनुशासित, वफादार, इमानदार र जवाफदेही, नेतृत्व दिन सक्ने, देशभक्त एवम् राष्ट्रिय एकताको भावना जागृत गराई व्यक्तित्व विकासमा टेवा पु¥याई विपत्का वेला र राष्ट्रलाई आवश्यक परेको अवस्थामा दक्ष स्वयम्सेवक जनशक्तिको निर्माण गरी नेपालजस्तो प्राकृतिक विपत्को जोखिममा रहेको राष्ट्रलाई अमूल्य सहयोग मिल्न सक्ने कुरालाई मनन गर्दै सिनियर र जुनियर डिभिजनका तालिम सञ्चालन हुँदै आइरहेको छ । सोमबारदेखि ७७ वटै जिल्लामा यो तालिम सुरु भएको छ । नुवाकोटको सदरमुकाममा रहेको जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयमा तालिमको शुभारम्भ जिल्लामा तैनाथ शेर दल गणका गणपति प्रमुख सेनानी अशोककुमार मल्लले गर्नुभएको थियो । सो अवसरमा उहाँले तालिमको विषय र महत्त्वबारे जानकारी गराउँदै यो दुई खण्डमा सञ्चालन हुने जानकारी दिनुभयो । ७९ दिनको संस्थागत तालिम सम्बन्धित विद्यालयमा सञ्चालन हुने तथा २१ दिनको वार्षिक सामूहिक शिविर सञ्चालन हुने बताइएको छ ।

एनसिसीको अवधारणाको प्रारम्भ सन् १८५६ ताका क्रिमिया युद्धबाट फर्केका बेलायती सैनिकले राष्ट्रका युवामा अनुशासन तथा नेतृत्वको भावना वृद्धि गर्ने उद्देश्यले स्थापना गरेपश्चात् भएको थियो । क्रमिक रूपमा विकास भई सन् १९१४ मा पूर्ण रूपमा यो सेवा दलमा रूपान्तरित भयो र अन्य राष्ट्रले पनि सो अवधारणाको अवलम्बन गर्ने गरेको पाइन्छ । नेपालका सन्दर्भमा युवा जनशक्तिको महत्त्व तथा आवश्यकतालाई मनन गरी सो वर्गलाई सङ्गठित गर्दै राष्ट्र विकासका अभियानमा तिनको स्वस्फूर्त सहभागिता जनाउने अवधारणाअनुरूप वि.सं. २०२२ कात्तिक ७ गते एनसिसी स्थापना भएको थियो । वि.सं. २०२४ फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा तत्कालीन राजा महेन्द्रबाट एनसिसीले झन्डा प्राप्त गरेको थियो । त्यस वेलादेखि हरेक वर्ष फागुन ७ गते एनसिसीले आफ्नो वार्षिक समारोह मनाउँदै आइरहेको छ ।

‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्य लिएको राष्ट्रिय सेवा दलले ‘राष्ट्रिय सेवा दल ऐन २०२७’ मा आधारित रही हालसम्म सिनियर डिभिजनतर्फ १४ हजार १३५ र जुनियर डिभिजनतर्फ ६८ हजार ४९ जना कुल ८२ हजार १८४ क्याडेट छात्रछात्राले सफलतापूर्वक एनसिसी तालिम प्राप्त गरिसकेका छन् । एनसिसीको बढ्दो माग सम्बोधन गर्न नेपाल सरकारले यसको तालिमलाई विशेष प्रनथमिकतामा राखेअनुरूप आगामी आव २०८२/०८३ मा सबै जिल्लाका दुई सय ५७ विद्यालयमा सिनियर एक हजार ८० र जुनियर ६ हजार ६३० क्याडेट छात्रछात्रालाई सहभागी गराई तालिम सञ्चालन गर्ने योजना छ । एनसिसीका कार्यकारी महानिर्देशकमा नेपाली सेनाका अवकाशप्राप्त उपरथी यामप्रसाद ढकाल हुनुहुन्छ ।

धुन्चे-कालिका-१ राम्चेस्थित सेतीभूमे माध्यमिक विद्यालयमा एमसिसीद्वारा सञ्चालित ५१औँ जुनियर डिभिजन तालिम सुरु भएको छ । तालिममा कक्षा नौ र १० का ३० छात्रछात्रा सहभागी छन् । रसुवा जिल्लामा तैनाथ नेपाली सेना, श्रीनाथ गणले यही असार ९ गतेदेखि एक सय दिनसम्म सञ्चालन गर्ने तालिमको सुरुवात गणपति प्रमुख सेनानी प्रद्युम्नप्रसाद गौतमले तालिमको लक्ष्य युवामा अनुशासित तथा इमानदारी, वफादारीको भावना विकास गराई विपत्का समयमा उद्धार तथा राहतमा स्वयम्सेवकको भूमिका निर्वाह गर्न सक्ने असल तथा अनुशासित नागरिक बनाउने रहेको बताउनुभयो ।

 

 

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह