हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि सार्वजनिक गरेको बजेट सञ्चारमैत्री नभएको भन्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिसहित पत्रकार संगठनले गत बुधबार प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघ प्रदेश समिति अध्यक्ष कृष्णसारू मगर नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री बहादुरसिह लामा, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेलाई ध्यानाकर्षणपत्र बुझाएका छन् । सञ्चारमैत्री बजेट निर्माणको लागि पटक-पटक ध्यानाकर्षण तथा पहल गरिएकोमा श्रमजिवी पत्रकार र सञ्चार क्षेत्रलाई निषेध गरेर बजेट ल्याएको भन्दै सञ्चार संगठनले आपत्ति जनाएका छन् । सञ्चार क्षत्रेलाई निषेध गरी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित गरिए प्रदेश सरकारले गर्ने गतिविधि सञ्चार माध्यममा प्रकाशन/प्रशारण नगर्नेसम्मको संघर्षमा उत्र्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् । ‘सञ्चार माध्यमले पाउँदै आएको लोककल्याणकारी विज्ञापन वृद्धिको माग गरिएकोमा चालु आर्थिक वर्ष २०८१/०८२ को भन्दा ८५ प्रतिशतले कटौती, पत्रकार संघ संगठनको प्रदेश समितिमार्फत पत्रकार क्षमता विकास कार्यक्रम खारेज तथा श्रमजिवी पत्रकारको क्षमता विकास तथा हितका कार्यक्रम कटौती गरिएकोमा हाम्रो गम्भीर आपत्ति रहेको छ’, ध्यानाकर्षण पत्रमा भनिएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रममा समेटिएको पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पहल, सञ्चार क्षेत्रको विकासको लागि कानुनी तथा कार्यक्रमगत प्रबन्ध तथा विज्ञापन अनुगमन तथा नियमनको लागि कानुनी प्रबन्ध मिलाउने नीति कार्यक्रम बजेटमा समावेश नभएको सञ्चार संगठनको ध्यानाकर्षणपत्रमा उल्लेख छ । ‘सञ्चार हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले केही लाख रूपैयाँ तजबिजमा बाँड्न राखिएको रकम बाहेक सञ्चार क्षेत्रलाई बजेट शुन्य बनाइनु दुःखद कुरा हो’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘लोकतन्त्रको अभिन्न अंग सञ्चार क्षेत्रलाई कमजोर बनाउनेगरी ल्याइएको बजेट संशोधन गरी सञ्चारमैत्री बजेट निर्माण गर्न हामी मुख्यमन्त्री लामा, आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछाने र आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेसहित समृद्ध सबै प्रदेश सरकारकारका सरोकार पक्ष र विपक्षी दलहरूसँग जोडदार माग गर्दछौँ ।’
ध्यानाकर्षण पत्रमा महासंघ बागमती प्रदेश समितिका अध्यक्ष सारू मगर, नेपाल प्रेस युनियन बागमती प्रदेश समितिका उपाध्यक्ष सुजन बिडारी, प्रेस चौतारी नेपाल बागमती प्रदेश समितिका महासचिव प्रकाश दाहाल, प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिका अध्यक्ष ध्रुव अधिकारी, समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुली, आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, सामुदायिक रेडियो प्रशारक संघ बागमती प्रदेश समितिका कोषाध्यक्ष दान बहादुर गुरुङ, स्वतन्त्र पत्रकार संघका उपमहासचिव सुरेश श्रेष्ठ, सञ्चारिका समूह बागमती प्रदेश समितिका महासचिव नानीमाया सापकोटा र राष्ट्रिय फोटो पत्रकार संघ बागमती प्रदेश समितिका सचिव कुमार श्रेष्ठले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया