धुन्चे । रसुवा जिल्लाको कालिका गाउँपालिका-२, कालिकास्थानमा विश्वमै दुर्लभ मानिएको चरिबाघ बच्चासहित भेटिएको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्जको कालिका रेन्जपोस्टका रेन्जर शुलक्षा श्रेष्ठका अनुसार केही दिनअघि दुई बच्चासहित चरिबाघ बस्तीनजिकै ढुङ्गाको कापमा बसिरहेको अवस्थामा भेटिएको थियो । नेपाली सेना श्रीनाथ गण कालिकास्थान पोस्टबाट टोली खटिई चार दिनसम्म निगरानी राखिएको थियो । बस्तीबाट अलिपर ढुङ्गाको प्वाल देखेर वासस्थानजस्तो लागेर बसेको हुन सक्ने र यस विषयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण र राष्ट्रिय प्रकृति संरक्षण कोषलाई खबर गरेपछि कोषबाट प्राविधिक कर्मचारी आए पनि बच्चासहित बाघ आफैं निस्किएर जङ्गलतिर गएको रेन्जर श्रेष्ठले बताइन् । नेपालका संरक्षित क्षेत्रमध्ये खप्तड, शुक्लफाटा, लाङटाङ, मकालु, वरुण, शिवपुरी र चितवन राष्ट्रिय निकुञ्जमा चरिबाघ देखिएको छ । नेपालको मध्यपहाडी क्षेत्र र तराईमा भेटिने यो प्रजातिको बाघ चीन, कोरिया, भारत, बंगलादेश, जापानजस्ता देशमा समेत रहेको छ । कालिका क्षेत्रमा बच्चासहित देखिनु अझै दुर्लभ रहेको श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया