विदुर । गत भदौ १० गतेको महाप्रलयकारी भोटेकोशी–त्रिशूली नदीमा आएको हिमबाढीले त्रिशूलीतटीय क्षेत्रका तीन दर्जनभन्दा बढी मठमन्दिरका पुरातात्त्विक सम्पदा नासिने, मासिने, हराउने चिन्ता स्थानीयवासीले गरेका छन् । बाढीपछि रसुवाको उत्तरगया–५ वेत्रावतीदेखि नुवाकोटको विदुर–५ देवीघाट, त्रिशूली नदीतटीय क्षेत्रमा १८औँ शताब्दीअघिका डेढ सयदेखि दुई सय वर्षभन्दा पुराना, धार्मिक एवम् ऐतिहासिक संरचनाको संरक्षण, खोज र सुरक्षामा सरकारी निकायले चासो नदिँदा नासिने, चोरी हुने अवस्था रहेको छ ।


बाढीले रसुवाको वेत्रावतीमा रहेको राममन्दिर र नुवाकोटको विदुर–१०, वेत्रावतीमा रहेको नेपाल–तिब्बतबिच सन्धि भएको ढुङ्गा, विदुर–१ को इन्द्रायणीथान, इन्द्रायणीघाट, विदुर–१ त्रिशूलीबजारमा रहेको राम मन्दिर, दक्षिणकाली मन्दिर, रातो मच्छिन्द्रनाथ मन्दिर, चैत्य, त्रिशूली गणेश, कुलभक्तेश्वर मन्दिर, सुगतपुर विहार, मस्जिद, चन्द्रा भानेश्वर मन्दिरलगायत दुई दर्जन साना–ठुला मठमन्दिर पुरिएको त्रिशूलीबजारका नारायणलाल श्रेष्ठले जानकारी दिनुभयो । ऐतिहासिक, पुरातात्विक सम्पदाको खोजीनिती सङ्घ, प्रदेश, स्थानीय सरकार, समुदाय कसले गर्ने ? आधिकारिक निकाय को हो, कहीँ–कतैबाट पनि अहिलेसम्म चासो नदिँदा मासिने, हराउने चिन्ता उहाँले गर्नुभएको छ । त्रिशूली–देवीघाट–वेत्रावती क्षेत्रमा स्थानीयवासीले सडक, घर सफा गर्ने, हिलो पन्छाउने भन्दै कहीँकतैको स्वीकृति नलिई डोजर प्रयोग गर्दा बाढीले पुरिएका पुरातात्त्विक सम्पदा हराउने, बिग्रने चिन्ता विदुर–१० का शशि डङ्गोलले गर्नुभएको छ ।

त्रिशूलीतटीय क्षेत्रमा रहेको विदुर–३, फिर्केपको रणभुवेनश्वरी मन्दिर, भैरवेश्वर मन्दिर, विदुर–५ को जालवादेवी मन्दिर, ६४ शिवलिङ्गमध्येको एक भष्मेश्वर मन्दिर, ओमशान्ति मन्दिरलगायत संरचनाका अभिलेख, शिलालेख, मूर्ति, काठ, तामा र ढुङ्गामा कोरिएका तोरण, काठमा कुँदिएका टुँडाल, ढोका चोरी हुने भएकाले प्रहरी प्रशासनले समयमा सुरक्षा दिनुपर्ने माग विदुर–५ का समाजसेवी माधव गजुरेलले गर्नुभएको छ । सरकारको ध्यान, जनधन र भौतिक संरचनामा केन्द्रित भइरहेको मौका छोपी ऐतिहासिक सम्पदा चोरी हुन सक्नेतर्फ नगरपालिका, वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्लास्थित सुरक्षा निकायले चासो र चिन्ता नगरेको गुनासो नुवाकोट उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घमा सदस्य ताराबहादुर कार्कीले गर्नुभएको छ । बाढीपछि सम्बन्धित निकायले मठमन्दिर, ऐतिहासिक धरोहरको तथ्याङ्क सङ्कलन र त्यहाँ रहेका ऐतिहासिक महत्त्वका सामग्रीको लगत तयार गर्न समुदाय पनि जुर्मुराउनुपर्ने अवस्था आएको नुवाकोट नागरिक समाजका अध्यक्ष बद्री त्रिपाठीले बताउनुभयो ।





प्रतिक्रिया