एसइई नतिजा गत वर्षभन्दा सुधार

नुवाकोटमा ५९, रसुवामा ४१ प्रतिशत उत्तीर्ण

एसइई नतिजा गत वर्षभन्दा सुधार
त्रिशूली प्रवाह
१ महिना अगाडी
  •  नुवाकोटमा उत्तीर्ण प्रतिशत ४२.७ प्रतिशतबाट ५८.८२ प्रतिशत पुगेको छ ।
  •  रसुवामा २५.५ प्रतिशतबाट ४०.७४ प्रतिशतमा सुधार भएको छ ।
  •  नुवाकोटमा चारजनाले ४ जिपिए ल्याएका छन् र १९ जनाले उच्चतम जिपिए प्राप्त गरेका छन् ।
  •  रसुवामा ६ जनाले सबैभन्दा बढी जिपिए ल्याएका छन्, जसमा उच्चतम ३.८२ जिपिए छ ।
  •  गत्लाङ माविबाट तीनजनाले परीक्षा दिएकोमा तीनैजना अनुत्तीर्ण ।
  •  यस वर्ष नुवाकोटका १९ उच्च जिपिए ल्याउने विद्यालयमध्ये १४ सामुदायिक विद्यालय छन्, जुन अघिल्लो वर्षका तुलनामा निकै सुधार हो ।
  • थप कक्षा सञ्चालन, सरकारी पूर्वाधार लगानी र विद्यालय, स्थानीय सरकार तथा अभिभावकको सहयोग नतिजा सुधारका मुख्य कारण हुन् ।
  •  रसुवाका हाइल्यान्ड, नर्थपोल, कालिका हिमालय र हिमालयन बोर्डिङ स्कुललगायत विद्यालयबाट सबै उत्तीर्ण तथा गत्लाङ माविबाट सबै अनुत्तीर्ण भए ।

विदुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) को शुक्रबार साँझ प्रकाशित वि.सं. २०८१ को नतिजाअनुसार नुवाकोट र रसुवाको उत्तीर्ण प्रतिशतमा सुधार भएको छ । दुवै जिल्लाले २०८० सालभन्दा २०८१ सालको एसइई नतिजामा १५ प्रतिशतभन्दा बढी वृद्धि गरेका छन् ।

विसं २०८० को एसइईमा नुवाकोटबाट ४२.७ प्रतिशत उत्तीर्ण भएकामा २०८१ मा वृद्धि भई ५८.८२ प्रतिशत भएको छ । त्यसैगरी गत वर्ष रसुवामा २५.५० प्रतिशत उत्तीर्ण रहेकामा यस वर्ष वृद्धि भई ४०.७४ प्रतिशत पुगेको छ । वि.सं. २०८१ को नतिजाअनुसार नुवाकोटबाट एसइईमा सहभागी कुल विद्यार्थीमध्ये ४१.१८ ले प्रतिशत ग्रेड प्राप्त गर्न सकेनन् अर्थात् अनुत्तीर्ण भएका छन् । जिल्लाबाट एसइई दिएका तीन हजार ६ सय ७० मध्ये दुई हजार एक सय ५९ विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका अनुसार चार जनाले चार जिपिए (ग्रेड प्वाइन्ट एभरेज) प्राप्त गरेका छन् । सिम्बोल नम्बरअनुसार चार जिपिए ल्याउनेमा ज्ञानज्योति मावि, किस्पाङ-२ फिकुरीका वसन्त भट्ट, युनिभर्सल बोर्डिङ स्कुल तादी-५ का दिप्सन सुवेदी, अर्किड एकेडेमी विदुर-४ का रोहित श्रेष्ठ र पृथ्वी मावि विदुर-४ का योगेश्वर आचार्य छन् ।

एसइईको नतिजाअनुसार जिल्लाबाट १९ जनाले उच्चतम जिपिए प्राप्त गरेका छन् । उच्चतम जिपिए प्राप्त गर्ने १९ विद्यालयमध्ये १४ सामुदायिक र पाँच संस्थागत (बोर्डिङ स्कुल) छन् । जिल्लामा एक सय ६० भन्दा बढी सामुदायिक र संस्थागत विद्यालय छन् । गत वर्ष १६ उच्चतम जिपिए ल्याउने विद्यालयमध्ये संस्थागत विद्यालय अग्रस्थानमा रहेका थिए । गत वर्ष उच्चतम अङ्क ल्याउने १६ मध्ये ११ संस्थागत विद्यालयका विद्यार्थी थिए । गत वर्ष उच्चतम अङ्क ल्याउने १६ विद्यालयमध्ये सामुदायिक विद्यालय पृथ्वी माविका पाँच विद्यार्थी थिए भने संस्थागततर्फ अर्किड एकेडेमीका चार विद्यार्थी थिए । यस वर्ष उच्चतम अङ्क ल्याउनेमा पृथ्वीका आठ, युनिभर्सल, अर्किड, ज्ञानज्योति र चण्डेश्वरी माविका दुई-दुई तथा त्रिभुवन त्रिशूली मावि, विन्दुकेशर मावि र जेडी बोर्डिङका एक-एकजना छन् । गत वर्षसम्म सामुदायिक विद्यालयको एसइई नतिजा कमजोर रहेकामा यस वर्ष निकै मिहिनेत गरेर सुधार गरेको पाइयो । उच्चतम जिपिए ल्याउनेमध्ये गत वर्ष पृथ्वी मावि एक्लो थियो । यस वर्षको नतिजामा पृथ्वी माविसँगै उच्चतम अङ्क ल्याउनेमा ज्ञानज्योति, चण्डेश्वरी मावि तुप्चे, त्रित्रि मावि त्रिशूली, विन्दुकेशर मावि सामरी थपिएका छन् । सामुदायिक विद्यालयमा तीन तहका स्थानीय, प्रदेश र सङ्घ सरकारले विगत केही वर्षदेखि भवनसहित सबै पूर्वाधार, स्कुल बस, दरबन्दीअनुसार विषयगत शिक्षक, कक्षा ६ सम्म दिवाखाजा, निःशुल्क पाठ्यपुस्तक, पुस्तकालय, खेलकुदका सामग्री उपलब्ध गराउँदै आएका छन् । सरकारको लगानीअनुसार सामुदायिक विद्यालयले एसइई नतिजामा सुधार गर्न नसकेको गुनासो आइरहेको नागरिक समाजका अध्यक्ष बद्री त्रिपाठीले बताउनुभयो । सामुदायिक विद्यालयका शिक्षकले पठनपाठनभन्दा राजनीतिलाई प्राथमिकता दिने गरेको आरोपसमेत उहाँले लगाउनुभयो । विद्यालयमा पठन संस्कृतिमा ह्रास आइरहेको विद्यार्थी र शिक्षकको सिर्जनशीलता घटिरहेको, पाठ्यपुस्तकमा भन्दा सहयोगी नामका पुस्तक बिक्री गर्नेमा मात्र शिक्षकको ध्यान जाने गरेको नागरिक अगुवाले बताउने गरेका छन् ।

शैक्षिक गुणस्तर परीक्षण तथा स्थानीय सरकार, विद्यालय र अभिभावकको निरन्तर प्रयासले नतिजा सुधार भएको शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका प्रमुख रामचन्द्र इटनीले बताउनुभयो । नतिजा सुधार गर्न अधिकांश विद्यालयले थप कक्षा सञ्चालनसमेत गरेका थिए । अध्ययन गर्ने हो भने सामुदायिक विद्यालयका विद्यार्थीको नतिजा राम्रो हुने कुरा यस वर्षको नतिजाले प्रमाणित गरेको छ । विद्यार्थी तथा शिक्षकको मिहिनेत, अभिभावकको साथ र सहयोगको परिणामले यस वर्षको एसइईमा नुवाकोटका सामुदायिक विद्यालयको नतिजा राम्रो आएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नुवाकोटका अध्यक्ष एवम् त्रित्रि माविका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले बताउनुभयो ।

रसुवामा ६ जनाको उच्च जिपिए
रसुवाबाट विसं २०८१ को एसइईमा चार सय ५९ जना सहभागी भएकामा एक सय ८७ विद्यार्थीले मात्र ग्रेड प्राप्त गरे भने दुई सय ८२ विद्यार्थी ननग्रेड (अनुत्तीर्ण) भएका छन् । गत वर्ष चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा सहभागीमध्ये कसैले पनि चार जिपिए ल्याउन सकेनन् । शिक्षा विकास तथा समन्वय एकाइ रसुवाका प्रमुख दीपेशदुर्गा सिलवालका अनुसार जिल्लाबाट उच्चतम जिपिए ६ जनाले ल्याएका छन् । सबैभन्दा बढी जिपिए ल्याई उत्तरगया गाउँपालिकामा रहेको सामुदायिक विद्यालय नीलकण्ठ मावि, बोगटीटारका करिज आचार्यले ३.८२ जिपिए ल्याएका छन् । त्यसैगरी धुन्चेस्थित संस्थागत विद्यालय हाइल्यान्ड आवासीय माविकी सोफिया तामाङले ३.७०, नर्थपोल बोर्डिङ स्कुल कालिकास्थानका प्रवेश न्यौपानेले ३.६६, कालिका हिमालय माविका सङ्गम नेपालले ३.६५, हाइल्यान्ड माविकी प्रतिमा तामाङले ३.६५, नीलकण्ठ माविका देवेन्द्र घिमिरेले ३.७ जिपिए ल्याएका छन् ।

एसइईमा कालिका गाउँपालिकाको सेतीदेवी माविबाट १२ जना सहभागी भएकामध्ये नौ उत्तीर्ण भएका छन् । कालिका हिमालय माविबाट ५७ जनामा ३२ उत्तीर्ण भएका छन् । नीलकण्ठ नमुना माविबाट ४० जनामा १२, सुन्धरा माविबाट ११ जनामा एक, सेतीभूमे माविबाट ११ जनामा पाँच, नर्थपोल बोर्डिङ स्कुलबाट नौ जनामा सबै उत्तीर्ण भएका छन् । उत्तरगया गाउँपालिकाको डाँडागाउँ माविबाट ११ जनामा दुई, भूमेदेवी माविबाट १० जनामा दुई, नवविजयी महेन्द्र माविबाट १२ जनामा ११, नीलकण्ठ माविबाट ४० जनामा १७ उत्तीर्ण भएका छन् । गोसाइँकुण्ड गाउँपालिकाको रसुवा मावि धुन्चेबाट १९ जनाले परीक्षा दिएकामा १३ उत्तीर्ण भएका छन् । कोमिन श्यामेवाङ्फेल माविबाट १२ जनाले दिएकामा ११ उत्तीर्ण भएका छन् । हाइल्यान्ड माविबाट २० जनाले दिएकामा सबै उत्तीर्ण भएका छन् । नमुना एभरग्रिन बोर्डिङ स्कुलबाट १३ जनाले दिएकामा सबै उत्तीर्ण भएका छन् । नौकुण्ड गाउँपालिकाको निर्कुभूमे मावि र वागेश्वरी माविबाट दुई-दुई, गौतमबुद्ध माविबाट ६, नारायण माविबाट तीन, गोसाइँकुण्ड माविबाट सात उत्तीर्ण भएका छन् । आमाछोदिङ्मो गाउँपालिकाको हिमालयन बोर्डिङ स्कुलबाट सातजनाले दिएकोमा सबै उत्तीर्ण भएका छन् । गत्लाङ माविबाट तीनजनाले दिएकामा सबै अनुत्तीर्ण भएका छन् । ग्रे माविबाट पाँचजनामा चारजना उत्तीर्ण भएका छन् । हाकु माविबाट तीनजनाले एसइई दिएकामा सबै उत्तीर्ण भएका छन् भने पार्वतीकुण्ड माविबाट १३ जनामा ६ उत्तीर्ण भएका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह