विदुर । एमाले केन्द्रीय कार्यालय भवन निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा लिने विषयमा असहमति राख्दा कारबाहीमा परेका स्थायी समिति सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनाको निलम्बन नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठकले फुकुवा गरेको छ ।
गत बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले ६ महिनापछि नुवाकोट स्थायी घर भएका पाण्डे र तिमल्सिनाको निलम्बन फुकुवा गर्दै काममा लगाउने निर्णय लिएको हो । उहाँहरूलाई पुरानै जिम्मेवारीमा रहने गरी निलम्बन फुकुवा गरिएको छ । निलम्बनअघि तिमल्सिनालाई नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं १ को इन्चार्जको जिम्मेवारी दिइएको थियो भने पाण्डे पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागको संयोजकको जिम्मेवारीमा थिइन् । केन्द्रीय सचिवालय बैठकले १० पुसमा उनीहरूलाई ६ महिना पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो । यो समयावधि सकिएको भोलिपल्ट केन्द्रीय सचिवालय बैठकले नै उनीहरूमाथिको निलम्बन फुकुवा गरेर पार्टी काममा लगाउने निर्णय लिएको हो । ‘पार्टीभित्र राख्नुपर्ने विषय बाहिर सार्वजनिक रूपमा राखेर कारबाहीमा पर्नुभएका स्थायी समिति सदस्य डा. पाण्डे र केन्द्रीय सदस्य तिमल्सिनाको निलम्बन पार्टीले फुकुवा गरेको छ,’ बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारसँग भन्नुभयोे, ‘उहाँहरूलाई पार्टी काममा लगाउने निर्णय भएको छ ।’ एमाले अध्यक्ष केपी ओलीले वैशाख २ मा पाण्डेलाई बालुवाटार बोलाएर निलम्बन फुकुवा गर्ने सङ्केत दिनुभएको थियो । तर, दुई महिनापछि मात्रै एमाले बैठकले निलम्बन फुकुवाको निर्णय गरेको छ । एमालेले उहाँहरूलाई अनुशासनको कारबाही भएको पत्र दिएको थिएन । उहाँहरूले व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा लिएर कार्यालय बनाउँदा पार्टीको छविमा दाग लाग्ने भन्दै विरोध गर्नुभएको थियो ।
जग्गा दानको विषयमा पार्टी निर्णयविरुद्ध सार्वजनिक टिप्पणी गरेर पार्टीको विधि र अनुशासन उल्लङ्घन गरेको आरोपमा केन्द्रीय सचिवालय बैठकले पार्टी निर्णयको विरोध गरेका नेता भीम रावल, पाण्डे र तिमल्सिनालाई एक साताको समयमा बुझाउने गरी कात्तिक ६ मा स्पष्टीकरण सोधेको थियो । पाण्डे र तिमल्सिनाले १२ कात्तिकमा स्पष्टीकरण पत्र बुझाउनुभएको थियो । तर, रावलले स्पष्टीकरण दिनुभएन । स्पष्ट बुझिने गरी आत्मालोचना नगरेको भन्दै एमालेले पाण्डे र तिमल्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरेको थियो । रावललाई भने पार्टीबाटै निष्कासन गरेको थियो । निलम्बन फुकुवापछि सबैतिरबाट बधाई पाइरहँदा त्रिशूली प्रवाहको एक प्रश्नमा विन्दा पाण्डेले ‘यो बधाईको विषय होइन, पार्टीले महसुस गरेको अवस्था मात्र हो’ भन्नुभयो । नेकपा एमालेले नेता विन्दा पाण्डे र उषाकिरण तिमल्सिनामाथिको ६ महिनाको निलम्बन २०८२ असार ११ गते को सचिवालय बैठकबाट फुकुवा गरेको हो । सोही दिन एमाले सचिवालयद्वारा उहाँहरूलाई जिम्मेवारीमा पुनः फर्काउने निर्णय सार्वजनिक गरेकोे थियो ।
प्रतिक्रिया