विदुर । नुवाकोट जिल्लाका सुनचाँदी व्यवसायीले सुन र हिरामा लगाइएको करको विरोधमा बुधबार बट्टारदेखि त्रिशूलीबजारसम्म मोटरसाइकल र्याली निकालेका छन् । सरकारले आगामी आर्थिक वर्षको विधेयकमा सुनमा दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरूद्धमा मोटरसाइकल र्याली निकालीएको हो ।
सुनचाँदी व्यवसायी सङ्घ नुवाकोटको अगुवाइमा नेपाल सुनचाँदी शिल्प ब्यवसायी सङ्घ नुवाकोट उपसमितिका पदाधिकारी सदस्य सम्मिलित र्याली बट्टारदेखि सदरमुकाम विदुर, त्रिशूली, कोलनीहुँदै सङ्घको कार्यालय त्रिशूलीमा पुगेर कोणसभामा परिणत भएको थियो । सुनमा लगाएको दुई प्रतिशत विलासिता कर खारेज गर, बहुमूल्य हिरा पत्थरमा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर, सुनचाँदी भन्सार दर नेपाल र भारतमा समान रूपमा कायम गरजस्ता प्ले कार्डसहित व्यवसायीले मोटरसाइकल र्याली गरेका हुन् ।
कोणसभालाई सम्बोधन गर्नुहुँदै सङ्घका जिल्ला अध्यक्ष भिमराज बज्राचार्यले कर खारेज नगरेसम्म सुनचाँदी व्यवसायीको आन्दोलन जारी रहने बताउनुभयो । सुनचाँदी व्यवसायीको संस्थाको केन्द्रीय निर्णयानुसार जिल्लामा करको विरोध गरिएको सचिव सबिन अमात्यले बताउनुभयो । व्यवसायी आन्दोलित बनेको महिनौं बित्दासमेत सरकारले कुनै वास्ता नगरेको र अझै वार्तामा बोलाएर समस्या समाधानको पहल नभए आन्दोलनलाई सशक्त बनाउँदै यातायात बन्द गर्नेसमेत अमात्यले चेतावनी दिनुभएको छ । व्यवसायीले सुन तथा हिराजन्य वस्तुमा लगाएको नयाँ कर प्रावधानले व्यवसायमा नकारात्मक असर पर्ने र उपभोक्तालाई समेत भार पर्ने भन्दै खारेजीको माग गरेका हुन् ।
सरकारले लगाएको विलासिता कर र मूल्य अभिवृद्धि कर अव्यवहारिक भएको र यसले व्यवसायलाई थप संकटमा पार्ने पनि सुनचाँदी व्यवसायीले उल्लेख गरेका छन् । नुवाकोटका सुनचाँदी व्यवसायीले करको विरोधमा एक महिनादेखि पसल नै बन्द गरेर प्रदर्शनीमा उत्रे्का थिए ।
प्रतिक्रिया