एसइई खारेज गर्ने चर्चा चलिरहे नि’ न्वाँकोटतिर उच्चतम जिपिए ल्याउनेलाई अफरैअफर सार्वजनिक गरिएको देख्दा लाजै लागेर आयो गाँठे ! सबै विद्यार्थीलाई पढ्ने र शिक्षकलाई पढाउने वातावरण बनाउनेभन्दा पनि बिजनेस अफरमा रमाउँदा ‘सबैका लागि शिक्षा’ अभियान कागजमै सीमित भएन र सरकार ? सिंहदरबारको अधिकारप्राप्त स्थानीय तहले एसइई परीक्षाको सुरुदेखि नतिजा सार्वजनिक हुने वेलासम्म फोर जिपिएमै ध्यान दिँदा सामुदायिक विद्यालय र विद्यार्थीको सङ्ख्या घटेकामा कसले ध्यान पुर्याउने हो, सरस्वती माताले नै जानून् ! बर्सेनि अभिभावक र विद्यार्थी गाउँगाउँबाट सहरकेन्द्रित र संस्थागत विद्यालयप्रतिको रोजाइले रित्तो विद्यालयलाई मनी अफरले आकर्षण गर्ला र मास्टरसाब’ ? ककनीले ल्याएको फोर जिपिए अफर एक्सेप्ट गर्न सक्ने कोही नभए नि’ पञ्चकन्याले भने आगामी वर्ष नगद सम्मान घोषणा गरेको छ । फोर जिपिएमै रमाउनुभन्दा सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउने अभियान गर्न सके फलदायी हुने थियो कि पालिका सरकार ? प्रदेशको अनिवार्य र निःशुल्क शिक्षा कार्यक्रमलाई स्रोत र साधन नछुट्याई लागू गरेका न्वाँकोटका पालिकालाई जय नेपालसहित लालसलाम छ है !
तेस्रो आँखा
१ महिना अगाडी

प्रतिक्रिया