जेठ महिनासम्म फाट्टफुट्ट देखिने, असार लागेपछि क्रमशः बढ्दै गएर साउन–भदौमा महामारीको रूप लिने डेंगी रोगको सङ्क्रमण यस वर्ष पनि पैmलिसकेको छ । मनसुन सुरु भएसँगै डेंगी रोगको प्रकोप बढ्न थालिसकेको छ । तराईमा सीमित मानिएको डेंगी यस वर्ष डोल्पा, हुम्ला, मनाङ र रसुवाबाहेक ७३ जिल्लामा फैलिसकेको छ । जलवायु परिवर्तन, बसाइँसराइ र मानिसको लापरबाहीले डेंगी पहाडतिर उक्लिरहेको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमोयोलोजी तथा रोग नियन्त्रण महाशाखाले यस वर्ष ६० हजारलाई डेंगी सङ्क्रमण हुन सक्ने आकलन गरेको छ । गत हप्ता महाशाखाले सम्भावित जोखिमलाई ध्यान दिएर सरोकार निकायसँग पूर्वतयारी छलफल गरेको थियो । विगत चार वर्षदेखि नेपालमा हरेक वर्ष डेंगी सङ्क्रमितको ग्राफ बढ्दो क्रममा रहेकाले नियन्त्रण चुनौती बनेको छ ।
मनसुनका याममा डेंगी रोगका बिरामीका कारण अस्पताल भरिभराउ हुने गरेको दुई दशक भइसकेको छ । पछिल्लो एक दशकलाई हेर्ने हो भने यस याममा डेंगी सङ्क्रमणले महामारीको रूप लिएको र अस्पतालहरूसमेत अस्तव्यस्त भएको देखिन्छ । महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क हेर्ने हो भने यही असारभित्रै डेंगु रोगका कारण गत वर्ष साउन-भदौको जस्तै अवस्था आउन सक्छ । विगतको अनुभवबाट पाठ सिक्दै समयमै सजगता अपनाएर तीन तहका सरकारबिच समन्वय जरुरी छ । गत वर्ष डेंगी लागेर अस्पतालमा भर्ना हुनेको सङ्ख्या ३४ हजार नाघ्दा १३ जनाको मृत्यु भएको थियो । त्यसको अघिल्लो वर्ष अस्पताल भर्ना हुने डेंगी रोगीको सङ्ख्या ५२ हजार र २० जनाको मृत्यु भएको थियो । यस वर्ष पनि त्यो सङ्केत देखिइसकेको छ । चार जिल्लाबाहेक अन्त डेंगीका झन्डै दुई हजार रोगी देखापरेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपालमा डेंगी रोग पहिचान भएको २०६१ सालदेखि हो । मनसुन सुरु हुनासाथ महामारीको रूप लिन थाल्ने र मनसुन सकिनासाथ डेंगीको प्रकोप पनि क्रमशः घट्दै गएर जाडो महिना सुरु भएपछि निकै नै सुषुप्त हुने चक्र विगत २२ वर्षदेखि जारी छ ।
विगत अनुभवलाई हेर्दा डेंगीलाई महामारी रोगकै सूचीमा राख्नुपर्ने अवस्था नआए पनि उच्च सतर्कता अपनाउनुपर्ने आवश्यकता भने देखिएको छ । पहिलो कुरा त, डेंगी रोगको उपचारका लागि खास औषधि तथा खोपको व्यवस्था छैन । खोप तथा औषधि नभएकै कारण हालसम्म चिकित्सकले लक्षणअनुसार उपचार गरिरहेका छन् । रोगले ज्यादै नच्याप्दासम्म अस्पताल जानेको सङ्ख्या कम हुने गरेकाले डेंगीको सङ्क्रमणका सन्दर्भमा यकिन तथ्याङ्क आउन सकेको छैन । दोस्रो कुरा, डेंगी रोगकै कारण मृत्यु हुने दर अत्यन्तै न्यून रहेको सरकारले बताउने गरे पनि रोग प्रतिरोधात्मक क्षमता कम भएको र अन्य रोगले आक्रमण गरेको व्यक्तिलाई डेंगी रोग थपिएमा ज्यान बचाउन निकै गाह्रो हुने चिकित्सकको भनाइ छ । त्यसबाहेक डेंगी रोगले आक्रमण गरिसकेपछि कसै कसैलाई स्थायी रूपमै शारीरिक तथा मानसिक समस्या हुने, धेरैजसोलाई तङ्ग्रिएर पूर्ववत् अवस्थामै काममा फर्कन दुई–चार महिना समय लाग्ने हुँदा डेंगी नेपालका लागि ठुलो समस्या बनेको छ । ‘मनसुन सकिएपछि रोगको सङ्क्रमण दर घटिहाल्छ नि’ भनेर उदासीन बस्ने अहिलेसम्मको सरकारी प्रवृत्तिमा आमूल सुधारको खाँचो छ ।
डेंगीका बिरामीको लक्षण उपचारका लागि हुने गरेको खर्च, उनीहरू दुई–तीन महिनासम्म थला पर्दा हुने आर्थिक नोक्सानीलगायतलाई हिसाब गर्ने हो भने यस रोगको स्रोत नियन्त्रणका लागि सरकारले अभियानमा तदारुकता देखाउनुपर्छ । खास औषधि तथा खोप नभए पनि दिउँसो मात्रै सक्रिय हुने र स्थिर सङ्लो पानीमा मात्रै सन्तान वृद्धि गर्ने निश्चित जातको लामखुट्टे नै डेंगी रोग सङ्क्रमण तथा विस्तारको मुख्य स्रोत हो भन्ने पत्ता लागिसकेको छ । त्यसैले रोग लाग्न नदिनका लागि अपनाउनुपर्ने सतर्कताका उपाय पनि खासै जटिल छैनन् । सबैभन्दा प्रभावकारी उपाय भनेको डेंगी सार्ने जातको लामखुट्टेको वृद्धि चक्रलाई खोजीखोजी रोक्नु हो । कम्तीमा पनि सात दिनका अन्तरालमा घरको आसपासमा सरसफाइ गर्ने र औषधि छर्कने हो भने यस जातको लामखुट्टेको प्रजनन चक्र रोक्न सकिन्छ भन्ने कुरा सरकारमा रहनेलाई थाहा छ । तर, यसका लागि अभियानको खाँचो छ । विगतमा मलेरियाविरुद्ध अभियान सुरु गरिएजस्तै डेंगीविरुद्ध पनि अभियान सुरु गर्नुपर्ने अवस्था आएको छ ।
प्रतिक्रिया