Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षा प्रणालीमा प्रविधिमैत्री सोच आवश्यक छ

शिक्षा प्रणालीमा प्रविधिमैत्री सोच आवश्यक छ
त्रिशूली प्रवाह
१० महिना अगाडी

गोविन्द तिमल्सिना
प्रधानाध्यापक
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय
नेपालटार, काठमाडौँ

तपाईं लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय हुनुहुन्छ, आजको शिक्षा प्रणाली हेर्दा नेपालको शिक्षा क्षेत्र कुन दिशामा जाँदै छ ?
साँच्चै भन्ने हो भने, हामी अझै पनि परम्परागत शिक्षण प्रणालीमै अड्किरहेका छौँ । हाम्रो शिक्षा प्रणाली अझै पनि २०२८ सालमा बनेको कानुनअनुसार चलिरहेको छ, जुन आजको यथार्थसँग मेल खान सक्दैन । संसद्मा अहिले पनि शिक्षासम्बन्धी ऐनमा व्यापक बहस चलिरहेको छ, जुन आफैँमा एउटा सकारात्मक सङ्केत हो । तर, व्यवहारमा भने हामीले समयअनुसार पाठ्यक्रम परिमार्जन गर्न सकेका छैनौँ, न त पाठ्यपुस्तक नै समयसापेक्ष छन् । त्यसैको परिणामस्वरूप, आज पनि विद्यार्थी ‘घोक्ने र घोकाउने’ प्रविधिमै सीमित छन् । यो प्रविधिले देश समृद्ध हुन्छ भन्ने मलाई लाग्दैन । आजको युग प्रविधिमैत्री र व्यवहारमुखी शिक्षाको युग हो । जिपिए चार ल्याउने विद्यार्थी पनि टेलिफोनको बिल तिर्न सक्दैनन् भने त्यो शिक्षाको औचित्य के रह्यो ? यसैले, अहिले देशलाई चाहिएको हो – सोच्ने र नीति निर्माण गर्न सक्ने जनशक्ति । तर, हाम्रो शिक्षाले अझै पनि त्यस दिशामा मोड लिएको छैन । आजको विश्व परिदृश्य फरक छ । हामी अब विश्वका समकक्षी बन्ने हो भने, हाम्रो शिक्षामा आमूल परिवर्तन आवश्यक छ । केवल सतही सुधारले सम्भव छैन । पहिलेको शिक्षा प्रणाली त्यसवेलाको आवश्यकता पूरा गर्न सक्षम थियो, तर अहिलेको परिवर्तित, प्रतिस्पर्धात्मक संसारमा त्यसले काम गर्दैन ।

तपाईंले ३६ वर्षको प्राध्यापन यात्रामा के-कस्ता अनुभवहरू पाउनुभयो ?
हो, मेरो औपचारिक प्राध्यापन यात्रा २०४५ सालमा सुरु भएको हो । त्यसवेलादेखि आजसम्म म यही संस्थामा नियमित रूपमा कार्यरत छु । यस अवधिमा मैले अनेकौँ परिवर्तन र सङ्क्रमणका चरणहरू देखेँ । हामीले एउटा सामान्य झुपडीबाट सुरु गरेका थियौँ, आज यहाँसम्म पुग्दा भौतिक पूर्वाधारदेखि प्रविधिमैत्री शिक्षासम्म धेरै सुधारहरू गरेका छौँ । अहिले त हामीले पाँचौँ कक्षाबाटै कम्प्युटर शिक्षा सुरु गरेका छौँ । विद्यार्थीहरू प्राविधिक ज्ञान लिँदै छन्, जुन खुसीको कुरा हो । तर, शिक्षामा आएको अन्धाधुन्ध अङ्ग्रेजी मोहले एक खालको अप्ठ्यारो पनि ल्याएको छ । अङ्ग्रेजी माध्यममा पढाउने चलन अहिले संसारभरि फेसनजस्तै देखिएको छ, हामीले पनि त्यसलाई अँगालेका छौँ । तर, त्यसको असर हाम्रो नेपाली भाषामा नकारात्मक रूपमा परेको छ । विद्यार्थीको मातृभाषाप्रतिको झुकाव कम भएको छ, भाषागत कमजोरी बढेको छ । एसइईको पछिल्लो नतिजा हेर्दा, करिब ५५ हजार विद्यार्थी नेपाली विषयमै अनुत्तीर्ण भएका छन् । जुन विषय उनीहरूले बाल्यकालदेखि अनिवार्य रूपमा पढ्दै आएका थिए, त्यसमा फेल हुनु गम्भीर चेतावनी हो । अर्कोतर्फ, ६ महिना मात्र पढिएको कोरियन वा जापानी भाषामा भने पास हुने अवस्था आएको छ । यसले हाम्रो भाषा र संस्कृतिप्रतिको संवेदनशीलता गुम्दो छ भन्ने सङ्केत गर्छ । भाषा केवल सञ्चारको माध्यम होइन, संस्कार र संस्कृतिको वाहक पनि हो । भाषा गुमेपछि संस्कार हराउँछ, संस्कार गुमेपछि संस्कृति हराउँछ, र त्यसपछि सभ्य समाजको निर्माण नै असम्भव हुन्छ । भाषा र संस्कृतिविनाको समाज पहिचानविहीन हुन्छ । त्यसैले, मेरो अनुभवले भन्छ – हामीले पहिलो प्राथमिकता आफ्नो भाषा, कला, साहित्य, संस्कृति र संस्कारलाई दिनुपर्छ । त्यसको संरक्षण गर्दै, आजको विश्वले मागेको प्रविधिमैत्री आधुनिक शिक्षालाई आत्मसात् गर्नुपर्छ । पहिचान जोगाउँदै, आधुनिकता अँगाल्ने शिक्षाको मोडेल अबको आवश्यकता हो ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको हालको शैक्षिक अवस्था कस्तो छ ? विद्यालयमा विकास र सुधार कसरी भइरहेको छ ?
हाम्रो विद्यालयको शैक्षिक अवस्था अहिलेको सरकारी संरचना र स्रोत-साधनको उपलब्धताअनुसार हेर्दा सन्तोषजनक त छ, तर पूर्ण सन्तुष्टि दिने स्थितिमा अझै पुगिएको छैन । हामीले सकेजति मिहिनेत गरेका छौँ, तर अझै कसिलो योजनाबद्ध कार्य र संस्थागत प्रतिबद्धता आवश्यक देखिन्छ । विद्यालयको अवस्था केवल शैक्षिक मात्र होइन, यो एक जटिल प्रणाली हो, जहाँ राजनीतिक प्रभाव, प्रशासनिक सहयोग र स्थानीय निकायको भूमिकाले पनि असर पार्छ । हाम्रो विद्यालय राजनीति नभएकोमा हामी गर्व गर्छौँ । विद्यालयभित्र राजनीति निषेध गरिएको छ, जुन गुणस्तरीय शिक्षाको पक्षमा सकारात्मक पक्ष हो । तारकेश्वर नगरपालिकाले जिपिए ४ ल्याउने विद्यार्थीलाई नगद पुरस्कार र ल्यापटपद्वारा सम्मान गर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयका विद्यार्थीलाई एक लाख रुपैयाँ र ल्यापटप, संस्थागत विद्यालयका लागि ५० हजार र ल्यापटप दिने निर्णयले हामीलाई झन् उत्साहित बनाएको छ । यसबाट सामुदायिक विद्यालयको मनोबल बढ्नेछ । केही वर्षअघि मात्र तारकेश्वरमा सामुदायिक विद्यालयको औसत नतिजा ३४ प्रतिशत थियो, अहिले त्यो ८५.२२ प्रतिशत पुगेको छ । यो प्रगति केवल स्रोतले होइन, शिक्षकहरूको समर्पण, अभिभावकको विश्वास र सामूहिक समझदारीबाट सम्भव भएको हो ।

विद्यालयमा विद्यार्थीको सङ्ख्या पछिल्ला वर्षहरूमा घट्दो छ भन्छन्, हो ?
विद्यार्थीको सङ्ख्या समय र परिस्थितिअनुसार घटबढ भएको हो । द्वन्द्वकाल र कोभिड-१९ महामारीको समयमा विद्यार्थीको उपस्थिति घटेको थियो, जुन स्वाभाविकै थियो । तर, अहिले कोरोनापछि स्थिति फेरि सामान्य हुँदै गएपछि विद्यार्थीको चाप फेरि बढ्न थालेको छ । हाम्रो विद्यालय सामुदायिक (सरकारी) विद्यालय भएकोले, जो आए पनि पढ्न पाउने अधिकार हुन्छ । तर, दुःखको कुरा के हो भने – हामीसँग पर्याप्त भवनको सुविधा छैन । हाम्रो विद्यालयमा आउने चाहना राख्ने धेरै विद्यार्थीलाई हामीले स्थान अभावका कारण भर्ना दिन सकेनौँ । पछिल्लो वर्ष मात्र हामीले झन्डै तीन सयजना विद्यार्थीलाई फर्काउनुपरेको थियो, जुन हामी शिक्षकहरूका लागि अत्यन्त दुःखद क्षण थियो । मनले नमाने पनि स्रोत र संरचना नभएकाले हामी बाध्य भयौँ । हामी चाहन्छौँ जो पढ्न चाहन्छ, त्यो नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा नरोकिऊन् । तर, शैक्षिक पूर्वाधार अभावका कारण अहिले त्यो चाहना पूरा गर्न सकिरहेका छैनौँ । आशा छ – भविष्यमा स्थानीय निकाय, सरकार र समुदायको सहयोगमा यो समस्याको समाधान गर्न सकिनेछ ।

तपाईं एकै शैक्षिक संस्थामा झन्डै ३५-३६ वर्षदेखि निरन्तर शिक्षण गरिरहनुभएको छ, यो अवधिमा तपाईंले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको शैक्षिक स्तरमा कस्तो विकास देख्नुभयो ?
हो, म ०४५ सालदेखि यो विद्यालयमा निरन्तर रूपमा कार्यरत छु । आजसम्म आइपुग्दा, यो विद्यालयमा आमूल परिवर्तन भएको अनुभूति हुन्छ । केवल भौतिक पूर्वाधारमा होइन, शैक्षिक दृष्टिकोण, व्यवस्थापन र सिकाइ प्रक्रियामा पनि उल्लेखनीय सुधार भएको छ । शैक्षिक गुणस्तरको कुरा गर्दा, हामी राज्यले निर्धारण गरेको पाठ्यक्रमलाई मात्र होइन, त्यसबाहेक पनि आवश्यक पर्ने ज्ञान, सिप र अभ्यास समेट्ने प्रयत्न गरिरहेका छौँ । हामीले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने सोचसहित अतिरिक्त पाठ्यक्रम, अतिरिक्त क्रियाकलापहरू र व्यावहारिक अभ्यासहरू समावेश गर्दै आएका छौँ । उदाहरणका लागि, यही विद्यालयकी पहिलो ब्याचकी छात्रा शारदा रिमाल, अहिले एमडी डाक्टर भइसकेकी छिन् । यति मात्रै होइन, यहाँका एकजना सहायक कर्मचारीकी छोरी अहिले एमबिबिएस गरेर सरकारी अस्पतालमा सेवा दिइरहेकी छिन् । हाम्रा धेरै विद्यार्थी इन्जिनियर, प्रशासक, व्यवसायी, शिक्षक र नीति–निर्माताका रूपमा देशको विभिन्न तहमा योगदान दिइरहेका छन् । यस विद्यालयले कसैलाई उपसचिव, कसैलाई उद्यमी, कसैलाई अनुसन्धानकर्ता बनाएको छ । यो विद्यार्थीको मात्र नभएर हाम्रो पनि सफलता हो ।

अघि नै तपाईंले भन्नुभयो हाम्रो शिक्षा प्रणाली अझै समयसापेक्ष बन्न सकेको छैन, के-कस्तो परिवर्तन अनिवार्य छ ?
साँच्चै भन्ने हो भने अबको शिक्षा प्रणाली पूर्ण रूपमा प्रविधिमैत्री, व्यावहारिक र सिपकेन्द्रित हुनुपर्छ । केवल किताब घोक्ने शिक्षाले अब काम गर्ने समय सकिएको छ । विद्यार्थीलाई साथमा सिप, सोच र प्रयोगको क्षमता पनि दिइनुपर्छ । सरकारले केही समयअघि ‘सिक्दै-कमाउँदै’ भन्ने राम्रो नारासहित कार्यक्रम ल्याएको थियो । तर, त्यसलाई पूर्ण रूपमा लागू गर्ने इच्छाशक्ति देखिएन । त्यो अभियान आजको पुस्ताका लागि अत्यन्तै सान्दर्भिक हो । हामीसँग देशभरि फैलिएको कृषि, पर्यटन, उद्योग र प्रविधिको सम्भावना छ । त्यस्ता क्षेत्रमा शैक्षिक उत्पादन परिचालन गर्न सक्ने शिक्षा प्रणाली बनाउनु आजको आवश्यकता हो । हामी अहिले पनि पाठ्यपुस्तक र पाठ्यक्रम निर्माणमा पुरानै ढर्रा पछ्याइरहेका छौँ । यो शैलीले हाम्रा विद्यार्थीलाई न त बजारसँग जोड्छ, न त जीवनका चुनौतीसँग जुध्न योग्य बनाउँछ । त्यसैले पाठ्यक्रम निर्माण पूर्ण रूपमा समयसापेक्ष, भविष्यमुखी र प्रयोगात्मक हुनुपर्छ । शिक्षकको भूमिका पनि परिवर्तन गर्नुपर्छ । शिक्षकलाई समय-समयमा गुणस्तरीय तालिम, अपग्रेड स्किल र सहजीकरणको सुविधा दिनुपर्छ । यदि कुनै शिक्षकले यो गति र आवश्यकता सम्हाल्न सक्दैन भने, सम्मानपूर्वक वैकल्पिक व्यवस्था हुनुपर्छ । मलाई व्यक्तिगत रूपमा लाग्छ, एउटा ६० वर्षीय शिक्षकले १५ वर्षीय विद्यार्थीलाई पढाउँदा ४५ वर्षको सोचाइको अन्तर बाधक हुन सक्छ । सोचाइ नमिल्दा सिकाइ प्रभावहीन हुन्छ । त्यसैले शिक्षक व्यवस्थापनमा पनि लचिलोपन र मूल्याङ्कन प्रणाली जरुरी छ । अर्को एकदमै गम्भीर विषयचाहिँ इसिडी पूर्वप्राथमिक शिक्षा हो । अहिले देखिएको प्रवृत्तिअनुसार यसलाई विद्यालय शिक्षाको बाहिर राख्न खोजिँदै छ, जुन एकदमै गलत धारणा हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह