+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षा प्रणालीमा प्रविधिमैत्री सोच आवश्यक छ

शिक्षा प्रणालीमा प्रविधिमैत्री सोच आवश्यक छ
त्रिशूली प्रवाह
१ महिना अगाडी

गोविन्द तिमल्सिना
प्रधानाध्यापक
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय
नेपालटार, काठमाडौँ

तपाईं लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय हुनुहुन्छ, आजको शिक्षा प्रणाली हेर्दा नेपालको शिक्षा क्षेत्र कुन दिशामा जाँदै छ ?
साँच्चै भन्ने हो भने, हामी अझै पनि परम्परागत शिक्षण प्रणालीमै अड्किरहेका छौँ । हाम्रो शिक्षा प्रणाली अझै पनि २०२८ सालमा बनेको कानुनअनुसार चलिरहेको छ, जुन आजको यथार्थसँग मेल खान सक्दैन । संसद्मा अहिले पनि शिक्षासम्बन्धी ऐनमा व्यापक बहस चलिरहेको छ, जुन आफैँमा एउटा सकारात्मक सङ्केत हो । तर, व्यवहारमा भने हामीले समयअनुसार पाठ्यक्रम परिमार्जन गर्न सकेका छैनौँ, न त पाठ्यपुस्तक नै समयसापेक्ष छन् । त्यसैको परिणामस्वरूप, आज पनि विद्यार्थी ‘घोक्ने र घोकाउने’ प्रविधिमै सीमित छन् । यो प्रविधिले देश समृद्ध हुन्छ भन्ने मलाई लाग्दैन । आजको युग प्रविधिमैत्री र व्यवहारमुखी शिक्षाको युग हो । जिपिए चार ल्याउने विद्यार्थी पनि टेलिफोनको बिल तिर्न सक्दैनन् भने त्यो शिक्षाको औचित्य के रह्यो ? यसैले, अहिले देशलाई चाहिएको हो – सोच्ने र नीति निर्माण गर्न सक्ने जनशक्ति । तर, हाम्रो शिक्षाले अझै पनि त्यस दिशामा मोड लिएको छैन । आजको विश्व परिदृश्य फरक छ । हामी अब विश्वका समकक्षी बन्ने हो भने, हाम्रो शिक्षामा आमूल परिवर्तन आवश्यक छ । केवल सतही सुधारले सम्भव छैन । पहिलेको शिक्षा प्रणाली त्यसवेलाको आवश्यकता पूरा गर्न सक्षम थियो, तर अहिलेको परिवर्तित, प्रतिस्पर्धात्मक संसारमा त्यसले काम गर्दैन ।

तपाईंले ३६ वर्षको प्राध्यापन यात्रामा के-कस्ता अनुभवहरू पाउनुभयो ?
हो, मेरो औपचारिक प्राध्यापन यात्रा २०४५ सालमा सुरु भएको हो । त्यसवेलादेखि आजसम्म म यही संस्थामा नियमित रूपमा कार्यरत छु । यस अवधिमा मैले अनेकौँ परिवर्तन र सङ्क्रमणका चरणहरू देखेँ । हामीले एउटा सामान्य झुपडीबाट सुरु गरेका थियौँ, आज यहाँसम्म पुग्दा भौतिक पूर्वाधारदेखि प्रविधिमैत्री शिक्षासम्म धेरै सुधारहरू गरेका छौँ । अहिले त हामीले पाँचौँ कक्षाबाटै कम्प्युटर शिक्षा सुरु गरेका छौँ । विद्यार्थीहरू प्राविधिक ज्ञान लिँदै छन्, जुन खुसीको कुरा हो । तर, शिक्षामा आएको अन्धाधुन्ध अङ्ग्रेजी मोहले एक खालको अप्ठ्यारो पनि ल्याएको छ । अङ्ग्रेजी माध्यममा पढाउने चलन अहिले संसारभरि फेसनजस्तै देखिएको छ, हामीले पनि त्यसलाई अँगालेका छौँ । तर, त्यसको असर हाम्रो नेपाली भाषामा नकारात्मक रूपमा परेको छ । विद्यार्थीको मातृभाषाप्रतिको झुकाव कम भएको छ, भाषागत कमजोरी बढेको छ । एसइईको पछिल्लो नतिजा हेर्दा, करिब ५५ हजार विद्यार्थी नेपाली विषयमै अनुत्तीर्ण भएका छन् । जुन विषय उनीहरूले बाल्यकालदेखि अनिवार्य रूपमा पढ्दै आएका थिए, त्यसमा फेल हुनु गम्भीर चेतावनी हो । अर्कोतर्फ, ६ महिना मात्र पढिएको कोरियन वा जापानी भाषामा भने पास हुने अवस्था आएको छ । यसले हाम्रो भाषा र संस्कृतिप्रतिको संवेदनशीलता गुम्दो छ भन्ने सङ्केत गर्छ । भाषा केवल सञ्चारको माध्यम होइन, संस्कार र संस्कृतिको वाहक पनि हो । भाषा गुमेपछि संस्कार हराउँछ, संस्कार गुमेपछि संस्कृति हराउँछ, र त्यसपछि सभ्य समाजको निर्माण नै असम्भव हुन्छ । भाषा र संस्कृतिविनाको समाज पहिचानविहीन हुन्छ । त्यसैले, मेरो अनुभवले भन्छ – हामीले पहिलो प्राथमिकता आफ्नो भाषा, कला, साहित्य, संस्कृति र संस्कारलाई दिनुपर्छ । त्यसको संरक्षण गर्दै, आजको विश्वले मागेको प्रविधिमैत्री आधुनिक शिक्षालाई आत्मसात् गर्नुपर्छ । पहिचान जोगाउँदै, आधुनिकता अँगाल्ने शिक्षाको मोडेल अबको आवश्यकता हो ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको हालको शैक्षिक अवस्था कस्तो छ ? विद्यालयमा विकास र सुधार कसरी भइरहेको छ ?
हाम्रो विद्यालयको शैक्षिक अवस्था अहिलेको सरकारी संरचना र स्रोत-साधनको उपलब्धताअनुसार हेर्दा सन्तोषजनक त छ, तर पूर्ण सन्तुष्टि दिने स्थितिमा अझै पुगिएको छैन । हामीले सकेजति मिहिनेत गरेका छौँ, तर अझै कसिलो योजनाबद्ध कार्य र संस्थागत प्रतिबद्धता आवश्यक देखिन्छ । विद्यालयको अवस्था केवल शैक्षिक मात्र होइन, यो एक जटिल प्रणाली हो, जहाँ राजनीतिक प्रभाव, प्रशासनिक सहयोग र स्थानीय निकायको भूमिकाले पनि असर पार्छ । हाम्रो विद्यालय राजनीति नभएकोमा हामी गर्व गर्छौँ । विद्यालयभित्र राजनीति निषेध गरिएको छ, जुन गुणस्तरीय शिक्षाको पक्षमा सकारात्मक पक्ष हो । तारकेश्वर नगरपालिकाले जिपिए ४ ल्याउने विद्यार्थीलाई नगद पुरस्कार र ल्यापटपद्वारा सम्मान गर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयका विद्यार्थीलाई एक लाख रुपैयाँ र ल्यापटप, संस्थागत विद्यालयका लागि ५० हजार र ल्यापटप दिने निर्णयले हामीलाई झन् उत्साहित बनाएको छ । यसबाट सामुदायिक विद्यालयको मनोबल बढ्नेछ । केही वर्षअघि मात्र तारकेश्वरमा सामुदायिक विद्यालयको औसत नतिजा ३४ प्रतिशत थियो, अहिले त्यो ८५.२२ प्रतिशत पुगेको छ । यो प्रगति केवल स्रोतले होइन, शिक्षकहरूको समर्पण, अभिभावकको विश्वास र सामूहिक समझदारीबाट सम्भव भएको हो ।

विद्यालयमा विद्यार्थीको सङ्ख्या पछिल्ला वर्षहरूमा घट्दो छ भन्छन्, हो ?
विद्यार्थीको सङ्ख्या समय र परिस्थितिअनुसार घटबढ भएको हो । द्वन्द्वकाल र कोभिड-१९ महामारीको समयमा विद्यार्थीको उपस्थिति घटेको थियो, जुन स्वाभाविकै थियो । तर, अहिले कोरोनापछि स्थिति फेरि सामान्य हुँदै गएपछि विद्यार्थीको चाप फेरि बढ्न थालेको छ । हाम्रो विद्यालय सामुदायिक (सरकारी) विद्यालय भएकोले, जो आए पनि पढ्न पाउने अधिकार हुन्छ । तर, दुःखको कुरा के हो भने – हामीसँग पर्याप्त भवनको सुविधा छैन । हाम्रो विद्यालयमा आउने चाहना राख्ने धेरै विद्यार्थीलाई हामीले स्थान अभावका कारण भर्ना दिन सकेनौँ । पछिल्लो वर्ष मात्र हामीले झन्डै तीन सयजना विद्यार्थीलाई फर्काउनुपरेको थियो, जुन हामी शिक्षकहरूका लागि अत्यन्त दुःखद क्षण थियो । मनले नमाने पनि स्रोत र संरचना नभएकाले हामी बाध्य भयौँ । हामी चाहन्छौँ जो पढ्न चाहन्छ, त्यो नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा नरोकिऊन् । तर, शैक्षिक पूर्वाधार अभावका कारण अहिले त्यो चाहना पूरा गर्न सकिरहेका छैनौँ । आशा छ – भविष्यमा स्थानीय निकाय, सरकार र समुदायको सहयोगमा यो समस्याको समाधान गर्न सकिनेछ ।

तपाईं एकै शैक्षिक संस्थामा झन्डै ३५-३६ वर्षदेखि निरन्तर शिक्षण गरिरहनुभएको छ, यो अवधिमा तपाईंले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको शैक्षिक स्तरमा कस्तो विकास देख्नुभयो ?
हो, म ०४५ सालदेखि यो विद्यालयमा निरन्तर रूपमा कार्यरत छु । आजसम्म आइपुग्दा, यो विद्यालयमा आमूल परिवर्तन भएको अनुभूति हुन्छ । केवल भौतिक पूर्वाधारमा होइन, शैक्षिक दृष्टिकोण, व्यवस्थापन र सिकाइ प्रक्रियामा पनि उल्लेखनीय सुधार भएको छ । शैक्षिक गुणस्तरको कुरा गर्दा, हामी राज्यले निर्धारण गरेको पाठ्यक्रमलाई मात्र होइन, त्यसबाहेक पनि आवश्यक पर्ने ज्ञान, सिप र अभ्यास समेट्ने प्रयत्न गरिरहेका छौँ । हामीले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने सोचसहित अतिरिक्त पाठ्यक्रम, अतिरिक्त क्रियाकलापहरू र व्यावहारिक अभ्यासहरू समावेश गर्दै आएका छौँ । उदाहरणका लागि, यही विद्यालयकी पहिलो ब्याचकी छात्रा शारदा रिमाल, अहिले एमडी डाक्टर भइसकेकी छिन् । यति मात्रै होइन, यहाँका एकजना सहायक कर्मचारीकी छोरी अहिले एमबिबिएस गरेर सरकारी अस्पतालमा सेवा दिइरहेकी छिन् । हाम्रा धेरै विद्यार्थी इन्जिनियर, प्रशासक, व्यवसायी, शिक्षक र नीति–निर्माताका रूपमा देशको विभिन्न तहमा योगदान दिइरहेका छन् । यस विद्यालयले कसैलाई उपसचिव, कसैलाई उद्यमी, कसैलाई अनुसन्धानकर्ता बनाएको छ । यो विद्यार्थीको मात्र नभएर हाम्रो पनि सफलता हो ।

अघि नै तपाईंले भन्नुभयो हाम्रो शिक्षा प्रणाली अझै समयसापेक्ष बन्न सकेको छैन, के-कस्तो परिवर्तन अनिवार्य छ ?
साँच्चै भन्ने हो भने अबको शिक्षा प्रणाली पूर्ण रूपमा प्रविधिमैत्री, व्यावहारिक र सिपकेन्द्रित हुनुपर्छ । केवल किताब घोक्ने शिक्षाले अब काम गर्ने समय सकिएको छ । विद्यार्थीलाई साथमा सिप, सोच र प्रयोगको क्षमता पनि दिइनुपर्छ । सरकारले केही समयअघि ‘सिक्दै-कमाउँदै’ भन्ने राम्रो नारासहित कार्यक्रम ल्याएको थियो । तर, त्यसलाई पूर्ण रूपमा लागू गर्ने इच्छाशक्ति देखिएन । त्यो अभियान आजको पुस्ताका लागि अत्यन्तै सान्दर्भिक हो । हामीसँग देशभरि फैलिएको कृषि, पर्यटन, उद्योग र प्रविधिको सम्भावना छ । त्यस्ता क्षेत्रमा शैक्षिक उत्पादन परिचालन गर्न सक्ने शिक्षा प्रणाली बनाउनु आजको आवश्यकता हो । हामी अहिले पनि पाठ्यपुस्तक र पाठ्यक्रम निर्माणमा पुरानै ढर्रा पछ्याइरहेका छौँ । यो शैलीले हाम्रा विद्यार्थीलाई न त बजारसँग जोड्छ, न त जीवनका चुनौतीसँग जुध्न योग्य बनाउँछ । त्यसैले पाठ्यक्रम निर्माण पूर्ण रूपमा समयसापेक्ष, भविष्यमुखी र प्रयोगात्मक हुनुपर्छ । शिक्षकको भूमिका पनि परिवर्तन गर्नुपर्छ । शिक्षकलाई समय-समयमा गुणस्तरीय तालिम, अपग्रेड स्किल र सहजीकरणको सुविधा दिनुपर्छ । यदि कुनै शिक्षकले यो गति र आवश्यकता सम्हाल्न सक्दैन भने, सम्मानपूर्वक वैकल्पिक व्यवस्था हुनुपर्छ । मलाई व्यक्तिगत रूपमा लाग्छ, एउटा ६० वर्षीय शिक्षकले १५ वर्षीय विद्यार्थीलाई पढाउँदा ४५ वर्षको सोचाइको अन्तर बाधक हुन सक्छ । सोचाइ नमिल्दा सिकाइ प्रभावहीन हुन्छ । त्यसैले शिक्षक व्यवस्थापनमा पनि लचिलोपन र मूल्याङ्कन प्रणाली जरुरी छ । अर्को एकदमै गम्भीर विषयचाहिँ इसिडी पूर्वप्राथमिक शिक्षा हो । अहिले देखिएको प्रवृत्तिअनुसार यसलाई विद्यालय शिक्षाको बाहिर राख्न खोजिँदै छ, जुन एकदमै गलत धारणा हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह