विदुर । चालू आव २०८१/०८२ मा सर्वाधिक कर तिर्ने १३ करदाता र ज्येष्ठ नागरिकलाई राज्यबाट प्रदान गरिने सामाजिक सुरक्षा भत्ता अस्वीकार गर्ने एकजनालाई विदुर नगरपालिकाले नगर परिषद्मा सम्मान गरेको छ । यही असार २० गते सम्पन्न नगरसभामा वडा नं. १ देखि १३ का १३ जना नियमित रूपमा सर्वाधिक कर तिर्ने वडावासीलाई सम्मान गरिएको नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठले बताउनुभयो ।
सम्मानित हुनेमा वडा नं. १ बाट हिराबज्र बज्राचार्य, २ बाट फेमस फार्म हाउसका रमेश भट्टराई, ३ बाट नेत्रप्रसाद रिमाल, ४ बाट भुवनकुमारी चित्रकार, ५ बाट तादी सिमेन्ट एन्ड लाइम इन्डस्ट्रिजका अजय आचार्य, ६ बाट मनवीर राई, ७ बाट कमलबहादुर अधिकारी, ८ बाट विनोद श्रेष्ठ, ९ बाट महेन्द्रमान श्रेष्ठ, १० बाट नारायणप्रसाद खतिवडा, ११ बाट काशीनाथ प्याकुरेल, १२ बाट कुमार पण्डित र १३ बाट हर्कबहादुर तामाङ हुनुहुन्छ । सो कार्यक्रममा सामाजिक सुरक्षा भत्ता रकम नलिने घोषणा गर्नुभएका विदुर-४ निवासी धननारायण चित्रकारलाई समेत सम्मान गरिएको थियो । उहाँको यसै वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिनेको सूचीमा नाम समावेश भएको थियो । सामाजिक सुरक्षा भत्ता सरकारलाई नै फिर्ता गर्नेमा जिल्लाबाट उहाँ पहिलो भएको नगरपालिकाले जिकिर गरेको छ ।
राज्यले असहाय, गरिब र दैनिक खानलाउन समस्या भएकालाई सामाजिक सुरक्षा भत्ता थपेर दिनुपर्ने तथा सम्पन्नलाई दिन नहुने नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वाध्यक्षसमेत रहनुभएका चित्रकार बताउनुहुन्छ । कतिपयले सामाजिक सुरक्षा भत्ता फिर्ता गर्ने प्रक्रिया नबुझेर पनि लिइरहेको उहाँले बताउनुभयो । आफू खानलाउन सक्षम भएको र अझै पनि काम गर्न सक्ने भएकाले सरकारले दिने भत्ता आवश्यक नपरेको उहाँको भनाइ छ ।
प्रतिक्रिया