गुफाडाँडा । सम्पादक समाज नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यसहित शनिबार सिन्धुपाल्चोकको गुफाडाँडामा पदयात्रा तथा अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । मेलम्ची नगरपालिकाबाट पूर्वतर्फ करिब १५ किलोमिटर टाढा र काठमाडौँबाट ५८ किलोमिटरको दूरीमा अवस्थित गुफाडाँडा प्राकृतिक सौन्दर्य, जलवायु चेतना र धार्मिक आस्थाको केन्द्रको रूपमा चिनिँदै आएको छ ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्थानीय सरकार आफैँले सकेजति गुफाडाँडाको प्रवद्र्धन गर्न लागिपरेको जानकारी दिनुभयो । उहाँले प्रकृतिले दिएको हरियाली सुन्दरतासँगै त्यहाँबाट देखिने अनेकन हिमशृङ्खलाले थप मनमोहक रहेको बताउनुभयो । पदयात्रा समापन कार्यक्रममा वडा नं. ९ का अध्यक्ष किरणदीप खड्काले यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यसँगै देशको धरोहरका रूपमा जलवायु अध्ययन केन्द्र बनाउने लक्ष्य रहेको बताउनुभयो । आफ्नै स्रोतसाधनमा स्थानीयले सञ्चालन गरेको होमस्टे पनि प्रवद्र्धनको बाटो पर्खिरहेको उहाँले जानकारी दिनुभयो । गुफाडाँडासम्म पुग्ने बाटो साँघुरो र जोखिमपूर्ण छ, जसले पर्यटकको सहज आगमनमा बाधा पुयाएको छ । ‘गुफाडाँडाको विकास र प्रचारप्रसारले मात्र होइन, त्यहाँका स्थानीय उत्पादन (आलु, मकै, कोदो आदि)को बजार व्यवस्थापनले पनि जनताको जीवनस्तर सुधार गर्न सकिन्छ,’ उहाँले बताउनुभयो ।
कार्यक्रममा सम्पादक समाजका महासचिव श्याम डोटेलले जलवायु परिवर्तनको असर यस क्षेत्रमा बढ्दै गएको औँल्याउँदै तिनको न्यूनीकरण तथा वातावरण संरक्षणमा हातेमालो गर्न समाजले पत्रकारसहितको पदयात्रा गुफाडाँडामा आयोजना गरेको स्पष्ट पार्नुभयो । उहाँले स्थानीय उत्पादन र परिकारलाई आफ्नो पहिचान बनाउनुपर्नेमा जोड दिनुभयो । पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष धु्रव दङ्गालले यहाँको विकास र समृद्धिका लागि पत्रकारका तर्फबाट सदैव साथ रहने प्रतिबद्धता जनाउनुभयो । पदयात्रामा सम्पादक समाज नेपालका संस्थापक किरण वैद्य, गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत, वरिष्ठ पत्रकार तीर्थ कोइरालालगायत काठमाडौँबाट एक सयजनाभन्दा बढी पत्रकारको सहभागिता थियो । पदयात्रामा सहभागी पत्रकारलाई शङ्खरापुर नगरपालिकाका प्रमुख रमेश स्थापितले समेत स्वागत तथा सत्कार गर्नुभएको थियो ।
वि.सं. २०७५ मा गुफाडाँडामा प्रथम राष्ट्रिय जलवायु सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनमा ७७ वटै जिल्लाका मेयर/उपमेयर तथा जलवायुविज्ञको उपस्थिति रहेको थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको उक्त कार्यक्रममा ७७ जिल्लाका नाममा झन्डा फहराइएका थिए र १० बुँदे घोषणापत्रसमेत जारी गरिएको थियो । त्यस अवसरमा मानवले पृथ्वी बोकेको झल्को दिने जलवायु स्तम्भ (स्ट्याच्यु) निर्माण गरिएको थियो । हालसम्म पनि हरेक वर्ष जनवरी १ तारिखमा जलवायु सम्मेलन आयोजना हुँदै आएको छ ।
प्रतिक्रिया