समुन्द्रटार । नुवाकोट जिल्ला, दुप्चेश्वर गाउँपालिकाको तादी खोलामा निर्माणाधीन मध्यतादी खोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । दुप्चेश्वर महादेव हाइड्रो कम्पनी प्रालिले निर्माण सुरु गरेको ५.५ मेगावाट क्षमताको आयोजनाका लागि कुल लागत रु. एक अर्ब १० करोडमध्ये रु. ७१ करोड ४४ लाख प्रभु बैंकले लगानी गर्ने भएको छ ।
अघिल्लो शुक्रबार काठमाडौँमा जलविद्युत् आयोजनाको लगानीका लागि भएको सम्झौतापत्रमा आयोजनाका तर्फबाट अध्यक्ष अनिल जोशी र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थितिमा प्रोजेक्ट हेड दीपेश पोखरेलले हस्ताक्षर गर्नुभएको छ । यो आयोजनाका लागि प्रभु बैंकको तर्फबाट एकल लगानी रहनेछ भने बाँकी लगानी निर्माण कम्पनी दुप्चेश्वर महादेव हाइड्रो कम्पनी प्रालिले गर्नेछ । आयोजनामा बैंकले ६५ र निर्माण कम्पनीले ३५ प्रतिशत लगानी गर्ने सम्झौता भएको छ । दुप्चेश्वर-६ मा आयोजना निर्माण सुरु भइसकेको छ । अहिले सडक, आवासगृहलगायतको निर्माण भइरहेको आयोजनाका प्राविधिक सल्लाहकार इन्जिनियर सरोज खनालले जानकारी दिनुभयो । १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट उत्पादित विद्युत् ६ किलोमिटर लामो प्रसारणलाइनमार्फत नुवाकोटस्थित समुन्द्रटार सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ । सूर्यकुण्डको मुनि हेडगेट रहने र कुटुङ खोलासँगै विद्युत् पावर हाउस बन्नेछ ।
प्रतिक्रिया