– कोभिड-१९ पछि चीनले नेपाली नाका रसुवागढीमार्फत भारतीय तीर्थयात्रीलाई कैलाश जान अनुमति दिएको, यस वर्ष मात्रै करिब २५ सय भारतीयले सो नाकाहुँदै यात्रा गरिसकेका छन् ।
– पर्यटन क्षेत्रका जानकारका अनुसार यो समय कैलाश मानसरोवर जाने उपयुक्त हो ।
– यात्रा बस र पैदल गरेर करिब १०-११ दिन लाग्छ । ट्राभल्स कम्पनीको सेवाअनुसार लागत प्रतिव्यक्ति रु.१.२ देखि रु.दुई लाखसम्म पर्न सक्छ ।
– कैलाश पर्वतलाई शिवको र मानसरोवरलाई विष्णुको वासस्थान मानिन्छ । परिक्रमा गर्दा पाप नाश, पुण्य लाभ र मोक्ष प्राप्त हुने जनविश्वास छ ।
– यात्रामा हिमाल, ताल, जङ्गल, झरना र सांस्कृतिक स्थलको अवलोकन गर्न पाइए पनि डोल्मापासजस्ता उचाइ भएका क्षेत्रमा अक्सिजनको कमीले स्वास्थ्य जोखिम हुने गर्छ ।
– चीन पक्षको बाटो सुन्दर र सहज भए पनि नेपालतर्फ रसुवागढी-धुन्चे सडक साँघुरो, कच्ची र जोखिमपूर्ण भएकाले सुधार आवश्यक छ ।
धुन्चे । कोभिड-१९ महामारीपछिको अन्तर्राष्ट्रिय सीमासम्बन्धी रोक हटेपछि चीन सरकारले रसुवागढी नाकामार्फत भारतीय नागरिकलाई कैलाश मानसरोवर जाने अनुमति दिएको थियो । यो अनुमति पाएपछि २०८१ असार १२ गतेदेखि यहाँबाट दैनिक झन्डै एक सयजनाको दरले भारतीय तीर्थयात्री कैलाश प्रस्थान गरिरहेका थिए । रसुवा हुँदै आउजाउ गर्दा कम्तीमा पनि रु.एक लाख सस्तो पर्ने भन्दै भारतीय पर्यटक काठमाडौँसम्म जहाजमा आएर रसुवागढी हुँदै जाने गरेका थिए । पर्यटन क्षेत्रका जानकारका अनुसार यो समय कैलाश मानसरोवर जाने उपयुक्त हो । तर, अहिले आउजाउ सहज छैन । कतिपय पर्यटन व्यवसायीले रसुवा हुँदै आउजाउ रोकिएको यो वेला वैकल्पिकमार्ग खोज्न थालेका छन् । गत असार २३ गतेसम्म २५ सयभन्दा बढी भारतीय तीर्थयात्री नेपाल हुँदै मानसरोवर पुगेको टिमुरे अध्यागमन कार्यालयले जनाएको छ ।
गत असार २४ गते मंगलबार बिहान चीनको तिब्बतबाट नेपालमा पसेको लेदोसहितको बाढीले रसुवागढी तहसनहस बनाएपछि यो नाका भएर मानसरोवर जान नसकिने भएको छ । गइसकेकाहरू अन्य नाका र हवाईमार्गबाट सरकारको पहलमा फर्किरहेका छन् । बाढीले केरुङस्थित नेपाल-चीन जोड्ने सडकमार्गको मितेरी पुल बगाएपछि दुईतर्फी यातायात आवागमन बन्द भएको छ । तिब्बतको ल्हेन्दे खोला फुटेर भोटेकोशीमा आएको बाढीले चीनको प्रशासनिक र भन्सार कार्यालय भवनअगाडि नेपालतर्फ ठुलो क्षति पुर्याएको छ । ल्हेन्देमा आएको बाढीले सीमा क्षेत्रमा रहेको पुल बगाउँदा चीन प्रवेश गर्ने नाका बन्द भएको हो । जुन ६ वर्षअघि विसं. २०७६ जेठमा सञ्चालनमा आएको थियो । चिनियाँ सहयोगमा बनेको सो पुल बनाउन नेपालले चीन सरकारसँग आग्रह गरेको छ । बाढीले क्षतविक्षत पारेपछि रसुवागढी नाकाबाट चीनको तिब्बततर्फ जाने मार्ग बन्द हुँदा त्यसको असर धार्मिक पर्यटनमा पनि परेको छ । नाकाबाट चीनको तिब्बततर्फ जाने मुख्य मार्ग अवरुद्ध हुँदा कैलाश मानसरोवर परिक्रमाका लागि जाने गरी नेपाल आइसकेका भारतीय पर्यटक प्रभावित भएको व्यवसायीले बताएका छन् ।
यो नाका कैलाश यात्राका लागि चल्तीको नाकाको रूपमा विकास हुँदै गर्दा बाढीले सडकमार्ग, पुल बगाएपछि अहिले बेवारिस बनेको छ । कैलाश यात्रा सामान्यतः १० देखि ११ दिनको हुने गर्छ । यात्राको लागत ट्राभल्स कम्पनीको सेवाअनुसार फरक पर्छ, जसमा प्रतिव्यक्ति करिब रु.एक लाख १९ हजारदेखि रु. एक लाख ६० हजारसम्म खर्च लाग्ने गर्छ । यो यात्रामा करिब रु.६० हजार बराबरको चिनियाँ मुद्रा (येन) पनि आवश्यक हुन्छ । समग्रमा यात्राको कुल खर्च करिब रु.दुई लाखसम्म पुग्न सक्छ । यात्रा काठमाडौँबाट टिमुरे, केरुङ, साँगाहुँदै मानसरोवर र दार्चेनसम्म बस तथा पैदल यात्रा गरी गरिन्छ । दार्चेनबाट कैलाश पर्वतको परिक्रमा प्रारम्भ हुन्छ । यात्रा सबैभन्दा कठिन मानिने डोल्मापास (५६३० मिटर उचाइ) पार गर्नुपर्छ, जहाँ अक्सिजनको कमीका कारण स्वास्थ्य जोखिम उच्च हुन्छ । त्यही भएर करिब १० प्रतिशत मात्र यात्रुले पूरै परिक्रमा गर्न सफल हुने गरेका छन् ।
धार्मिक महत्त्व
कैलाश पर्वतलाई हिन्दुधर्ममा भगवान् शिव र पार्वतीको वासस्थान मानिन्छ । यस पर्वतको चारैतिरको दृश्य अत्यन्त पवित्र र रहस्यमयी मानिन्छ । यसको परिक्रमा गर्नाले पाप नाश, पुण्य लाभ र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । कैलाशबाट सिन्धु, सतलज, ब्रह्मपुत्र र कर्णाली नदी उत्पत्ति भएको मानिन्छ । जैन, बौद्ध र शिख धर्मावलम्बीका लागि पनि यो पवित्र स्थल हो । मानसरोवर ताललाई भगवान् विष्णुको वासस्थान मानिन्छ भने यसको उत्पत्ति ब्रह्माको ध्यानबाट भएको मानिन्छ । चार हजार पाँच सय ९० मिटर उचाइमा रहेको यो ताल तीन सय २० वर्गकिलोमिटरमा फैलिएको छ । यस तालमा स्नान गर्नाले सात जन्मको पाप नाश हुने विश्वास छ । प्रातःकालको समयमा यहाँ गरेको स्नान विशेष पुण्यकारी मानिन्छ । रातको समयमा माता पार्वती तारा रूपमा प्रकट हुने कथन पनि धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । मानसरोवरको छेउमा रहेको राक्षस तालमा रावणले तपस्या गरेका थिए भन्ने जनश्रुति छ । यो ताल अशुद्ध मानिन्छ र यसका जलधारा कर्णालीमा मिसिएपछि त्यस नदीको पूजा नगर्ने परम्परा चलिआएको छ ।
यात्राको मार्ग र दृश्यावलोकन
कैलाश मानसरोवरको यात्रा प्राकृतिक सुन्दरता, हिमाली संस्कृति र धार्मिक आस्थाको संगम हो । काठमाडौँदेखि टिमुरे, केरुङ, साँगाहुँदै मानसरोवरसम्म यात्रा गर्दा हरियाली जङ्गल, झरना, याक-चौँरीको बथान, हिमाली पहाड, ब्रह्मपुत्र नदी र विभिन्न मठमन्दिरको अवलोकन गर्न पाइन्छ । दार्चेनबाट ५० किलोमिटर पश्चिम ‘तीर्थपुरी’ नामक स्थानमा पुग्न सकिन्छ, जहाँ भगवान् शिवले भष्मासुरलाई भष्म पारेको किंवदन्ती छ । आज पनि त्यहाँ तातोपानीको स्रोत बगिरहन्छ । तीर्थयात्री मानसरोवरमा रुद्राभिषेक, हवन, होम, पितृतर्पणजस्ता धार्मिक क्रियाकलापमा सहभागी हुने गर्दछन् ।
यात्राको कठिनाइ र अवस्था
चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत केरुङदेखि दार्चेनसम्मको बाटो राम्रो अवस्थामा छ, फराकिलो र सहज यात्रा हुने बताइएको छ । तर, नेपालतर्फ रसुवागढी नाकादेखि धुन्चेसम्मको बाटो साँघुरो, कच्ची र जोखिमपूर्ण भएकाले यात्रीले निकै कष्ट खेप्नुपरेको छ । सडक निर्माणमा भइरहेको ढिलाइले गर्दा यात्रालाई जोखिमपूर्ण बनाइरहेको छ, जसतर्फ तत्काल ध्यान दिन आवश्यक देखिन्छ । कैलाश मानसरोवर यात्रा केवल धार्मिक यात्रा मात्र नभई साहस, श्रद्धा र आत्मअनुशासनको परीक्षाजस्तो हो । उच्च जोखिम, कठिन भौगोलिक स्थिति र स्वास्थ्य चुनौतीबिच पनि हजारौँ श्रद्धालु प्रत्येक वर्ष यहाँ यात्रा गर्छन् । यो यात्रा केवल तीर्थयात्रा नभई आत्मिक जागरण, शारीरिक साहस र जीवनको गहिरो अर्थ बुझ्ने अवसर पनि हो ।
प्रतिक्रिया