+
Search

ताजा अपडेट +

पपुलर +

चीनको सहयोगमा नीलकण्ठ नमुना माविको भवन बन्दै

चीनको सहयोगमा नीलकण्ठ नमुना माविको भवन बन्दै
सरस्वती न्यौपाने
१ महिना अगाडी
  •  नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षका अवसरमा रसुवा जिल्ला, कालिका-५ जिबजिबेमा अवस्थित नीलकण्ठ नमुना माध्यमिक विद्यालयलाई अत्याधुनिक र सुविधासम्पन्न बनाउन चीन सरकारले निर्माण गरिरहेको छ ।
  • निर्माण करिब ५० प्रतिशत सम्पन्न भइसकेको भवनको लागत करिब रु.८४ करोड छ । चीनको चाइना जिआङ्सु इन्टरनेसनल इकोनोमिक एन्ड टेक्निकल कोअपरेसन समूहले दुई वर्षभित्र निर्माण पूरा गरी हस्तान्तरण गर्ने लक्ष्य राखेको छ ।
  • निर्माणमा १८ चिनियाँ प्राविधिक र १०० भन्दा बढी नेपाली कामदारले दैनिक २४ घण्टा नै काम गरिरहेका छन् । स्थानीय तहले सडक, वासस्थान, पानी र विद्युत्जस्ता आवश्यक सहयोग उपलब्ध गराएको छ ।
  • नयाँ विद्यालयमा चारतले दुई भवन, सफा कक्षाकोठा, चिनियाँ ढाँचाका फर्निचर, प्रयोगशाला, पुस्तकालय, १५० जना क्षमताको छात्रावास, शिक्षक कोठा, सभाकक्ष र बास्केटबल मैदानसमेत रहने छ ।
  • यसले जिल्लाका विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने, जिल्लाबाहिरका विद्यार्थीलाई आकर्षित गर्ने र नेपाल-चीन मित्रताको प्रतीक बन्ने तथा गरिब एवम् विपन्न विद्यार्थीलाई निःशुल्क आवासीय सुविधा पनि प्रदान गर्नेछ ।

धुन्चे । रसुवा जिल्ला, कालिका-५ जिबजिबेमा चीन सरकारको सहयोगमा नीलकण्ठ नमुना माध्यमिक विद्यालयको सुविधासम्पन्न विद्यालय भवनको निर्माण ५० प्रतिशत सम्पन्न भएको छ । चीन सरकारले नै सम्पूर्ण खर्च व्यहोर्ने गरी निर्माण भइरहेको उक्त भवन सम्पन्न गर्न रु.८४ करोड बजेट विनियोजन भएको छ । भवन निर्माणमा अहिले १८ चिनियाँ प्राविधिक र एक सयभन्दा बढी नेपाली कामदार कार्यरत छन् ।

चाइना जिआङ्सुका देशीय निर्देशक युहाङले निर्माण प्रक्रियाअन्तर्गत स्थानीय तह र जनताबाट सहयोग पाइएकाले दुई वर्षभित्र नै भवन निर्माण हुने बताउनुभयो । अबको १८ महिनामा पूरै भवन बन्नेसमेत बताइएको छ । रसुवाका कालिका र नौकुण्ड गाउँपालिकाका चार सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले जानकारी दिँदै चीन सरकारको सहयोगमा सुविधायुक्त भवन निर्माणले रसुवाका विद्यार्थीको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । चीन सरकारकै सहकार्यमा चिनियाँ भाषा अध्ययन, सिप विकास र प्रविधिसँग अनुकूल शिक्षा प्रणालीमार्फत उत्कृष्ट शिक्षा प्रदान गर्ने योजना रहेको बताइएको छ । भवन निर्माणले रसुवाका विद्यार्थीको शैक्षिक भविष्य उज्ज्वल मात्र होइन, नेपाल र चीनबिच मित्रताको प्रतीक बन्ने नीलकण्ठ माविका प्रधानाध्यापक देवकोटाले बताउनुभयो । चीनसँग सीमा जोडिएका जिल्लामा १० वटा नमुना विद्यालय बन्ने क्रममा रसुवाको नीलकण्ठ मावि पनि समावेश भएसँगै स्थानीयवासीमा खुसीको सीमा नरहेको उल्लेख गर्दै अहिलेकै गतिमा काम भए दुई वर्षअघि नै भवन हस्तान्तरण हुने स्थिति रहेको उहाँ बताउनुहुन्छ । ‘विद्यालयको यसअघिको संरचनालाई ‘गोरखा भूकम्प’ले क्षति पुर्यायायो । छिमेकी विद्यालयलगत्तै ठडिए । लामो समयदेखि टहरामा कष्टसाथ पढाउनुपरेको पीडा सम्झनामा सीमित गराउनु छ,’ उहाँले भन्नुभयो, ‘सुविधायुक्त र आधुनिक संरचनासहितको भवन प्राप्ति भएपछि विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र बालमैत्री वातावरणमा शिक्षण सिकाइमा जोड्न सकिन्छ । भवनले शैक्षिक पूर्वाधारको सुधार मात्र होइन, टहरामा बिताएका कठिन दिनको अन्त्य पनि गराउनेछ ।’ अत्याधुनिक र सुविधायुक्त चारतले दुईवटा भवनमा सफा कक्षाकोठा, चिनियाँ ढाँचाका फर्निचर, आवश्यकताअनुसारका प्रयोगशाला, पुस्तकालय, शौचालयलगायत आधारभूत पूर्वाधारले शिक्षाको गुणस्तरमा धेरै सुधार ल्याउने स्थानीय अभिभावकको अपेक्षा छ ।

चीनसँग सीमा जोडिएका जिल्लामा १० नमुना विद्यालय निर्माण गर्न १२ वर्षअघि चीन सरकारले प्रतिबद्धता व्यक्त गरे पनि विभिन्न कारणले गर्दा कार्यान्वयनमा ढिला भइरहेको थियो । उक्त भवनको अनुगमन र निगरानी गर्न पालिकाले प्रवक्तासमेत रहेका वडा नम्बर-५ का वडाध्यक्ष सन्दीप पौडेललाई तोकेको छ । वडाध्यक्ष पौडेलका अनुसार प्रतिनिधिसभा सदस्य मोहन आचार्यले शिलान्यास गरेको उक्त विद्यालय भवन काठमाडौँबाट ८० किलोमिटर र चीनको केरुङबाट ७२ किलोमिटरको दूरीमा छ । वि.सं. २०२१ मा स्थापित सो माविको नयाँ भवन चिनियाँ वास्तुकलामा आधारित, सुविधासम्पन्न र फूलैफूलले सजिएको बगैँचासहित आकर्षक हुने निर्माण कम्पनीले जनाएको छ । निर्माणाधीन भवन निरीक्षण नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठको टोलीले गत महिना गरेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

सरस्वती न्यौपाने