+
Search

ताजा अपडेट +

पपुलर +

विपत् प्रतिकार्यका सामग्रीसहित सेना खोज तथा उद्धारका लागि तयार

विपत् प्रतिकार्यका सामग्रीसहित सेना खोज तथा उद्धारका लागि तयार
त्रिशूली प्रवाह
४ हप्ता अगाडी

विदुर । मनसुनजन्य विपत् व्यवस्थापनका लागि नुवाकोटको सुरक्षामा तैनाथ नेपाली सेना, शेर गण खोज तथा उद्धारका लागि तयारी अवस्थामा रहेको छ । जिल्ला विपत् व्यवस्थापन समितिसँग समन्वय गरेर सेनालाई जिल्लाको जोखिमयुक्त स्थानको पहिचान गरी खोज र उद्धारका लागि विपत् प्रतिकार्यका सामग्रीसहित तयारी अवस्थामा राखिएको गणले जानकारी दिएको छ ।

चीनको स्वशासित क्षेत्र केरुङको लिन्दे खोलाबाट आएको बाढी भोटेकोशीहुँदै त्रिशूली नदीमा मिसिएर गत असार २४ गते पुर्याएको क्षतिको खोज तथा उद्धारमा गण अझै सक्रिय रहेको छ । नदीमा आएको बाढीको सूचना प्राप्त हुनासाथ नुवाकोट र रसुवा जिल्ला (हाकुबेँसी र मैलुङ इलाका) तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क गराउनुका साथै सुरक्षित स्थानतर्फ लैजाने कार्य गरेको थियो । त्यसैगरी, सोही दिन बिहान नुवाकोट विदुर-९ इन्द्रायणीघाटमा त्रिशूली नदीको बिचमा रुखमा फसेका दुईजनाको उद्धार कार्यका लागि सूचना हुनासाथ परिचालन भई आवश्यकताको आधारमा समन्वय गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत सुरक्षित तवरले निजको उद्धार गरेको थियो ।

त्रिशूली नदीमा पानीको बहाव बढेर किस्पाङ-५ पहिरेबेँसीमा नेपाल विद्युत् प्राधिकरणको त्रिशूली ३ ‘बी’ हब स्टेसन आयोजना रहेको स्थानमा कटान गरी क्षति पुर्याएको, जसले नेपाल अधिराज्यको विद्युत् आपूर्तिमा समेत असर पार्ने देखिएकाले उक्त नदीको बहावलाई दिशा परिवर्तन गरी क्षतिलाई न्यूनीकरण गर्ने कार्यमा खटेको थियो । त्रिशूली नदीले बगाई बेपत्ता भएको व्यक्तिको खोजतलास, सङ्कलन तथा उक्त नदीले पु¥याएको क्षतिको विवरण सङ्कलन कार्यमा समेत दिनरात नभनी खटिएको सेनाले नियमित रूपमा नदीतटीय क्षेत्रमा बसोबास गर्ने आमसर्वसाधारणलाई बाढीपहिरोसम्बन्धी सुसूचित गराई सतर्क गराउन खटिरहेको छ ।

गणका गणपति प्रमुख सेनानी अशोक मल्लले विपत्पूर्व, विपत्को दौरान र विपत्पश्चात्को तयारीको लागि दैनिक योजना बनाई फौजलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । विपत्का घटना घट्न सक्ने संवेदनशील/प्रभावित स्थानको पहिचान तथा वर्गीकरण गरी विपत्सँग सम्बन्धित सरोकारवाला निकायसँग समन्वय राखी विपत् व्यवस्थापनका लागि आवश्यक सामग्रीको व्यवस्थापनसहित तयारी हालतमा रहेको गणले बताएको छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह