रसुवा । गत मंगलबार (असार २४ गते बिहान) चीनको स्वशासित क्षेत्र तिब्बतबाट बग्दै आएको ल्हेन्देखोला–भोटेकोशी नदीमा आएको बाढीका कारण करिब २३५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ । सबैभन्दा ठुलो क्षति रसुवागढी जलविद्युत् आयोजनामा पुगेको छ । १११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको बाँधका ६ मध्ये तीनवटा गेट बाढीले बगाएको छ । यसबाहेक बाँध क्षेत्र बाढीले ल्याएको लेदो र ढुङ्गाले भरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरण प्रवक्ता राजन ढकालले बताएअनुसार भूमिगत विद्युत्गृहमा पनि पानी पसेको आशङ्का छ । त्यस्तै, ६० मेगावाटको माथिल्लो त्रिशूली-३ ‘ए’ को एउटा गेट पनि बाढीले बगाएको छ । यसको पनि उत्पादन बन्द भएको छ । नुवाकोटको पहरेबेँसीमा रहेको त्रिशूली-३ ‘बी’ हब सबस्टेसनमा पनि बाढीको कटानका कारण ठुलो क्षति भएको छ । सबस्टेसनको एउटा टावर बगेको छ भने १३२ केभी संरचना क्षेत्रमा बाढी पसेका कारण ठुलो कटान भइरहेको छ । १३२ केभी प्रसारणलाइन बन्द हुँदा १४ मेगावाटको मैलुङ खोला र पाँच मेगावाटको बुद्धभूमि हाइड्रोको विद्युत् उत्पादन पनि बन्द गरिएको छ । २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको टेलरेसबाट पानी छिर्दा त्यहाँको पनि विद्युत् उत्पादन बन्द भएको छ । नुवाकोटको विदुर-१, त्रिशूलीबजारमा रहेको २४ मेगावाटको त्रिशूली र विदुर-६ देवीघाटमा रहेको १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा पनि लेदो तथा गेग्रान थुप्रिएकाले उत्पादन अवरुद्ध भएको छ । यी आयोजना अझै सञ्चालनमा आउन सकेका छैनन् ।
प्रतिक्रिया