समुन्द्रटार । दुप्चेश्वर-५ स्थित बागमती प्रदेशको ‘दोस्रो पशुपतिनाथ’ को मन्दिरको भेटी साउनको पहिलो सोमबार रू.एक लाख ७८ हजार छ सय ८५ सङ्कलन भएको छ । शिवको महिमाको महिना साउनमा अरू महिना भन्दा भक्तजनको उपस्थिती उल्लेख्य हुने गरेको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठ जानकारी दिनुभयो । सोमबार सन्ध्या आरतीबाट रू.८८ हजार ७० र रू.९० हजार ६ सय १५ भेटी सङ्कलन भएको उहाँले बताउनुभयो ।
मन्दिरमा चढाएको भेटी पारदर्शी हुन थालेपछि दुप्चेश्वरको आम्दानी बढेको हो । नुवाकोट जिल्लास्थित दुप्चेश्वर गाउँपालिकाले विसं २०८० वैशाखदेखि चढाइएका भेटी सङ्कलनलाई पारदर्शी बनाउँदै मन्दिरका पुजारी र कर्मचारीलाई तलव सुविधाको व्यवस्था गरेपछि आम्दानी बढेको छ । दुग्धेश्वर मन्दिरलाई व्यवस्थित गर्दै महादेवका नाममा रहेको जग्गा संरक्षण गरी आवश्यक थप भौतिक पूर्वाधार निर्माण गर्न पालिकाले दुप्चेश्वर विकास कोष स्थापना गरेको छ जसमार्फत मन्दिरमा भक्तजनले चढाएका भेटी दैनिक गणना गरी सार्वजनिक गर्ने गरिएको छ । कोषले सङ्कलित भेटी मन्दिरका नाममा रहेको सामाजिक सञ्जाल फेसबुक पेजबाट दैनिक सार्वजनिक गर्दै आइरहेको छ । मन्दिरमा भक्तजनले क्युआरमार्फत पनि भेटी चढाउन र दान दिन सक्ने व्यवस्था गरिएको कोषका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
यातायातको सहजतासँगै भक्तजन आउने क्रम बढेको छ । सोमबार, बिहीबार र शनिबार भक्तजन बढी आउने गरेको मन्दिरमा कोषले मूल पुजारी एकजनालाई मासिक रू.३० हजार, पुजारी एक जनालाई रू.२० हजार, लामा पुजारी एकजनालाई २५ हजार, कार्यालय प्रमुख एकजनालाई रू.२३ हजार, सुरक्षा प्रमुख एक जनालाई रू.२२ हजार, कार्यालय सहयोगी दुईजनालाई रू.१७-१७ हजार, भेटी सङ्कलनकर्ता एकजनालाई रू.१७ हजार, आरती टोलीलाई मासिक रू.आठ हजार, सोमबार र शनिबारका लागि दुई स्वयम्सेवकलाई दिनको रू.एक हजार तथा पूजा सामग्री खरिद र मन्दिरमा कार्यरत कर्मचारीका लागि आवश्यकताअनुसार चिया, नास्ता र खानाको व्यवस्था गरेको छ । भेटी सङ्कलनलाई व्यवस्थित तथा सेवासुविधाको व्यवस्थापन गर्दा मन्दिरको आम्दानी बढेको कोषका अध्यक्ष तथा दुप्चेश्वर पालिकाका अध्यक्ष शङ्करबहादुर थापाले बताउनुभयो । कोषले मन्दिरपरिसरमा ढुङ्गाको कलात्मक एक सय आठ धारा निर्माण गर्न लागेको छ ।
काठमाडौँबाट उत्तरपश्चिम ६३ किलोमिटर दूरीमा रहेको सो मन्दिर नुवाकोट सदरमुकाम विदुरदेखि ३४ किलोमिटर उत्तरपूर्वमा छ । बागमती प्रदेश, काठमाडौँमा रहेको पशुपतिनाथपछि प्रसिद्ध मन्दिरमा दर्शन गर्ने भक्तजनको सङ्ख्या बर्सेनी वृद्धि भइरहेको छ । हिन्दु र बौद्ध धर्मावलम्बी दुवैको आस्थाको प्रतीक दुग्धेश्वरमा प्रत्येक वर्ष मङ्सिर पूर्णिमामा मेला लाग्ने गरेको छ, मेला पाँच दिनसम्म चल्छ । मन्दिरमा धान्य पूर्णिमाको अघिल्लो दिन चतुर्दशीदेखि पूर्णिमासम्म मेला लाग्छ । भक्तजनले पूजा-आराधना गर्ने तथा भगवान् शिवप्रति आस्था प्रकट गर्दै आफूले चाहेको वर माग्ने चलन छ । यहाँ मागेको पाइने र आँटेको पुग्ने विश्वास गरिन्छ । विशेषतः सो धार्मिक स्थलमा पहिले गाईको दुध र दाम्लो आदि चढाइन्थ्यो ।
प्रतिक्रिया