- असार २४ को बाढीले क्षति पुर्याएको सडक १२ दिनपछि मर्मत गरी साउन ४ गतेदेखि एकतर्फी सञ्चालनमा आएको छ ।
- बाढीले बगाएको मितेरी पुल पुनर्निर्माणका लागि चीनले अस्थायी बेलिब्रिज बनाइरहे पनि व्यवसायीले बडादसैँअघि पुल तयार हुनेमा शङ्का व्यक्त गरेका छन् ।
- रसुवागढी नाका बन्द भएपछि चीनको सीमाबाट आएका कन्टेनरहरू तातोपानी नाकाबाट ल्याउन थालिए पनि त्यो मार्ग भरपर्दो छैन ।
- १७ कन्टेनर, इभी, फलफूललगायत सामग्री बगाउँदा ठुलो नोक्सानी भएको छ । अहिलेसम्म विभिन्न बिमा कम्पनीमा ६३ दाबी परेको छ ।
- चीनले मितेरी पुल र अन्य संरचनाको पुनर्निर्माणका साथै रसुवागढी-केरुङ सीमापार ट्रान्समिसन लाइनको सम्भाव्यता अध्ययनमा नेपाललाई सहयोग गर्ने भएको छ ।
धुन्चे । गत असार २४ गते चीनको तिब्बत क्षेत्रको लेन्देखोलाबाट आएको विनाशकारी बाढीले रसुवागढी क्षेत्रको पूर्वाधारलाई तहसनहस बनायो । भोटेकोशी नदी हुँदै त्रिशूलीमा मिसिएको बाढीले रसुवागढी-स्याफ्रुबेँसी सडक र चीनसँगको प्रमुख व्यापारिक नाका मितेरी पुललाई पूर्ण रूपमा क्षतिग्रस्त बनायो । बाढीका कारण सडक १२ दिन अवरुद्ध रह्यो, तर अविरल प्रयासपछि साउन ४ गतेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ । यद्यपि, व्यापारिक नाका मितेरी पुल अझै अवरुद्ध रहेको छ ।
सडक पुनः सञ्चालन र पुनर्निर्माण प्रयास
बाढीपछिको दोस्रो दिनदेखि नै सडक मर्मत कार्य थालिएको थियो । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक आयोजनाअन्तर्गत करिब ११ सय मिटर क्षतिग्रस्त सडक मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको हो । इन्जिनियर रूपनारायण पौडेलका अनुसार लिङलिङ र फ्याङलुङ खोलाबिच करिब दुई सय मिटर सडक नयाँ निर्माण गर्नुपरेको थियो । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मका करिब १० स्थानमा सडक कटान भएको थियो । सडकको दुवैतिरबाट निरन्तर मर्मत कार्य अगाडि बढाइएको छ । गोसाइँकुण्ड गाउँपालिका-२ का अध्यक्ष कामीछिरिङ तामाङले सडक सञ्चालनमा आएपछि साना-ठुला सवारीसाधनहरू चल्न थालेको जानकारी दिनुभयो । तर, जोखिम यथावत् रहेको स्थानीयहरूले बताएका छन् ।
मितेरी पुल बगाएपछि आपूर्ति ठप्प
चीनसँगको प्रमुख व्यापारिक नाका मितेरी पुल पूर्ण रूपमा बगाएपछि रसुवागढी नाकाबाट हुने सम्पूर्ण आयात-निर्यात कार्य ठप्प भएको छ । चिनियाँ पक्षले हाल अस्थायी बेलिब्रिज निर्माणको कार्य अघि बढाएको छ । नेपालस्थित चिनियाँ राजदूतावासले फेसबुकमार्फत यो जानकारी सार्वजनिक गर्दै दसैँअघि नै पुल तयार गर्ने लक्ष्य राखिएको जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार काम तीव्र गतिमा भइरहेको छ । तर, व्यवसायीहरू भने आशावादी छैनन् । उनीहरूका अनुसार पुल निर्माणको स्थल भौगोलिक रूपमा जटिल र जोखिमयुक्त छ । साथै, मनसुनको वेला लगातारको वर्षाले निर्माणलाई थप कठिन बनाएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले दसैँअघि नाका सञ्चालन हुने सम्भावना न्यून रहेको स्पष्ट पारे ।
तातोपानी नाकातर्फ मोडिएको व्यापारिक भार
मितेरी पुल क्षतिग्रस्त भएपछि अहिले रसुवागढी नाकाबाट हुने सम्पूर्ण आयात बन्द छ । चीनको नाका पारिपट्टि रहेका कन्टेनरहरू तातोपानी नाकातर्फ मोड्न थालिएको छ । श्रेष्ठका अनुसार कन्टेनरहरू चीनको ड्राइपोर्टबाट तातोपानीसम्म आइपुग्न तीन दिन लाग्नेछ । त्यसपछि तातोपानीदेखि काठमाडौंसम्म करिब १०-१२ घण्टा लाग्ने अनुमान गरिएको छ । यद्यपि, तातोपानी नाका पनि भरपर्दो विकल्प बन्न सकिरहेको छैन । उक्त नाका जाने बाटोको अवस्थासमेत कमजोर रहेको व्यवसायीहरू बताउँछन् । त्यसैले चाडपर्वको मुखमा वस्तु आयातको अन्योल अझै कायम छ ।
आयात-निर्यात पूर्ण रूपमा प्रभावित
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा रसुवागढी भन्सारमार्फत करिब ८० अर्ब ९१ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो । सोही अवधिमा तातोपानी नाकाबाट करिब ४६ अर्ब ८९ करोडबराबरको वस्तु आयात गरिएको थियो । निर्याततर्फ हेर्दा रसुवाबाट रु.एक अर्ब ९६ करोड बराबरको निर्यात भएको थियो, जबकि तातोपानीबाट शून्य निर्यात भएको देखिन्छ । यसबाट स्पष्ट हुन्छ कि रसुवागढी चीनसँगको व्यापारका लागि प्रमुख नाका हो । बाढीले यो नाका बन्द गरेपछि नेपाली व्यवसायमा ठुलो असर परेको छ । दसैँ, तिहारलगायतका चाडपर्वमा आयात हुने वस्तुहरू ढिलाइ हुँदा बजारमा अभाव सिर्जना हुन सक्ने व्यवसायीहरूको चिन्ता छ ।
व्यापारिक क्षति र बिमा दाबी
बाढीले ड्राइपोर्टमा राखिएका १७ वटा कन्टेनर, इलेक्ट्रिक सवारीसाधन, फलफूललगायतका मालसामान बगाएको पुष्टि भएको छ । जसमा जुत्ता, चप्पल, रेडिमेड कपडा र औद्योगिक कच्चा पदार्थहरू रहेका थिए । प्रारम्भिक अनुमानअनुसार रु.एक अर्बभन्दा बढीको क्षति भएको व्यवसायीहरूले बताएका छन् । हालसम्म करिब रु.५५ करोडबराबरको बिमा दाबी प्रक्रिया अगाडि बढाइएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न नौवटा निर्जीवन बिमा कम्पनीहरूमा हालसम्म ६३ वटा दाबी परेको छ, जसको कुल रकम रु.२८ करोड ९२ लाख ६० हजारबराबर छ । सर्वाधिक दाबी शिखर इन्स्योरेन्समा परेको छ, जसले करिब रु.१६ करोडभन्दा बढीको दाबी प्राप्त गरेको छ । अन्य बिमा कम्पनीहरूमा नेको इन्स्योरेन्स, सगरमाथा लुम्बिनी, नेपाल इन्स्योरेन्स, सानिमा जिआइसी, आइजिआई प्रुडेन्सियललगायतका कम्पनीहरू रहेका छन् । बिमा दाबीहरूमा सार्वजनिक मोटर बिमा, निजी मोटर बिमा, सम्पत्ति बिमा, इन्जिनियरिङ बिमा तथा सामुद्रिक बिमा समावेश छन् । अझै पनि व्यवसायीहरू थप क्षतिको मूल्याङ्कन गर्दै नयाँ दाबी गर्ने तयारीमा छन् ।
पूर्वाधार पुनर्निर्माण र ट्रान्समिसन लाइनमा चीनको सहयोग
बाढीले पुर्याएको क्षतिपछि चीनले रसुवा जिल्लामा भौतिक पूर्वाधारको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिआइडिसिए) का अध्यक्ष चेन सियाओदोङबिच सोमबार भएको बैठकमा मितेरी पुल पुनर्निर्माण, रसुवागढी केरुङ ट्रान्समिसन लाइन निर्माणसम्बन्धी सम्भाव्यता अध्ययन अघि बढाउने समझदारी भएको हो । यसबाट नेपाल र चीनबिचको ऊर्जा सहकार्यलाई पनि थप गति दिने विश्वास गरिएको छ । रसुवागढी-केरुङ सीमापार ट्रान्समिसन लाइन निर्माणको सम्भाव्यता अध्ययनमा नेपाल विद्युत् प्राधिकरण र सिआइडिसिए सहमत भएका छन्, जसले आगामी दिनमा नेपालको ऊर्जा निर्यात सम्भावनालाई नयाँ दिशामा डोहोर्याउन सक्छ । रसुवागढी-केरुङ सीमापार ट्रान्समिसन लाइन निर्माणको निर्माणको सम्भाव्यता अध्ययन सम्बन्ध माइन्युटमा नेपाल विद्युत् प्राधिकरणका एमडी हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गर्नुभएको छ । यसबाट रसुवागढी-केरुङ ट्रान्समिसन लाइन निर्माणसम्बन्धी सम्भाव्यता अध्ययनको काम अगाडि बढ्ने छ ।
रसुवामा बाढीले पुर्याएको भौतिक संरचनाको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ । अर्थमन्त्रीसँगको भेटवार्तामा सिआइडिसिएका अध्यक्ष सियाओदोङले भौतिक संरचनाको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिनुभयो । सिआइडिसिएका अध्यक्ष सियाओदोङले बाढीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाको खोजीमा देखाएको सक्रियता र सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । अर्थमन्त्री पौडेलले विपत्लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद दिनुभयो । ‘आयात-निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका महत्त्वपूर्ण छ । त्यसैले पुनर्निर्माणलाई छिटो अघि बढाउँछौँ,’ अर्थमन्त्री पौडेलले भन्नुभयो । अध्यक्ष सियाओदोङले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेर रसुवागढी नाका खुलाउन र बाढीग्रस्त क्षेत्रको पुनर्निर्माणमा सघाउने बताउनुभएको छ ।
संरचनागत सुधार आवश्यक
रसुवागढी नाकाको हालको स्थिति नेपाली-चिनियाँ व्यापार सम्बन्धमा गम्भीर चुनौती बनेको छ । सडक पुनः सञ्चालन भए पनि पुल पुनर्निर्माण नभएसम्म प्रमुख आयात-निर्यात कार्य सम्भव छैन । अस्थायी बेलिब्रिज निर्माण प्रक्रिया जारी भए तापनि समयमै सम्पन्न हुने सुनिश्चित छैन । यसले दसैँलगायतका चाडपर्वको आपूर्ति प्रणालीमा गम्भीर असर पुर्याउने देखिन्छ । तातोपानी नाका विकल्पका रूपमा प्रयोग गरिए पनि त्यहाँको भौतिक पूर्वाधार अपुग भएकाले त्यसले पूरा भार धान्न सक्ने अवस्था छैन । यसले व्यापार-व्यवसाय मात्र नभई सरकारी राजस्वमा समेत गम्भीर असर पार्नेछ । चीनका तर्फबाट भएको सहयोग सराहनीय भए पनि दीर्घकालीन समाधानका लागि नेपाल सरकारले सीमावर्ती पूर्वाधारको मजबुतीकरण, वैकल्पिक मार्गहरूको विकास र द्रुत पुनर्निर्माणमा स्पष्ट कार्ययोजना ल्याउनु आवश्यक छ । रसुवागढी मात्र नभई अन्य नाकाहरूको पनि पूर्वतयारीमा सरकारले ध्यान दिने वेला आएको छ ।
प्रतिक्रिया