विदुर । गत असार २४ गते चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढी लेन्दे खोला भोटेकोशीबाट त्रिशूली नदी हुँदै नेपाल प्रवेश गरेर क्षति पु¥याउँदा त्रिशूली नदीआसपासका आधा दर्जन विद्युत्गृहको उत्पादन अवरुद्ध भएको थियो । उक्त अवरुद्ध भएका विद्युत् केन्द्रमध्ये नुवाकोटको त्रिशूली र देवीघाटले गत हप्तादेखि कुल उत्पादन क्षमताको एकचौथाइ उत्पादन गर्न थालेका छन् ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले बताएअनुसार त्रिशूली र देवीघाटको ३९ मेगावाट क्षमतामध्ये सरदर नौ मेगावाट उत्पादन भइरहेको छ । बाढीले ल्याएको लेदोसहितको ढुङ्गा र गेग्य्रान बालुवा हेडगेट (बाँध क्षेत्र)मा थुप्रिएकोले नहरमा पूरा पानी पठाउन नसकिएको जनाइएको छ । हेड गेटबाट आएको पानीमध्ये एक नम्बरको पुलको दुईवटा ढ्वाङमध्ये एउटामा पूरै बालुवा भरिएकाले आधा पानी मात्र पावर हाउससम्म आइपुगेको छ । पानी पूरा ल्याउन नसक्दा त्रिशूली र देवीघाट पूर्ण क्षमतामा चल्न सकेको छैन । गत असार २४ गतेदेखि उत्पादन अवरुद्ध त्रिशूली र देवीघाटले आठ दिनपछि साउन १ बाट एकचौथाइ उत्पादन गरिरहेका छन् । त्रिशूलीको २४ र देवीघाटको १४ मेगावाट फुल क्षमता रहेको छ ।
प्रतिक्रिया