+
Search

ताजा अपडेट +

पपुलर +

नेपालमा सामाजिक मिडिया, एआई र सूचना विश्वसनीयताको चुनौती

नेपालमा सामाजिक मिडिया, एआई र सूचना विश्वसनीयताको चुनौती
राजकुमार न्यौपाने
२ हप्ता अगाडी

सन् २०२५ को डिजिटल न्युज रिपोर्टअनुसार पहिलोपटक अमेरिकामा ५४ प्रतिशत जनसङ्ख्याले सामाजिक मिडिया र भिडियो प्लेटफर्ममार्फत समाचार उपभोग गरेका छन्, जसले परम्परागत टेलिभिजन (५० प्रतिशत) र समाचार वेबसाइट (४८ प्रतिशत) लाई पछि पारेको छ । विशेषगरी १८-२४ वर्ष उमेर समूहमा यो प्रवृत्ति तीव्र देखिएको छ, जहाँ सानो, मोबाइलमैत्री भिडियो सामग्रीले युवाहरूको प्राथमिकता परिभाषित गरिरहेको छ ।

नेपालमा पनि यस्तै दृश्य देखिँदै छ। जनवरी २०२५ सम्म १६.५ मिलियन नेपाली (जनसङ्ख्याको ५५.८ प्रतिशत) इन्टरनेट प्रयोगकर्ता थिए र तीमध्ये १४.३ मिलियन (४८.१ प्रतिशत) सक्रिय सामाजिक मिडिया प्रयोगकर्ता हुन् । फेसबुकमा १६.४ मिलियन र इन्स्टाग्राममा ४.१४ मिलियन प्रयोगकर्ता छन्, जसमा १८-२४ वर्ष समूहको प्रमुख प्रतिनिधित्व (३६ प्रतिशत) छ । टिकटक र युट्युबजस्ता दृश्यकेन्द्रित प्लेटफर्म युवाबिच निकै लोकप्रिय बन्दै गएका छन्, जसले न्युजफ्लुयन्सर र स्वतन्त्र पत्रकार सामग्रीको माग बढाएको छ । समाचार उपभोगको यो प्रवृत्ति केवल सामग्री उपभोगमा सीमित छैन । अब प्रयोगकर्ता केवल पढ्ने होइन, सहभागी बन्न थालेका छन् – प्रतिक्रियामार्फत, सेयरिङमार्फत र सन्देशमार्फत । यही प्रक्रिया न्युजफ्लुयन्सरको उदयसँग जोडिएको छ, जसले व्यक्तिगत धारणा र समाचारको मिश्रण गरेर लाखौँ दर्शकको ध्यान तानिरहेका छन् । अमेरिकामा जो रोगन, टकर कार्लसन र बेल सापिरोजस्ता व्यक्तित्व समाचार स्रोत बन्न पुगेका छन् भने नेपालमा हेर्ने कथा वा डा. ओममूर्ति अनिलजस्ता सामग्री निर्माता/वक्ताको लोकप्रियता बढ्दै गएको छ ।

यथार्थ यति सरल छैन । प्रेस काउन्सिल नेपालको सन् २०२४ को सर्वेक्षणअनुसार नेपाली प्रयोगकर्ताको मात्र एक प्रतिशतले सोसल मिडियालाई विश्वसनीय समाचार स्रोत मानेका छन्, जबकि टेलिभिजनले अझै पनि ५० प्रतिशत विश्वसनीयता कायम राखेको छ । साथै अर्थ जर्नालिज्म नेटवर्कको रिपोर्टले देखाएको छ कि ९१.८ प्रतिशत नेपालीले हप्तामा एकपटक मिसइन्फर्मेसनको सामना गरेका छन् ।

नेपालमा एआई र समाचार
विश्वव्यापी रूपमा २५ वर्षमुनिका १५ प्रतिशत मानिसले एआई च्याटबोट (च्याटजिपिटी, जेमिनी आदि) प्रयोगमार्फत समाचार लिने गरेका छन् । नेपालमा पनि त्यसको आरम्भिक स्वरूप देखिँदै छ – विशेषगरी सहरकेन्द्रित र प्राविधिक पहुँच भएका प्रयोगकर्तामाझ । तथ्याङ्कअनुसार नेपालमा च्याटजिपिटीको ९४.८ प्रतिशत बजार हिस्सेदारी छ भने जेमिनीको मात्र १.३ प्रतिशत रहेको छ । च्याटबोटले व्यक्तिको रुचिअनुसार समाचार दिन, अनुवाद गर्न र सारांश निकाल्न सहज बनाएको छ, तर पारदर्शिता र सामग्रीको तथ्यपरकता अझै प्रश्नमाथि छन् । नेपालमा अहिले पनि यस्तो प्रयोग सीमित देखिए पनि, प्रवृत्तिको तीव्रताले आगामी वर्षमा यसको उपयोगिता बढ्ने सङ्केत गर्छ ।

डिजिटल पहुँच र चुनौती
सहरी क्षेत्रमा इन्टरनेट पहुँच ७९ प्रतिशत पुगेको भए पनि मधेश र कर्णालीजस्ता ग्रामीण क्षेत्रमा १४-१७ प्रतिशतमा सीमित छ । यसले डिजिटल डिभाइडलाई उजागर गर्दछ । समाचार संस्थाले डिजिटल सामग्री निर्माणसँगै पहुँच, भाषा र सामाजिक समावेशीतर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता स्पष्ट देखिन्छ । नेपाल मिडिया सर्भेअनुसार, बागमती, गण्डकी र कोशी प्रदेशमा क्रमशः ५३ प्रतिशत, ६९ प्रतिशत र ५७ प्रतिशत मानिसले मोबाइल वा कम्प्युटरमार्फत समाचार पढ्ने गरेका छन् । तर, त्यसैबेला देशको झन्डै आधा जनसङ्ख्यामा अझै अनलाइन छैन, जसले डिजिटल साक्षरता र पूर्वाधार अभाव देखाउँछ ।

सुझाव र रणनीति नेपालको सञ्चार क्षेत्रमा डिजिटल रूपान्तरण प्रभावकारी बनाउनका लागि केही महत्त्वपूर्ण उपाय आवश्यक छन् :

भिडियो-प्रथम रणनीति : टिकटक, इन्स्टाग्राग रिल्स, युट्युब सर्टजस्ता प्लेटफर्ममार्फत छोटो, प्रभावशाली सामग्री निर्माण र वितरण गर्नुपर्छ ।

पारदर्शिता : च्याटबोट वा जेनेरेटिभ समाचारका स्रोत स्पष्ट गर्नुपर्छ, ताकि विश्वसनीयता कायम रहोस् ।

तथ्य -परीक्षण र डिजिटल साक्षरता : समाचारको प्रमाणीकरण गर्न स्थानीय इन्फ्लुएन्सर, पत्रकार र प्रयोगकर्तालाई तालिम दिनुपर्छ ।

राजस्व विविधीकरण : सदस्यता, इभेन्ट, इन्फ्लुएन्सर साझेदारी र ब्रान्डेड सामग्रीमार्फत सञ्चार संस्था आर्थिक रूपमा टिकाउ बनाउन सकिन्छ ।

नेपालमा डिजिटल सञ्चारको यात्रा तीव्र गतिमा अगाडि बढ्दै छ । सामाजिक मिडिया, छोटो-रूप भिडियो सामग्री र एआई-समर्थित सूचना प्रणालीले युवाको सूचना उपभोग प्रवृत्तिमा क्रान्ति ल्याइरहेका छन् । तर, डिजिटल पहुँचमा असमानता, सामग्रीको विश्वसनीयता र तथ्य-परीक्षणको अभावजस्ता चुनौती अझै विद्यमान छन् । यदि नेपालले डिजिटल युगको अवसरलाई उपयोग गर्न चाहन्छ भने, तथ्यमा आधारित सामग्री निर्माण, साक्षरता अभिवृद्धि, एआई-पारदर्शिता र ग्रामीण पहुँच विस्तारजस्ता उपायलाई प्राथमिकता दिनुपर्नेछ । यसरी मात्रै डिजिटल समाचारको नयाँ युग नेपालका लागि समावेशी र उत्तरदायी बन्न सक्छ ।

(नुवाकोट निवासी लेखक हाल मिडिया स्पेट सोलुसन्स प्रालिसँग आबद्ध हुनुहुन्छ ।)

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार न्यौपाने