विदुर । विदुर नगरपालिकाले वडा नं ५ र ९ मा परीक्षणको रूपमा गत वर्ष सुरू गरेको पुष्प खेतीलाई यस वर्ष व्यवसायिकरूपमा विस्तार गरेको छ । नगरपालिकाभित्र बाँझो रहेको ६ रोपनी जग्गामा यस वर्ष व्यावसायिक फुल खेती सुरू गरेको छ । विदुर-९ स्थित वडा कार्यालय परिसरमा रहेको खाली जग्गामा नगरपालिकाले सयपत्री र मखमली जातका नौ हजार विरूवा रोपेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले रोपेको विरूवाको उत्पादन आगामी तिहार पर्वका लागि तयार हुनेछ ।
‘नगरपालिकाले बाँझो जग्गाको सदुपयोग, फुल बिक्रीबाट आम्दानीको स्रोत वृद्धि र स्थानीय नगरबासीलाई व्यावसायिक फुल खेतीप्रति आकर्षण बढाउन वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत पुष्प खेतीको प्रवद्र्धन गर्न लागिएको छ’, उहाँले भन्नुभयो । गत वर्ष परीक्षणको रूपमा गरेको खेतीले सफलता पाएसँगै यो वर्ष बाह्रै महिना फुल उत्पादन गर्ने लक्ष्यकासाथ कार्यक्रम सञ्चालनमा ल्याइएको उपप्रमुख प्रभा बोगटीले बताउनुभयो । फुल खेतीका लागि आधुनिक यान्त्रिकीकरणको सहायताले ड्याङ (ठाउँ) तयार पारिएको छ । रोपनी जग्गामा ‘मल्चिङ’ प्रविधिमा आधारित सयपत्री र मखमली जातका नौ हजारभन्दा बढी फुलका विरूवा रोप्न सुरू गरिएको कृषि शाखाका अधिकृत सविना बोगटीले जानकारी दिइन् । विरूवा अन्यत्रबाट खरिद गरेर ल्याइएको छ । यान्त्रिकीकरणको प्रयोगले कम लागतमा रोप्ने ठाउँ तयार गरिएको छ भने मल्चिङ प्रविधिमा खेती गर्दा आम्दानी धेरै लिन सकिने उहाँको भनाई छ । रोप्नका लागि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी खटिएको प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले बताउनुभयो । नगरपालिकाले गत वर्ष वडा नं ५ र वडा नं ९ मा परीक्षणका रूपमा लगाएको फुल खेतीमा सफलता पाएसँगै यो वर्ष बाँझो एवं प्रयोगबिहिन अवस्थामा रहेका जग्गामा खेती गरेर आम्दानीको स्रोत बढाउन र स्थानीय किसानलाई प्रोत्साहन जगाउन सहयोग पुग्ने लक्ष्य लिएको छ । सोही अभियानअन्तर्गत वडा नं ५ को कार्यालय पनि फुलबाट लाभ लिन व्यावसायिक खेती सुरू गरेको वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए । उनको अनुसार वडा नं ५ ले कार्यालय परिसरमा रहेका बाँझो एवं खाली जग्गामा यो वर्षदेखि व्यावसायिक फुल खेती सुरू गरेको हो ।
प्रतिक्रिया