विदुर । बागमती प्रदेशसभा संसदीय दलको नेतामा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । आज भएको मतदानपछिको गणनामा मुख्यमन्त्रीसमेत रहेका नुवाकोटका बहादुरसिंह लामालाई पराजित गर्दै बानियाँ निर्वाचित भएका हुन् ।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ सदस्य छन् । शतप्रतिशत मतदान भएको निर्वाचनमा बानियाँले २२ सांसदको मत पाउँदा लामाले १४ सांसदको मत मात्र पाए । एक मत भने बदर भएको निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठले जानकारी दिनुभयो । यसअघि मंगलबार भएको अविश्वासको प्रस्तावमाथिको मत विभाजनमा लामाले १५ सांसदको मात्रै साथ पाएका थिए । अविश्वासको प्रस्तावको पक्षमा बानियाँका पक्षका २२ सांसदले मत दिएका थिए । यसरी बहुमतको आधारमा अविश्वासको प्रस्ताव पारित भएको थियो ।
गत वर्ष प्रदेश सरकारको नेतृत्व गर्ने अवसर नुवाकोटले पाएको थियो । बागमती सरकारको पाचौँँ मुख्यमन्त्री नुवाकोट, प्रतिनिधिसभा क्षेत्र नं २, प्रदेश सभा क्षेत्र नं ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य लामा नियुक्त भएका थिए । कांग्रेस संसदीय दलका नेता लामा गत वर्षको साउन ९ गते मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री नेकपा (एमाले) को समर्थनमा बनेका हुन् । उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशको पाचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त गर्नुभएको थियो । काङ्ग्रेसबाट बागमतीमा मुख्यमन्त्री बन्नेमा पनि लामा पहिलो भएका थिए । पञ्चायतकालदेखि नै पटक-पटक केन्द्र, सङ्घ र प्रदेश सरकारको मन्त्रिमण्डलमा मन्त्री तथा गाउँनगर (गाविस, गाउँपालिका, नगरपालिका) मा प्रधानपञ्च/गाविस–गाउँपालिका अध्यक्ष/नगर प्रमुख भए पनि हालसम्म कुनै राजनीतिक दलका प्रमुख वा प्रदेशमा तामाङ जातिका व्यक्तिले माथिल्लो नेतृत्व सम्हाल्न पाएका थिएनन् । तत्कालीन नेकपा (माओवादी केन्द्र) ले ल्याएको ‘ताम्सालिङ राज्य’ को अवधारणाअनुसार पनि बागमती प्रदेशका कुनै जिल्लामा पनि तामाङ जातिले नेतृत्व गर्ने अवसर नपाएका अवस्थामा लामाको मुख्यमन्त्रीले तामाङ जाति तथा समग्र आदिबासी जनजातिले गणतन्त्र आएको महसुस गरेका थिए ।
प्रतिक्रिया