+
Search

ताजा अपडेट +

पपुलर +

विद्यालयको विशेषता व्यवहारमैत्री शिक्षा हो, रटाउने प्रवृत्ति छैन

विद्यालयको विशेषता व्यवहारमैत्री शिक्षा हो, रटाउने प्रवृत्ति छैन
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

हरिप्रसाद सुवेदी
प्रधानाध्यापक
क्षेत्रपाल माध्यमिक विद्यालय
लिखु-४, चौघडा, नुवाकोट

– स्थापना : वि.सं. २०१६ मा प्राथमिक, २०२३ सालमा मिडिल (निम्नमाध्यमिक) र २०३१ मा हाइस्कुल माध्यमिक)
– विद्यालयको भौतिक सबलता : २३ रोपनी क्षेत्रमा विद्यालय कम्पाउन्ड, अन्यत्र रहेको जग्गा, जमिनको क्षेत्रफल : १४+१९+३२ रोपनी गरी ६५ रोपनी, विद्यालय परिसरसहित जम्मा करिब ८८ रोपनी
– हाल विद्यालय भवनको अवस्था : २४+४+२+१४+४ गरी पाँच भवनका ४८ कोठामा कक्षाकोठा सञ्चालन र प्रशासनिक कक्ष तथा पुस्तकालय र प्रयोगशाला सञ्चालित
– उपलब्ध सुविधा : पर्याप्त खेलमैदान, पुस्तकालय, विषयगत विज्ञान प्रयोगशाला, सामाजिक अध्ययन प्रयोगशाला तथा विद्यालय सङ्ग्रहालय, गणित प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला, बालमैत्री खेलस्थल,             सुविधासम्पन्न चमेनागृह, यातायातको सुगमता ।
– प्रमुख शैक्षिक गतिविधि : अतिरिक्त कक्षा, आवश्यकतामा आधारित छात्रवृत्ति, साप्ताहिक नमुना परीक्षा, परियोजनामा आधारित शिक्षण सिकाइ क्रियाकलाप, विषयगत शैक्षिक प्रदर्शनी, व्यवहारकुशल सिप  विकासका  क्रियाकलाप, क्षेत्र भ्रमण तथा शैक्षिक अवलोकन भ्रमण, मानव मूल्य तथा नैतिक शिक्षामा जोड ।

पञ्चकन्या-२ कविलास, नुवाकोटमा जन्मनुभएका हरिप्रसाद सुवेदीले अमरज्योति मावि, खरानीटारबाट प्रवेशिका परीक्षा र शिक्षाशास्त्र र नेपालीमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ । २८ वर्षको शिक्षण अनुभव भएका उहाँले स्थायी सेवा प्रवेश विसं २०७१ मा गर्नुभएको हो । उहाँले विसं २०७२ मङ्सिरमा क्षेत्रपाल माविमा सेवा सुरुवात गर्नुभएको हो । विसं २०७७ माघदेखि निमित्त प्रधानाध्यापक र २०७८ साउनदेखि पूर्णकालीन प्रधानाध्यापक हुनुभएका सुवेदीसँग उहाँले नेतृत्व गरेको मावि र समसामयिक विद्यालय शिक्षा विषयमा गरिएको कुराकानीको सम्पादित अंश :

क्षेत्रपाल माविको विगत कस्तो थियो ?
क्षेत्रपाल माध्यमिक विद्यालय नुवाकोट जिल्लाकै पुरानो इतिहास बोकेको विद्यालय हो । यसले निकै गर्विलो इतिहास बोकेको छ । नुवाकोटको त्रिशूली बजारस्थित त्रिभुवन त्रिशूली माविपछिको यो पुरानो मावि हो । इतिहास हेर्दा जिल्लाको पश्चिमी भेगको शैक्षिक धरोहर त्रित्रिमावि तथा पूर्वी भेगको पुरानो विद्यालयका रूपमा क्षेत्रपालले शैक्षिक उन्नयनको अगुवाइ गरेको देखिन्छ । विसं २०४६ को परिवर्तनपछि ठाउँठाउँमा विद्यालय स्थापना हुने लहर बढेसँगै यस विद्यालय रहेको क्षेत्रमा पनि मावि स्थापना हुन थालेपछि यसको आफ्नो सेवा क्षेत्र केही खुम्चिन थालेको देखिन्छ । शैक्षिक गुणस्तरका दृष्टिले हेर्ने हो भने यो स्थापनाकालदेखि नै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा छ ।

विद्यालयको हालको शैक्षिक, भौतिक, जनशक्तिको अवस्था कस्तो छ ? विषय–विशेषज्ञ शिक्षक दरबन्दीअनुसार पूरा छन् त ?
विद्यालयको हालको शैक्षिक अवस्था विगतको तुलनामा सुधारोन्मुख छ । विद्यालयमा प्रारम्भिक बाल शिक्षादेखि कक्षा १२ सम्म साधारण धारमा अध्ययन–अध्यापन हुने गरेको छ भने करिब ६०० विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा व्यवस्थापन विषय समूहमा अध्यापन हुने गरेको छ । भौतिक अवस्था पनि विद्यालयको सन्तोषजनक छ । नेपाल सरकारको नमुना विद्यालय विकास कार्यक्रमबाट केही शैक्षिक तथा भौतिक सुधारका कार्यक्रम पनि भएका छन्, तथापि विद्यालयमा अत्यावश्यक भौतिक सुविधाको अझै अपर्याप्तता छ । माध्यमिक र निम्नमाध्यमिक तहमा विषयगत शिक्षक हुनुहुन्छ, प्राथमिक तहमा पनि आवश्यक दरबन्दी छ ।

विद्यार्थीको सङ्ख्या कति छ ?
विद्यार्थी सङ्ख्या विगत वर्षका तुलनामा केही घट्न गएको छ, खासगरी कक्षा ११ र १२ मा विद्यार्थी सङ्ख्या निकै कम छ । साधारण धारका विषय मात्र रहेको हुनाले प्राविधिक धारका खोजीमा रहेका विद्यार्थी सदरमुकाम तथा राजधानीकेन्द्रित हुने तथा अवसरको विविधताका कारणले एसइईपछि विद्यार्थी राजधानीकेन्द्रित हुने भएकाले पनि ११, १२ मा निकै कम विद्यार्थी मात्र रहने गरेका छन् । कक्षा १० सम्म भने करिब पाँच सय ७० विद्यार्थी अध्ययनरत छन् ।

भौतिक पूर्वाधार र जनशक्ति पर्याप्त रहँदारहँदै पनि विद्यालयले उत्कृष्टता हासिल गर्न नसक्नाको कारण के होला ?
पहिलो कुरा, भौतिक पूर्वाधार विद्यालयको उत्कृष्टताको पहिलो सर्त भए पनि त्यो नै सर्वोपरि होइन रहेछ, उपलब्ध पूर्वाधारलाई कसरी सिकाइमैत्री हुने गरी परिचालन गरिँदोरहेछ भन्ने कुराले काम गर्ने रहेछ । हामीले सर्वप्रथम पूर्वाधारलाई जोड दियौँ, सरकारको नमुना विद्यालय विकासको कार्यक्रममा पनि पूर्वाधारलाई नै बढी केन्द्रमा राखेको देखियो, तर त्यसको परिचालनका लागि विभिन्न तहको पर्याप्त सहयोग, अनुगमन र निगरानी आवश्यक पर्ने गर्छ । विभिन्न तहका सरकारले पनि विद्यालयको विकासमा स्थानीय विज्ञतालाई नै सम्पूर्ण रूपमा जिम्मेवार बनाउने नीति लिएको देखियो । तर, सबै अवस्थामा स्थानीय विज्ञताले मात्र पर्याप्तता नभएको हामीले महसुस गयौँ । अर्को, विद्यालयप्रति समुदायको जवाफदेहिताले पनि निकै भूमिका खेल्ने रहेछ । समुदायको प्रत्यक्ष आर्थिक लगानी हाल यहाँ छैन, आर्थिक लगानी पर्याप्त भए अभिभावकको निगरानी बढी हुने र प्रत्यक्ष आर्थिक लगानी नदेखिए निगरानीमा कमी हुने देशभरिका सामुदायिक विद्यालयको गुनासो छ । जनशक्तिलाई आफ्नो उत्कृष्टता देखाउन पनि प्रोत्साहनको वातावरण चाहिने रहेछ, विद्यालयले आफ्नै पहलले गरेका प्रोत्साहनका कार्यक्रम कम प्रभावकारी महसुस भएको छ । विद्यालयको समग्र पक्षलाई हेर्ने चौतर्फी दृष्टिकोण कस्तो छ, जनशक्तिप्रतिको विश्वास कस्तो छ भन्ने कुराले भूमिका खेल्ने रहेछ । विद्यालयलाई यस क्षेत्रको महत्त्वपूर्ण एजुकेसनल हब बनाउने हाम्रो सपना हो, तर विद्यालयमा क्रियाशील जनशक्ति मात्रको पहलले ठुलो सपना साकार पार्न पर्याप्त भएन । विद्यालयलाई विगतदेखि हेर्ने हो भने निकै उत्कृष्ट बनेको छ, तर हाम्रा महत्त्वाकाङ्क्षा उच्च भए, उपलब्धि त्यसअनुसार देखिएन ।

कक्षा ११ र १२ मा कुन-कुन विषयमा अध्यापन भइरहेको छ ?
कक्षा ११ र १२ मा साधारण धारका अनिवार्य विषयका अतिरिक्त व्यवस्थापन/वाणिज्यशास्त्रका विषय अर्थशास्त्र, लेखाशास्त्र, व्यावसायिक अध्ययन आदि अध्यापन भइरहेको छ ।

एसइईमा केही वर्षदेखि नतिजा सुधार भएको देखियो, यसको कारण के हो ?
एसइईमा विगतका वर्षदेखि केही सुधार हुँदै आएको छ, तर अझै सन्तुष्ट हुने अवस्था भने देखिएको छैन, तापनि विद्यालय तहमा कार्यरत शिक्षकको मिहिनेतले काम गरेको छ, विशेषगरी कक्षा आठदेखि केही विषयको नियमित अतिरिक्त कक्षा सञ्चालन हुने गरेको छ । परीक्षालाई केन्द्रमा राखेर तयारी कक्षा सञ्चालन हुने गरेको छ । केही वर्षअघिदेखि परियोजनामा आधारित शिक्षणमा जोड दिने गरिएको छ जसबाट विद्यार्थीमा व्यावहारिक सिकाइको वातावरण बन्दोरहेछ, खासगरी यहाँको शिक्षण विधि सुगारटाइ प्रकृतिको छैन, यसका कारण कुनै वर्ष उत्कृष्ट नतिजा आउँछ, शतप्रतिशत विद्यार्थीले कक्षा १० को पढाइ पूरा गर्र्छन्, कुनै वर्ष अपेक्षित नतिजा नआउने गरेको अनुभव पनि छ । जे होस्, विगतका केही वर्षदेखि नतिजा सुधारोन्मुख छ । नतिजा भनेको आधार कक्षाको अवस्था, स्रोत विद्यालयको गुणस्तर अनि कार्यान्वयन भएका शैक्षिक गतिविधि आदिमा पनि भर पर्ने रहेछ ।

सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या र शैक्षिक गुणस्तर बर्सेनि घट्दै गइरहेको छ नि ?
शैक्षिक गुणस्तर घट्दै गएको भन्ने भनाइचाहिँ मलाई उचित लागेन । हुन त आमअवधारणा भनेको एसइईमा कति जिपिए आयो भन्ने नै हुने देखिएको छ, तर शैक्षिक गतिविधिको त्यो एउटा मात्र पाटो हो । विद्यार्थीको सर्वाङ्गीण विकासको अरू धेरै पाटालाई बन्द गरेर एउटालाई मात्र ध्यान दिँदा त्यस्तो देखिएको हो । यो अवधारणा फेरिनु जरुरी छ । कक्षा १० मा उत्कृष्ट जिपिए प्राप्त गरेका विद्यार्थी कक्षा ११ र १२ मा कस्तो नतिजा प्राप्त गर्दै छन्, तिनको व्यवहारकुशल सिपको अवस्था के छ, ती कुन प्रकारको जनशक्ति बनिरहेका छन् र देश तथा समाजलाई कस्तो योगदान पुयाईरहेका छन् भन्ने कुराचाहिँ शैक्षिक गुणस्तरका दृष्टिले महत्त्वपूर्ण हो भन्ने बुझ्नुपर्छ । सामुदायिक विद्यालयका विद्यार्थीले सम्पादन गरेका रचनात्मक र सिर्जनशील कार्यमा विद्यालयको गुणस्तर खोज्ने गरौँ । अर्को कुरा, हाम्रो देशका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको समग्र पृष्ठभूमि र तिनले पाएको सिकाइमैत्री वातावरणका अवस्थाबाट तिनले गरेको प्रगतिको मापन गरिनुपर्छ । विद्यार्थी सङ्ख्या घट्नामा पनि सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोणले नै काम गरेको हुन्छ भन्ने लाग्छ ।

विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा विषय अध्ययन गर्न जिल्लाबाट बाहिरिने विद्यार्थीलाई रोक्न सकिंँदैन ?
हामी राजधानीको सबैभन्दा नजिक रहेको जिल्लामा छौँ । राजधानीसित यहाँको प्रत्यक्ष सम्बन्ध छ । रोजगारी, जीविका, ज्याला–मजदुरी जे–जसो गरेर पनि राजधानीमै छोराछोरी राख्न चाहने आमप्रवृत्ति छ । अर्को कुरा, विद्यार्थी स्वयम्कै मनोविज्ञान पनि के देखिन्छ भने राजधानीमा असङ्ख्य अवसर हुन्छन् र त्यहाँ पुगेपछि ती अवसरमा प्रयत्न गर्न सकिन्छ । यस मनोविज्ञानबाट प्रभावित भएर पनि विद्यार्थी दसौँ वर्ष बिताएको विद्यालयमा बस्न नचाहने हुँदा रहेछन् । मैले सहरतिरै पनि देखेको छु, जहाँबाट विद्यार्थीले एसइई पूरा गरे, त्यही विद्यालयमा कक्षा ११ र १२ मा उनीहरूले अध्ययन गर्ने विषयको पढाइ हुने भए पनि नयाँपनको खोजीमा विद्यालय परिवर्तन गर्ने गरेका छन् । यो ठाउँ त गाउँ हो, बजारोन्मुख वा सहरोन्मुख क्षेत्र हो । यहाँका विद्यार्थी र अभिभावकलाई घरमै बसेर सहरको शिक्षा पाउने अवसर छ भने पनि अरू वातावरणको खोजीमा सहरकेन्द्रित हुने रहर छ । पहिलेको परिवेशमा पढ्नैका लागि गाउँ छाड्न नपरेको भए हुने भन्ने थियो, गाउँमा विद्यालय, कलेज भएको भए सहर गएर डेरा लिई महँगो जीवनशैलीमा बस्न बाध्य हुनुपर्दैनथ्यो भन्ने हुन्थ्यो, अहिलेको परिवेश त्यस्तो भएन । विद्यार्थीले रहर गर्ने भए, अभिभावक आफ्ना सन्तानको रहर जसरी पनि पूरा गरिदिनुपर्छ भन्ने मनोविज्ञानमा देखिए । कक्षा ११, १२ पूरा गरिनसक्दै विद्यार्थी वैदेशिक अध्ययनको तयारीमा लागिहाल्ने, १२ पूरा भयो कि विदेश गइहाल्ने, अभिभावकले जति नै खर्च लागे पनि सन्तानको रहर हो भनेर खर्च जुटाइदिने प्रवृत्ति छ । यसैकारण पनि विद्यार्थीलाई गाउँमा रोक्न सकिएको छैन ।

क्षेत्रपाल मावि र अरू विद्यालयमा के फरक छ जसका कारण विद्यार्थीले क्षेत्रपाललाई नै रोजून् ?
क्षेत्रपाल माविको खास विशेषता भनेको व्यवहारमैत्री शिक्षा हो, यहाँ रटाएरै परीक्षा उत्तीर्ण गर्न सकिन्छ भन्नेमा विश्वास गरिँदैन । हुन त एसइईको नतिजालाई नै मुख्य लक्ष्य बनाउने आमप्रवृत्ति छ, तर यहाँको अध्ययनले विद्यार्थीको सर्वाङ्गीण विकासको एउटा मात्र पाटालाई हेरेर अन्य पक्षलाई बिर्सने गरिएको छैन, परियोजनामा आधारित सिकाइमा जोड दिने गरिएको छ । खेलकुद, मनोरञ्जन, परियोजना कार्य, शैक्षिक प्रदर्शनी आदिमा जिल्लामा यो विद्यालय उत्कृष्ट देखिने गरेको छ । अर्को कुरा, सहर गएर पनि विद्यार्थीले यहीँ अध्यापन हुने विषय पढ्ने हो भने त्यहाँ जानु बेकार छ, त्यहाँभन्दा राम्रो पढाइ ती विषयमा यहीँ हुने गरेको छ । यसमा विश्वस्त हुने विद्यार्थी र अभिभावकले यही विद्यालय रोज्नुभएको छ ।
तल्ला कक्षामा पनि महँगो शुल्क र यातायात खर्च व्यहोरेर विद्यार्थीलाई घण्टौँको यात्रामा टाढाको विद्यालयमा लैजानु भनेको बालबालिकाको पहुँचको दूरीमा पढ्न पाउने अधिकारबाट तिनलाई वञ्चित गरेको ठहर्छ, बालअधिकारको हनन गरेको ठहर्छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, बालबालिकासम्बन्धी ऐन आदिले पनि विद्यार्थीलाई टाढाको दूरीमा जान बाध्य बनाउन नहुने उल्लेख गरेको छ । त्यसैले पनि अभिभावकले नजिकको विद्यालयलाई बेवास्ता गरेर टाढा लैजानुहुँदैन । जे कमजोरी छ, त्यसलाई अभिभावककै सक्रियता र सहभागितामा सुधार गर्नेतर्फ लाग्नुपर्छ, आफ्नो आँगनमा हिलो भयो भनेर टाढाको छिमेकीको आँगनमा बिस्कुन सुकाउने जस्तो गर्नुहुँदैन । यो कुरा सबैतिरका अभिभावकका लागि हो, यहाँको मात्र होइन ।

यस वर्षको कक्षा एकदेखि १२ सम्मको शैक्षिक नतिजाबाट सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्टिको मात्रा भनेको तुलनात्मक हुने रहेछ । हामीले गरेको योगदान, मिहिनेत, अपेक्षा, लगानी, प्रक्रिया आदिको अनुपातमा नतिजामा सन्तुष्टि मिल्ने, नमिल्ने भन्ने हुँदोरहेछ । यस वर्षको सबै कक्षाको नतिजामा सबैमा पूर्ण सन्तुष्टि नभए पनि शतप्रतिशत असन्तुष्टि भने छैन । हामीले पाएको र विद्यार्थीलाई दिन सकेको समग्र वातावरणका तुलनामा नतिजा त्यति निराशाजनक होइन ।

यहाँ अध्ययन गरेका विद्यार्थी कुन तहमा पुगेका छन् ?
यो विद्यालय जिल्लाकै पुरानो र विगतको निर्विकल्प शैक्षिक केन्द्र हुनाका नाताले पनि यहाँका विद्यार्थी देशका विभिन्न क्षेत्र र तहमा पुग्नु स्वाभाविक हो । यहाँका पूर्वविद्यार्थी विभिन्न तहका दक्ष जनशक्ति बनेर देश तथा विदेशमा कार्यरत हुनुहुन्छ । स्वास्थ्य क्षेत्रमा वरिष्ठ चिकित्सक र पूर्वाधारमा वरिष्ठ इन्जिनियर बन्नुभएको छ । त्यस्तै, राजनीति, व्यापार, कृषि-प्रविधि, निजामती, सुरक्षा क्षेत्र, शिक्षण, कूटनीतिक सेवालगायत धेरै क्षेत्रमा यहाँबाट अध्ययन गरेका विद्यार्थी पुग्नुभएको छ ।

विद्यालयको समस्या के हो ?
हाल विद्यालयको समस्या भनेकै विद्यालयप्रति हेर्ने आमदृष्टिकोणमा सकारात्मक परिवर्तन नहुनु हो । कता–कता विद्यालयलाई पूर्वाग्रहपूर्ण नजरले हेर्ने गरिएको पाउँदा दुःख लाग्छ । विद्यालय भनेको समाज र राष्ट्रकै सम्पत्ति हो । एउटा घरको वातावरण राम्रो हुन नसक्दा सदस्यले दुःख पाउँछन्, तर विद्यालयको वातावरणले त सयौँ, हजारौँ घरका सदस्यलाई सयौँ वर्षपछिसम्म पनि प्रभाव पार्छ । त्यसैले विद्यालयलाई सबैले साझा सम्पत्ति मानेर संरक्षण, सम्वद्र्धन र विकास गर्नुपर्छ । यसलाई आर्थिक, भौतिक, शैक्षिक जुनसुकै रूपमा पनि क्षति हुन दिनुहुँदैन । विद्यालयजस्तो सार्वजनिक संस्थामा कुनै स्वार्थ निहित पक्षीकरण हुनुहुँदैन । विद्यालय शिक्षकले मात्र जोगाएर जोगिने होइन, अभिभावक, समुदाय, समाज, सरकार सबैको लगानी यसमा परेको हुन्छ । अभिभावकले प्रत्यक्ष आर्थिक लगानी नगरे पनि घुमाउरो बाटाबाट नागरिककै लगानी सरकारी अनुदानका नाममा विद्यालयमा परिरहेको छ, त्यसैले यो सार्वजनिक हो । यसको संरक्षण, सम्वद्र्धनको अभिभारा हाम्रो पनि हो भनेर बुझ्नुपर्नेमा कसैको पनि दायित्व होइन भन्ने देखियो । यहाँको पनि समस्या यही हो । विद्यालयलाई रचनात्मक सुझाव र सहयोग दिनुहोस् । आलोचना पनि रचनात्मक भइदेओस् । यसो भएमा विद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्रमा विकास गर्न सकिन्छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह