+
Search

ताजा अपडेट +

पपुलर +

दलका घोषणापत्र प्रचार सामग्री मात्र

दलका घोषणापत्र प्रचार सामग्री मात्र
त्रिशूली प्रवाह
६ महिना अगाडी

आज नेपालका पुराना, नयाँ, युवा वा पुस्तान्तरण भएर आएका नेताहरूको सार्वजनिक आचरण हेर्दा अभिमान मात्र देखिन्छ । यो केवल भाषिक शैलीको मात्र समस्या होइन; हाम्रो नेतृत्व संस्कृतिको गम्भीर सङ्कटको सङ्केत हो । लोकतन्त्रमा नेतृत्वको मूल्याङ्कन उमेर, अनुहार वा नाराबाट होइन, दृष्टि, योग्यता र परिणामबाट हुनुपर्छ । नेपालमा भने आज पनि कसैले धेरै बोलेर, कसैले राम्रो प्रचार गरेर जनतालाई झुक्काउन सकिन्छ भन्ने भ्रम छ । यही कारणले पुराना असफलता दोहोरिन्छन् र नयाँ आशा छिट्टै निराशामा बदलिन्छ ।

Utsuk Books & Stationery

हरेक निर्वाचनअघि आकर्षक घोषणापत्र सार्वजनिक हुन्छन् । डिजिटल एक्सचेन्ज प्लेटफर्म विकास गर्ने, डाटा विज्ञानमा आधारित नीति निर्माण गर्ने, अन्तरक्रियात्मक राष्ट्रिय डाटाबेस तयार गर्ने, स्वोट (स्ट्रेन्थ विकनेस अपरचुनिटी थ्रेट) प्रोफाइलमार्फत तथ्यमा आधारित योजना बनाउने जस्ता आधुनिक शब्दले घोषणापत्र भरिन्छ । चुनावपछि ती बुँदा भाषणबाट हराउँछन् र कार्यान्वयनको प्राथमिकतामा पर्दैनन् । घोषणापत्र प्रतिबद्धता होइन, प्रचार सामग्री बन्न पुगेको छ । वास्तविक समस्या नीति अभाव मात्र होइन, नीति बनाउने प्रक्रियाको कमजोरी हो । नीति निर्माण राजधानीका सेमिनार हल र एसी कोठामा सीमित हुँदा त्यो कागजी सुन्दरता मात्र हुन्छ । देश बुझ्न गाउँघरमा समय बिताउनुपर्छ, किसान, श्रमिक, शिक्षक, स्वास्थ्यकर्मी र स्थानीय तहका कर्मचारीसँग प्रत्यक्ष संवाद गर्नुपर्छ । क्षेत्रको पीडा नबुझी बनाइएको नीति व्यवहारमा लागु सक्दैन ।

सरकारमा जाने दाउ नै दल र नेताका मुख्य उद्देश्य बनेको छ । सत्ता समीकरणका खेलमा जनता फेरि नयाँ शैलीमा ढाँटिने अभ्यास दोहोरिन्छ । बहस नीति र मुद्दामा होइन, आरोप-प्रत्यारोप र व्यक्तिगत आक्रमणमा सीमित हुन्छ । यसले लोकतन्त्रको गुणस्तर कमजोर बनाएको छ । संसद्मा पुग्नुअघि गरिएको किताबी अध्ययन, तालिम र भाषण अभ्यासले मात्र वास्तविक समस्या समाधान गर्ने नीति जन्माउँदैन । खेत, विद्यालय, अस्पताल र वडा कार्यालयको वास्तविकता नदेखेको नेतृत्वले सुशासनको ठुला कुरा गर्नु विरोधाभास हो । यही कारण संसद्मा पुगेपछि पनि धेरै विज्ञता व्यवहारमा निष्प्रभावी हुन्छ ।  आज देखिएको नेतृत्व साँच्चै देश हाँक्न योग्य छ त ? उत्तर कठोर भए पनि स्पष्ट छ – जबसम्म सोच, अभ्यास र इमानदारी परिवर्तन हुँदैन, तबसम्म न नयाँ, न पुराना, न युवा, न नवपुस्ता, कुनैले पनि अपेक्षित परिणाम दिन सक्दैनन् ।

नेपाललाई चाहिएको नेतृत्व भनेको-बोल्ने होइन, सुन्न सक्ने; आरोप गर्ने होइन, डाटाका आधारमा निर्णय गर्ने; सत्ता खोज्ने होइन, समाधान खोज्ने र पाँचबर्से भाषण होइन, पाँच पुस्तालाई असर गर्ने नीति बनाउने नेतृत्व हो । कागतीलाई जुनार भन्दै बेच्ने कला त धेरैले सिकिसके । अब देशलाई चाहिएको सत्य बोल्ने साहस, गहिरो तयारी र जिम्मेवार सुशासन हो । नत्र, भाषणको चमक त बढ्ला, तर शासनको अन्धकार अझ गहिरिँदै जानेछ, जुन तहको जित पनि जनताका घरदैलामा हार नै हुने छ ।

ढिकुरे, नुवाकोट

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह