विदुर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युकेको नयाँ अध्यक्षमा नुवाकोटका राजेन्द्र पुडासैनी निर्वाचित हुनुभएको छ । गत शनिबार भएको निर्वाचनमा बेलकोटगढी-८ जिलिङनिवासी उहाँले अध्यक्ष पदका अर्का प्रतिस्पर्धी गोविन्द खरेल र मनीष खत्रीलाई पराजित गर्नुभएको हो ।
एनआरएनए बेलायत अहिले गम्भीर ध्रुवीकरण र आन्तरिक विवादको अवस्थामा गुज्रिरहेका वेला पुडासैनीले नेतृत्व सम्हाल्न लाग्नुभएको हो । उहाँले अध्यक्षमा निर्वाचित भएपछि संस्थालाई समावेशी, पारदर्शी र जनउत्तरदायी बनाउने प्रतिबद्धता जनाउनुभयो । ‘नेतृत्वको सङ्कटले संस्थाको छवि धुमिल बनाएको छ,’ उहाँले त्रिशूली प्रवाह साप्ताहिकलाई भन्नुभयो, ‘म एनआरएनएलाई सबै नेपालीको साझा र गौरवपूर्ण थलो बनाउन नेतृत्वमा आएको हुँ ।’ पुडासैनीले एनआरएनए युकेमा देखिएको विभाजन अन्त्य गर्दै सबै पक्षलाई समेट्ने मार्गचित्र तयार गरिएको बताउनुभयो । उहाँले प्रेम गाहामगर पक्षसँगसमेत मिलेर साझा कार्यसूचीमा काम गर्ने योजना सार्वजनिक गर्नुभएको थियो । पुडासैनीले एनआरएन अभियानलाई जनतासँग जोडिन नसकेको स्वीकार गर्दै स्थानीय नेपाली समुदायसँगको सम्बन्ध बलियो बनाउने, बेलायत-नेपाल सम्बन्ध सुदृढ बनाउने तथा ज्ञान, सिप र प्रविधिको आदान-प्रदान गर्ने विषयलाई प्राथमिकतामा राखिने जानकारी पनि दिनुभयो ।
२५ वर्षअघि अध्ययनका लागि बेलायत पुग्नुभएका पुडासैनीले विदुर-५ च्वाडी पब्लिक मावि माझीटारबाट विसं २०४५ मा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएको थियो । बेलायतकै विश्वविद्यालयबाट एमबिए तथा बिएस्सी अनर्स गर्नुभएका उहाँ १५ वर्षदेखि बेलायतको स्वास्थ्य सेवामा कार्यरत हुनुहुन्छ । विद्यार्थीकालदेखि नै सामाजिक रूपान्तरणमा सक्रिय पुडासैनी नेपालमा रहँदा सरस्वती बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापतिसमेत हुनुभएको थियो । बेलायतमा ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्नुभएका पुडासैनी हाल जिएमबी नेसनल युनियन (लन्डन सेन्टर नर्थ) का सचिव हुनुहुन्छ । सन् २०१४ मा लन्डन बरो अफ ह्यारोबाट काउन्सिलर पदमा पनि प्रत्याशी बन्नुभएका उहाँले यती नेपाली एसोसिएसन बेलायतको दुई कार्यकाल महासचिव, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष र एनआरएनए अन्तर्राष्ट्रिय समिति सदस्य (२०२१-२३) को जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ । उहाँको विद्यालयका साथी टलकमान श्रेष्ठले भन्नुभयो, ‘विद्यालय पढ्दादेखि नै उहाँ मिहिनेती, सहयोगी, सहृदयी र केही गर्नुपर्छ भन्ने भावनाको हुनुहुन्थ्यो ।’ नेपालमा रहँदा पनि पुडासैनीले विभिन्न क्षेत्रको नेतृत्व गरेको उहाँले स्मरण गर्नुभयो ।
प्रतिक्रिया