- हाम्रो दैनिक जीवनका सबै क्षेत्रमा विद्युत्को उपयोग अनिवार्य भए पनि यसको प्रयोग संवेदनशील र खतरनाक हुन्छ, थोरै मात्र लापरबाहीले ठुलो दुर्घटना निम्त्याउन सक्छ ।
- लत्रिएको तार देख्दा तुरुन्त जानकारी गराउने, खम्बा वा तार नछुने, विद्युत् उपकरण सुक्खा हातले मात्र चलाउनेजस्ता सावधानी अपनाउँदा दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।
- विद्युत् प्राविधिकले खम्बा चढ्दा वा मर्मत गर्दा हेल्मेट, पन्जा, सेफ्टी बेल्ट आदि प्रयोग गर्नुपर्छ । करेन्ट अफ गरेर मात्र काम गर्नुपर्छ र तालिम प्राप्त नभएकालाई तालिम दिइनु आवश्यक छ ।
- बालबालिका, चौपाया र वृद्धवृद्धालाई विद्युत् संरचनाबाट टाढा राख्नुपर्छ । चट्याङ, हावाहुरी वा प्लग अन छाडेर राख्दा हुने दुर्घटनाबाट जोगिनुपर्छ ।
- विद्युत् दुर्घटनाबाट जनावर वा मान्छेको ज्यान गएमा क्षतिपूर्ति दिन नेपाल विद्युत् प्राधिकरण बाध्य हुन्छ । पहिलेको न्यून क्षतिपूर्तिलाई संशोधन गरेर २०८२ मा नयाँ नियम लागू गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।
विद्युतीय ऊर्जा आजको जीवनशैलीको अनिवार्य हिस्सा बनेको छ । भान्सादेखि उद्योगसम्म, शिक्षा, सञ्चार, स्वास्थ्य, यातायातजस्ता सबै क्षेत्रहरूमा यसको प्रयोग अत्यन्त महत्त्वपूर्ण छ । यद्यपि, यो अत्यधिक उपयोगी साधन भए पनि विद्युतीय प्रणाली संवेदनशील र खतरनाक भएकाले यसको प्रयोगमा अत्यधिक सतर्कता आवश्यक छ । थोरै मात्र असावधानीले ठुलो जनधनको क्षति, ज्यानको जोखिम र दुर्घटनाको कारण बन्न सक्छ ।
नेपालमा पछिल्ला दिनहरूमा विद्युतीय दुर्घटनाका घटनाहरू बढिरहेका छन् । यी घटनाहरूको रोकथामका लागि नेपाल विद्युत् प्राधिकरणनेविप्राले सार्वजनिक अपिलमार्फत विभिन्न सावधानी अपनाउन आग्रह गरेको छ जसमा खम्बा, टावर, तारजस्ता संरचनामा फलाम वा नाङ्गो हातले नछुनु, लत्रिएका वा टुटेका तार देखिएमा तुरुन्त नजिकको प्राधिकरण कार्यालयमा जानकारी गराउनु, लाइन छुन सक्ने रुखका हाँगा देखिएमा सावधानी अपनाउनु, हुकिङ वा चोरीजस्ता कार्य नगर्नु र अनधिकृत निर्माण नगर्नुजस्ता निर्देशन समावेश छन् ।
विद्युतीय संरचना सुरक्षित राख्न सर्वसाधारण नागरिक, प्राधिकरणका कर्मचारी र स्थानीय तह सबैको समन्वय अपरिहार्य छ । नेपाल विद्युत् प्राधिकरणले दुर्घटना न्यूनीकरणका लागि आवश्यक जनचेतनामूलक अभियान सञ्चालन गर्नु आवश्यक छ भने सर्वसाधारणले पनि सावधानी अपनाएर मात्रै बिजुलीको प्रयोग गर्नुपर्छ । उदाहरणका लागि, नाङ्गो तार देखिएमा आफैँ हस्तक्षेप नगरी सम्बन्धित निकायलाई खबर गर्नु, प्लग उपकरण लामो समय नचलाउने, चिसो वा भिजेको हातले विद्युतीय उपकरण नछुने, बच्चाहरूलाई प्लग वा ट्रान्सफर्मरनजिक जान नदिनेजस्ता कार्य गर्नुपर्छ ।
खासगरी प्राविधिक कर्मचारीले ‘सेफ्टी फस्र्ट’ भन्ने सिद्धान्त पालना गर्नुपर्छ । हेल्मेट, पन्जा, सुरक्षा जुत्ता, बेल्टजस्ता उपकरण प्रयोग गर्नुपर्छ र काम वा मर्मत करेन्ट अफ गरेर मात्र गर्नुपर्छ । लाइन काट्ने र पोल चढ्नेबिच राम्रो समन्वय आवश्यक छ । अपुग तालिम वा ज्ञान भएका कर्मचारीलाई आवश्यक तालिम उपलब्ध गराइनुपर्छ, नत्र दुर्घटना हुन सक्ने सम्भावना बढी हुन्छ ।
विगतमा भएका धेरै दुर्घटनाका कारण प्राविधिक त्रुटि, समन्वयको कमी, उपकरणको अवस्था कमजोर हुनु वा उपभोक्ताको लापरबाही रहेको पाइन्छ । परिणामस्वरूप मानवीय जीवन, चौपाया र सम्पत्तिमा ठुलो क्षति पुगेको छ । विद्युत् प्रणाली विज्ञानमा आधारित भएकाले सानो गल्तीले पनि ठुलो दुर्घटना निम्त्याउन सक्छ । त्यस्तै नेपाल विद्युत् प्राधिकरणका संरचनामा तोकिएको मापदण्डअनुसार मात्र निर्माण हुनुपर्छ । होचा पोलको कारण लाइनभन्दा नजिक राखिएका बाली, रुख र अन्य संरचनाले दुर्घटना निम्त्याउन सक्छन् । अझै कतिपय स्थानमा होचा पोल विस्थापन नगरिएको हुँदा स्थानीयले सावधानी अपनाउनुपर्छ । यदि बालबालिका वा चौपायाले लत्रिएका तारमा प्रवेश गरेमा दुर्घटना हुन सक्छ, त्यसैले अभिभावक र पशुपालक सजग हुन आवश्यक छ ।
नेपाल विद्युत् प्राधिकरणले विद्युतीय दुर्घटनामा परेका मानिस, चौपाया वा सम्पत्तिको क्षतिपूर्तिको व्यवस्था गर्नका लागि ‘विद्युतीय दुर्घटना क्षतिपूर्ति विनियमावली २०६७’ लागू गरेको थियो, तर त्यसमा दिइएको क्षतिपूर्ति रकम न्यून भएकाले २०८२ सालमा उक्त विनियमावलीलाई संशोधन गरी प्रचलनमा ल्याउने प्रक्रिया अगाडि बढाइएको छ । अबको संशोधनअनुसार यदि प्राधिकरणको उपकरण, सवारी वा अन्य कार्यका कारण दुर्घटना भयो भने, सम्बन्धित व्यक्ति वा सम्पत्तिलाई क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ । पशुधनको मृत्युपछि पनि क्षतिपूर्ति दिइनेछ, तर प्राधिकरणको गल्ती नभई मालिक वा अन्य कारणले दुर्घटना भएमा भने क्षतिपूर्ति दाबीमा नागरिकले गलत दाबी नगर्ने बानी बसाल्नुपर्छ ।
विद्युत् मानव जीवनको सहजता र प्रविधिमा आधारित जीवनशैलीको मूल आधार हो । यसले जति सहजता ल्याउँछ, त्यति नै सावधानी पनि आवश्यक पर्छ । विद्युत्को प्रयोग गर्दा कर्मचारी र नागरिक दुवैले सुरक्षाका उपाय अपनाउनुपर्छ, नत्र अनपेक्षित दुर्घटना हुन सक्छ । सरकार र प्राधिकरणले जनचेतनामूलक कार्यक्रममार्फत सचेतना फैलाउने कार्यलाई अझ सशक्त रूपमा अगाडि बढाउनुपर्छ, ताकि जनधनको सुरक्षा होस् र अमूल्य जीवनको रक्षा गर्न सकियोस् ।
विदुर-१०, नुवाकोट
प्रतिक्रिया