विदुर । नुवाकोट जिल्लाका किराना तथा खाद्यान्न होलसेल पसल शनिबार एक दिन व्यासायीले बन्द गर्न सहमति गरेका छन् । नुवाकोट उद्योग वाणिज्य संघको अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको होलसेल तथा किराना व्यवसायीको बैठकले श्रावण १० देखि शनिबार पसल बन्द गर्ने निर्णय गरेको थियो ।
दशैं र तिहारमा उपभोक्ताले खाद्यान्नको सामाग्री बढी किनमेल गर्ने भएकोले असोज र कार्तिकमा उक्त निर्णय लागू नहुने र बाँकी १० महिना शनिबार पसल बन्द गर्ने बैठकले निर्णय गरेको छ । होलसेल तथा किराना व्यवसायीको बैठकले समिति नै बनाएर कडाईकासाथ शनिबार पसल बन्द गराउन थालेको छ । पसल बन्द भए/नभएको अनुगमन तथा निगरानी गर्न सुरेन्द्र श्रेष्ठ अध्यक्षमा समिति बनेको छ । समितिको उपाध्यक्षमा आयुष रिजाल, सचिवमा रेशम अमात्य र कोषाध्यक्षमा राजु गुप्ता र सदस्यमा राजकुमार डंगोल, शिव रिमाल र सुदिप थापा रहेका छन् ।
निर्णयको उल्लंघन गर्ने व्यवसायीलाई जरिवाना तिराइने निर्णय गरिएको छ । व्यवसायीले पहिलो पटक नियम उल्लंघन गरे रू.पाँच हजार, दोश्रो पटककोले रू.सात हजार, तेश्रो पटकको वा सो भन्दा बढीकोले रू.१० हजार जरिवाना तिर्नुपर्नेछ । जरिवानावापत उठेको रकम समितिको खातामा जम्मा गरिने बताइएको छ । साथै, शनिबारको दिन लोड र अनलोडको काम पनि गर्न पाइने छैन । सामान्य किराना पसललाई भने यो नियम लागू नहुने समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताउनुभएको छ । सुनचाँदी व्यवसायी र निर्माण सामग्री व्यवसायीले गत वर्षदेखि शनिबार पसल बन्द गर्दै आइरहेका छन् ।
प्रतिक्रिया