सुरेन्द्र अधिकारी,
प्रधानाध्यापक
अमरज्योति प्राविधिक मावि, तादी-३, खरानीटार, नुवाकोट
नुवाकोट जिल्ला, तादी-३ स्थित अमरज्योति प्राविधिक माध्यमिक विद्यालय स्थापनाकालदेखि नै ज्ञानको केन्द्रका रूपमा रहेको छ । वि.सं. २०१६ भदौमा महाकाली विद्याश्रमका नामबाट कक्षा एक-पाँचसम्म अध्यापन गरेर सुरुवात भएको विद्यालयका सञ्चालक समितिका अध्यक्षमा वासुदेव पाण्डे रहनुभएको थियो । त्यसपछि विसं २०२४ मा अमरज्योति मिडिल स्कुल एक-आठ स्थापना गरी सञ्चालन गर्न सञ्चालक समितिका अध्यक्ष धननाथ उप्रेतीको भूमिका उल्लेखनीय छ । विसं.२०३२ मा सञ्चालक समितिका अध्यक्ष गोविन्दप्रसाद पाण्डे र प्रधानाध्यापक गणेश पण्डितको अथक प्रयासले विद्यालय माध्यमिक तहको कक्षा ९-१० अध्यापन गर्न सफल भएको हो । तत्कालीन अवस्थामा नुवाकोटको पूर्वी क्षेत्रमा कतै पनि नभएका अवस्थामा सो भेगकै केन्द्रविन्दु मानिने खरानीटारमा माध्यमिक विद्यालय स्थापना गर्ने काम शिक्षाप्रेमी पाण्डेले गर्नुभएको हो । सो माविबाट धेरै प्रतिभा जन्मिएर राष्ट्रका माथिल्लो ओहदासम्म पुगेका छन् । सो क्षेत्रमा समाजसेवी झवराज उप्रेती, गंगाधर उप्रेती, अर्जुन श्रेष्ठलगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएर विद्यालय सुधार तथा भौतिक निर्माण गर्नुभयो । विद्यालय विसं २०६२-२०६३ मा स्तरोन्नति भई उच्च मावि कक्षा ११, १२ सञ्चालन भयो । उक्त तहका लागि पहल गर्नेमा तत्कालीन प्रधानाध्यापक सच्चिदानन्द उप्रेतीलगायत हुनुहुन्थ्यो । आफ्नो शैक्षिकस्तर अभिवृद्धि गर्न राजधानी जानुपर्ने यहाँका गरिब जनताका छोराछोरीले गाउँमै उच्च शिक्षा हासिल गरेर आफ्नो भविष्य उज्ज्वल बनाउने अवसर प्राप्त गरेका छन् । हाल विद्यालयमा कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ विषयको अध्यापन हुँदै आएको छ । विसं २०७२-२०७३ मा स्थापित प्राविधिक विषय (सिभिल इन्जिनियरिङ) अध्यापनले गर्दा हाल विद्यालय अमरज्योति प्राविधिक माध्यमिक विद्यालयका नामले परिचित छ । प्राविधिक धार माविका लागि पहल गर्नेमा सञ्चालक समितिका अध्यक्ष गंगाराम श्रेष्ठ र प्रधानाध्यापक सुरेन्द्र अधिकारीलगायत हुनुहुन्छ । आव २०७८/०७९ देखि विद्यालयमा नमुना विद्यालय विकास कार्यक्रम नेपाल सरकारबाट स्वीकृत गरी लागू भएको छ ।
विद्यार्थीको पठनपाठन सुधार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि समयसापेक्ष शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र भविष्यमा चाहिने दक्ष जनशक्ति उत्पादन गर्न शिक्षक, कर्मचारीका लागि विद्युतीय हाजिरी, सिसिक्यामेरामार्फत मनिटरिङ, वाइफाई, आइसिटी प्रविधिबाट शिक्षण व्यवस्था, आधुनिक सुविधासम्पन्न पक्की शैक्षिक भवन तथा शौचालय, स्वच्छ खानेपानी ट्याङ्कीको व्यवस्था आदि विद्यालयले गरेको छ । विसं २०३६ कात्तिक १४ गते तत्कालीन सुन्दरादेवी गाविस हाल तादी-४ नुवाकोटमा जन्मनुभएका प्रधानाध्यापक अधिकारीले सुन्दरादेवी मावि, तादी-४ बाट विसं. २०५२ मा प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभयो भने उहाँ शिक्षाशास्त्र (अङ्ग्रेजी) र समाजशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ । विसं. २०६२ देखि हालसम्म अमरज्योति माविमा माध्यमिक तहका अङ्ग्रेजी शिक्षक तथा २०६३/२०६४ मा सहायक प्रधानाध्यापक, २०६४ देखि हालसम्म प्रधानाध्यापक र २०६५ देखि हालसम्म अमरज्योति बहुमुखी क्याम्पसमा बिहानी सत्रमा क्याम्पस प्रमुख हुनुहुन्छ । नेपाल स्काउटका सिसिएमसमेत रहनुभएका र लगभग १८ वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएका अधिकारीसँग त्रिशूली प्रवाह साप्ताहिकले गरेको कुराकानीको अंश :
सर्वप्रथम विद्यालयको भौतिक विकासको कुराबाट सुरु गरौं, कस्तो थियो तपाईं प्रवेश गर्दा र हालको अवस्था ?
विसं २०१६ का समयमा यहाँका अग्रज शिक्षाविद्, समाजसेवी महानुभावको कठोर मिहिनेत र योगदानबाट स्थापना गरिएको र कच्ची भवन थिए । उक्त भवन पनि विसं २०७२ को भूकम्पको कारण सबै ढल्यो । त्यसपछि विद्यालयमा रूम टु रिड भन्ने संस्थाले पठनपाठनका लागि चारवटा दुईतले पक्की भवन निर्माण गरिदियो । पछि जाइका संस्थाको सहयोगमा नौकोठे पक्की भवन निर्माण भयो । हाल सङ्घीय सरकारको अनुदानबाट नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत २४ कोठे पक्की आधुनिक शैक्षिक भवन, अत्याधुनिक शौचालय, प्राविधिक कार्यशाला आदि निर्माण गरिएका छन् ।
भवनबाहेक विद्यालयका अन्य सुविधा के-के छन् ?
विद्यालयमा यस क्षेत्रकै ठुलो खेलमैदान, आइसिटी ल्याब, विज्ञान ल्याब, इन्जिनियरिङ कार्यशाला, कम्प्युटर ल्याब, पुस्तकालय, चमेनागृहलगायत सुविधा उपलब्ध छन् ।
इन्जिनियरिङ कार्यशालाको कुरा गर्नुभयो, कहिलेदेखि विद्यालयमा सिभिल इन्जिनियरिङ अध्यापन सुरु भएको हो ? अध्ययनपछि विद्यार्थीले रोजगारी पाएका छन् ?
विद्यालयमा सिभिल इन्जिनियरिङको पठनपाठन सुरु गरिएको विसं २०७३ देखि हो । कक्षा ९-१२ सम्म पठनपाठन हुने माविधार सङ्घीय सरकार, शिक्षा विकास तथा प्रविधि मन्त्रालयको सम्बन्धनबाट सञ्चालन गरिएको हो । त्यसकारण विद्यार्थी र अभिभावकले कुनै आर्थिक भार व्यहोर्नुपर्दैन । यहाँ प्राविधिक धार माविको सिभिल ओभरसियरसम्मको शिक्षा लिन सकिन्छ । अध्ययनपछि विद्यार्थीले दुप्चेश्वर, तादी, पञ्चकन्या गाउँपालिकालगायत देशका विभिन्न स्थानीय तहमा रोजगारी पाइरहेका छन् ।
प्राविधिक धार सञ्चालनमा चुनौती के-के पाउनुभयो ?
यस विषयको महत्त्व स्थानीय अभिभावक तथा विद्यार्थीले नबुझ्नु, कक्षा १२ सम्मको शिक्षा हासिल गर्नेबित्तिकै इन्जिनियरजत्तिकै काम गर्न सक्ने बन्नुपर्छ भन्ने महत्त्वाकांक्षा अभिभावकमा हुनु, इन्जिनियरजस्तो जनशक्तिलाई राज्यले करारमा शिक्षण सेवा गरी राख्नुपर्ने अवस्थाको सिर्जना गर्नु, क्याचमेन्ट एरिया सानो हुनु, यहाँबाट काठमाडौँ धेरै नजिक भएकोलगायत कारणले गर्दा अभिभावक र विद्यार्थीलाई राजधानी गएर अध्ययन गर्ने र गराउने हुटहुटी जाग्नु आदि यस धार सञ्चालनको चुनौती मैले महसुस गरेको छु ।
विद्यालयमा विद्यार्थी सङ्ख्या र एसइईको नतिजाको अवस्था कस्तो छ ?
विद्यालयमा कुनै वेला हजारौँको सङ्ख्यामा विद्यार्थी अध्ययनरत थिए । त्यसवेला तादी खोला भेगमा क्षेत्रपाल मावि चौघडा र अमरज्योति मात्रै थिए । पछि एउटै वडामा तीन-चारवटासम्म मावि स्थापना हुनु, निजीस्तरको बोर्डिङ स्कुलमा आफ्नो बच्चा पढाउने लहर अभिभावकमा आउनु, सन्तान उत्पादन घट्दै जानु आदि कारणले अन्य विद्यालयमा जस्तै हाम्रामा पनि विद्यार्थी सङ्ख्या कमै छ । चार सयजनाको हाराहारीमा कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थी अध्ययन गरिरहेका छन् । हाम्रो विद्यालयमा गत वर्ष र यस वर्षका एसइईमा तादी गापाको अन्य विद्यालयभन्दा उत्कृष्ट तथा पहिलो नतिजा आएको छ । धेरै विद्यार्थीले ‘ए’ ग्रेडसहित राम्रो नतिजा ल्याएका छन्, तैपनि विद्यालयको प्रयासअनुरूप हामी त्यसप्रति सन्तुष्ट भने छैनौं ।
विद्यालयको अथक् प्रयासको बाबजुद अपेक्षाकृत नतिजा नआउनुमा क-कसको दोष देख्नुहुन्छ ?
विशेष गरेर आर्थिक अवस्था र शैक्षिक चेतनाको हिसाबले पनि धेरै कमजोर अभिभावकका सन्तान सामुदायिक विद्यालयमा भर्ना हुन आउनु, अभिभावकको आफ्नो विद्यार्थीको पठनपाठनप्रति कम ध्यान हुनु र विद्यार्थीको नतिजा र सिकाइमा विद्यालयले मात्र जिम्मा लिनुपर्छ भन्ने तिनको सोच हुनु, घरपरिवारको वातावरण सन्तानको पढाइप्रति त्यति अनुकूल नहुनु, शिक्षक गृहकार्य गराउनेलगायत योगदान दिनुपर्ने विषयमा आफ्नो पेसाप्रति कम समर्पित हुनु, राज्यको बेरोजगार र नागरिकप्रति गैरजिम्मेवारी व्यवहारले गर्दा विद्यार्थीमा भविष्यप्रति आशा र भरोसा नजाग्नु, मोबाइललगायत आइसिटी प्रविधिको पढाइका लागि सदुपयोगभन्दा पनि दुरुपयोग बढी गर्नुलगायत कारण नै सामुदायिक विद्यालयको विद्यार्थीको सिकाइ उपलब्धि कमजोर हुनु र नतिजा कमजोर आउनुको मुख्य कारण हुन् । पठन–संस्कृति अहिले ह्रास भइरहेको छ । पढ्ने संस्कारको विकास गराउन हामी लागिरहेका छौँ ।
विद्यालयको शैक्षिक संरचनाबारे प्रस्ट्याइदिनुस् न ?
विद्यालयमा नर्सरी, एलकेजी र युकेजीदेखि कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यमबाट मात्र अध्यापन गराउँछौँ । कक्षा ६ देखि आठसम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन हुन्छ भने कक्षा नौदेखि दससम्म साधारण धार मावितर्फ अङ्ग्रेजी र नेपाली माध्यमबाट छुट्टाछुट्टै कोर्सको कक्षा सञ्चालन भइरहेको छ भने प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङको कक्षा सञ्चालनमा छन् । त्यसै गरेर कक्षा ११ र १२ मा शिक्षाशास्त्र, व्यवस्थापन सङ्काय र सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन गर्दै आएका छौँ र कक्षा ६ देखि आठसम्मका विद्यार्थीलाई कम्प्युटर कक्षा पनि लामो समयदेखि सञ्चालन गर्दै आएका छौँ । यस हिसाबले विद्यालयले पूर्ण रूपमा प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ भन्दा फरक नपर्ला ।
विद्यालयमा विद्यार्थीका लागि छात्रावास र शिक्षक आवासको व्यवस्था छ ?
नमुना विद्यालय विकास कार्यक्रम लागू भएकाले विद्यालयको भौतिक विकासअन्तर्गत प्रशस्त सङ्ख्यामा निर्माण भएका आधुनिक भवन तथा संरचनाले गर्दा हामीले यसै शैक्षिक सत्रदेखि शिक्षकका लागि सुविधायुक्त आवासीय व्यवस्था र कम्तीमा ४० जनासम्म विद्यार्थीका लागि छात्रावासको व्यवस्था गर्न लागेका छौँ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रधानाध्यापकको समयावधिका विषयमा पनि प्रश्न उठाएको छ, यसबारे तपाईंको धारणा के हो ?
उक्त निकायको यो धेरै सकारात्मक चासोको कुरा हो । धेरैजसो विद्यालयमा व्यवस्थापन समितिकोे शिक्षा नियमावलीले तोकेको योग्यता, प्रक्रिया नपु¥याईकन प्रधानाध्यापक नियुक्ति र समयावधि जागिर अवधिभरि नै रहिरहने परिपाटीका कारण यो प्रश्न उठाइएको हो जस्तो मलाई लाग्छ । विशेष गरेर हाम्रो विद्यालयका हकमा नमुना विद्यालयका प्रधानाध्यापक नियुक्ति कार्यविधिअनुसार सम्पूर्ण प्रक्रिया अपनाएर पाँच वर्षका लागि वैधानिक हिसाबले गरेकाले उक्त सवाललाई हाम्रो विद्यालयले अग्रिम रूपमै सम्बोधन गरिसकेको छ । नमुना विद्यालय प्रधानाध्यापक नियुक्ति कार्यविधिअनुसार नै पाँच वर्षका लागि कन्फर्म प्रधानाध्यापक नियुक्ति भएको र उक्त वैधानिक कार्यअवधि नै तीन वर्ष अझै बाँकी रहेको छ ।
विद्यालयको भविष्यको योजना के-के छन् ?
हाम्रो प्राविधिक धारका विज्ञान विषयको उमावि तहका शिक्षक र विज्ञानका फिजिक्स, बायोलोजी र केमिस्ट्रीको ल्याब सबै भएकाले कक्षा ११ र १२ मा विज्ञान सङ्काय सञ्चालन गर्ने, व्यवस्थापन सङ्कायमा होटेल म्यानेजमेन्ट विषय थप गर्ने र विद्यालयको आफ्नै जग्गा प्रशस्त भएकाले पढ्दै कमाउने कार्यक्रम लागू गर्नेतर्फ निकट भविष्यमै लाग्ने योजना बनाएर हामी सरोकार निकायसँग समन्वय गरिरहेका छौँ ।
प्रतिक्रिया