+
Search

ताजा अपडेट +

पपुलर +

बागमतीको छैटौँ मुख्यमन्त्रीमा बानियाँ

आठ महिना काङ्ग्रेसको नेतृत्वमा प्रदेश सरकार

बागमतीको छैटौँ मुख्यमन्त्रीमा बानियाँ
त्रिशूली प्रवाह
१ हप्ता अगाडी

विदुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त हुनुभएको छ । नेपाली काङ्ग्रेस प्रदेश सभापति बानियाँ काङ्ग्रेस र नेकपा (एमाले) को समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँले मुख्यमन्त्री पदको शपथ लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले उहाँलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । मुख्यमन्त्री नियुक्त र शपथसँगै बानियाँले आठजना मन्त्री नियुक्त गर्नुभएको छ । जसमा काङ्ग्रेसका दुईजना र एमालेका ६ जना छन् । नियुक्त आठ मन्त्रीलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शपथग्रहण गराउनुभयो ।

एमालेका मधुसुदन पौडेल कृषि तथा पशुपन्छी विकासमन्त्री, डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापा श्रम, रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसी वन तथा वातावरणमन्त्री, किरण थापा स्वास्थ्यमन्त्री र विन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बन्नुभएको हो । एमालेबाट मन्त्री बन्नुभएका थापा यसअघिको सरकारमा समेत सहभागी हुनुहुन्थ्यो भने अन्य पाँचजना नयाँ अनुहार हुन् । काङ्ग्रेसबाट भने बानियाँले कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र शिवराज अधिकारीलाई विनाविभागीयमन्त्री नियुक्त गर्नुभएको छ । प्रदेशका १४ वटा मन्त्रालयमध्ये मुख्यमन्त्रीबाहेक काङ्ग्रेसको भागमा परेका सात मन्त्रालयमा दुईजना मन्त्री नियुक्त गरी बाँकी पाँचवटा मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री बानियाँले आफैँमातहत राख्नुभएको छ । बानियाँ बागमतीको छैटौँ मुख्यमन्त्री नियुक्त हुुनुभएको हो । मकवानपुरबाट मुख्यमन्त्री हुने बानियाँ दोस्रो हुनुहुन्छ । प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेल पनि मकवानपुरकै हुनुहुन्छ । मकवानपुरको साबिक हर्नामाडी गाविस-४ दियावाती, हाल हेटौँडा उपमहानगरपालिका-१८ मा जन्मिनुभएका बानियाँ ३७ वर्षदेखि राजनीतिमा हुनुहुन्छ । ५५ वर्षीय बानियाँले २०४४ सालदेखि नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएको थियो ।

नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै उहाँ २०७३ सालमा काङ्ग्रेस मकवानपुर सभापति हुनुभएको थियो । २०६४ सालमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार बन्नुभएका ५५ वर्षीय बानियाँ कम्युनिस्टको लालकिल्ला भनेर चिनिने मकवानपुरमा कम्युनिस्ट किल्ला भत्काएर २०७० सालको संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य विजयी भएदेखि निरन्तर सांसद हुनुहुन्छ । त्यसवेलादेखि चर्चामा रहनुभएका बानियाँ मकवानपुरबाट सांसद जित्ने पहिलो काङ्ग्रेस नेता हुनुहुन्छ । उहाँ २०७० साल मङ्सिर ४ मा भएको संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हो । बानियाँ २०७३ सालमै सङ्घीय गृहराज्यमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भइसक्नुभएको थियो । २०७३ साल फागुनमा गृहराज्यमन्त्री हुनुभएका उहाँ त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री हुनुहुन्थ्यो । २०७४ सालबाट सङ्घीयता कार्यान्वयनमा गएसँगै बानियाँ प्रदेश सभाको निर्वाचनमा उम्मेदवार हुनुभएको थियो । २०७४ सालपछि बानियाँ काङ्ग्रेस संसदीय दलको नेता हुनुहुन्थ्यो । अघिल्लो कार्यकालमै मुख्यमन्त्री हुन खोज्नुभएका बानियाँ असफल बन्नुभएको थियो । प्रदेश सभाको दोस्रो कार्यकालमा दलको नेतामा पराजित हुनुभएका बानियाँ साढे दुई वर्षपछि दलको नेताबाट बहादुरसिंह लामालाई हटाएर आफैँ बन्नुभयोे । २०७९ साल पुस १३ मा दलको नेताका लागि भएको निर्वाचनमा लामासँग बानियाँ पाँच मतले पराजित हुनुभएको थियो । २०८२ साल साउन ९ मा मुख्यमन्त्रीसमेत रहनुभएका दलका नेता लामाविरुद्ध बानियाँकै नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

काङ्ग्रेसकै बहादुरसिंह लामाले आइतबार मुख्यमन्त्रीबाट राजीनामा घोषणा गरेर सोमबार प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पठाउनुभएको थियो । त्यसपछि प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि मंगलबार दिउँसो २ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बानियाँले काङ्ग्रेसका ३७ र सत्तासाझेदार दल नेकपा एमालेका २७ सांसद गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेस गर्नुभएको थियो । एक सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ । सातवटा राजनीतिक दलको प्रतिनिधित्व रहेको प्रदेश सभामा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका सात, नेमकिपाका तीनजना र हाम्रो नेपाली पार्टीका दुईजना सांसद छन् । बागमतीमा एक वर्षअघि सरकार गठन हुँदा एमाले र काङ्ग्रेसबिच २०-२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । सहमतिअनुसार बानियाँले अबको आठ महिना प्रदेश सरकारको नेतृत्वमा रही २०८२ फागुनसम्ममा एमालेलाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ । बानियाँभन्दा अगाडि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेद्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा प्रदेश मुख्यमन्त्री भइसक्नुभएको छ ।

देश सङ्घीय संरचनामा गएपछिको दोस्रो आवधिक निर्वाचन सम्पन्न भएको तीन वर्ष पुग्दै छ । सङ्घमा सरकार परिवर्तनसँगै त्यसको प्रत्यक्ष प्रभाव प्रदेशमा पनि पर्दै आएको छ । प्रदेशका लागि भएको पहिलो कार्यकालमा जस्तै दोस्रो कार्यकालमा पनि बागमती प्रदेश सरकार निर्माणमा अस्थिरता देखिएको छ । राजनीतिक दलभित्रैको अन्तद्र्वन्द्व र सत्ता जोडघटाउका कारण प्रदेश सरकारमा अस्थिरता देखिएको हो । अस्थिरताका कारण बागमतीमा कुनै पनि मुख्यमन्त्री र सरकारले पूरा अवधि काम गर्न पाएका छैनन् । मंगलबार मात्रै बागमती प्रदेशमा बानियाँले मुख्यमन्त्रीको शपथ लिनुभएको छ । राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व, कुनै दलको स्पष्ट बहुमत नहुँदा र दल तथा नेता सत्ता र शक्तिकेन्द्रित हुँदाको परिणाम यो अवधिमा बागमती प्रदेशमा ६ जना मुख्यमन्त्री बनिसक्नुभएको छ । प्रदेशको पहिलो कार्यकालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक कलह र विभाजनका कारण अस्थिरता भोगेको बागमती प्रदेशले दोस्रो कार्यकालमा नेपाली काङ्ग्रेसभित्रको आन्तरिक कलह र सत्तामोहले अस्थिरता निम्तिएको छ । दुई ठुला दल नेपाली काङ्ग्रेस र एमालेबिच राजनीतिक स्थायित्वका लागि भन्दै सत्ता साझेदारी भएको थियो, तर काङ्ग्रेसभित्रकै विग्रह र विवादले एमाले तथा काङ्ग्रेसबिचको सहमतिअनुसार बहादुरसिंह लामा तामाङ नेतृत्वको सरकारले पूरा समय काम गर्न पाएन । लामाको कार्यसम्पादन कमजोर र बजेट विवादका कारण काङ्ग्रेसमा नेतृत्व परिवर्तन भएको सतहमा देखिए पनि पार्टीको आगामी महाधिवेशन, पार्टी र राज्यसत्ता आफ्नो पकडमा राख्ने जोडघटाउका कारण प्रदेश सभाको दोस्रो कार्यकालमा बागमतीले तेस्रो मुख्यमन्त्री पाएको छ । काङ्ग्रेसमा प्रदेश सभा संसदीय दलका लागि भएको निर्वाचनमा मुख्यमन्त्री लामा पराजित भएसँगै उहाँमाथि राजीनामा दिन परेको दबाब र पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा भएको आन्तरिक सहमति र आग्रहपछि लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन सहमत भएसँगै सत्तागठबन्धनबाट मकवानपुरका बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो । बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीमा पर्नुहुन्छ ।

विसं २०८१ साउन ८ मा लामा मुख्यमन्त्री नियुक्त हुँदा केन्द्रीय सहमतिअनुसार बागमतीमा काङ्ग्रेस र एमालेले २०-२० महिना सरकार चलाउने सहमति थियो । जसअन्तर्गत काङ्ग्रेसका तर्फबाट लामा १२ महिना मुख्यमन्त्री बनिसक्नुभएको छ । सहमतिअनुसार अब काङ्ग्रेसबाटै मुख्यमन्त्री बन्नुभएका बानियाँले आठ महिना मात्र प्रदेश सरकारको नेतृत्व गर्न पाउनुहुनेछ । यसपछि मुख्यमन्त्री पद एमालेले पाउनेछ । एमालेका डोरमणि पौडेल पहिलो मुख्यमन्त्री बन्नुभएको थियो । विसं २०७४ माघ २९ गते नियुक्त हुनुभएका पौडेलले विसं २०७८ भदौ २ गतेसम्म नेतृत्व गर्नुभएको थियो । नेकपा एमाले पार्टी फुटेर नेकपा समाजवादी बनेपछि एमालेकै नेतृ अष्टलक्ष्मी शाक्यले विसं २०७८ भदौ २ गतेदेखि २०७८ कात्तिक १० गतेसम्म जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यसपछि नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे बागमतीका मुख्यमन्त्री बन्नुभयो । विसं २०७८ कात्तिक १० गते पदभार सम्हाल्नुभएका पाण्डे विसं २०७९ पुस ८ गतेसम्म जिम्मेवारीमा रहनुभयो । यसैगरी विसं २०७९ पुस २५ गते नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री नियुक्त हुनुभयो । उहाँले विसं २०८१ साउन ८ गतेसम्म कार्यभार सम्हाल्नुभएको थियो । प्रदेशको पाँचौँ मुख्यमन्त्रीको रूपमा काङ्गे्रसका बहादुरसिंह लामाले विसं २०८१ साउन ८ गतेबाट विसं २०८२ साउन २० गतेसम्म जिम्मेवारी सम्हाल्नुभएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह