हेटौँडा । नेपाली काङ्ग्रेसको आन्तरिक कलहबिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । मंगलबार प्रदेश सभामा भएको मत विभाजनमा उहाँको पक्षमा ६३ मत प्राप्त भएसँगै उहाँले विश्वासको मत पाउनुभएको हो ।
प्रदेश सभाको बैठकमा ११० मध्ये ९२ जना सदस्य उपस्थित रहेकोमा विपक्षमा २२ मत प्राप्त भएको थियो । विश्वासको मतका लागि ५६ सदस्यको समर्थन चाहिने भए पनि बानियाँले ६३ मत प्राप्त गर्नुभएको छ । बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत पाउनुभएको हो । काङ्ग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । काङ्ग्रेस र एमाले गठबन्धनका बानियाँ साउन २० गते बानियाँ मुख्यमन्त्री बनेका थिए । तर, काङ्ग्रेसभित्रै निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षधर १४ सांसद असन्तुष्ट भएपछि मंगलबार दिउँसो ४ बजेलाई तोकिएको विश्वासको मत लिने तालिका पछि सरेको थियो । मुख्यमन्त्रीले विश्वासको मत लिने अघिल्लो दिन सोमबारसम्ममा बागमती काङ्ग्रेसमा दुई धारको सङ्घर्ष झनै झाँगिँदै थियो । निवर्तमान मुख्यमन्त्री लामा आफ्ना माग पूरा नभएसम्म आफ्नो पक्षका सांसदले बानियाँलाई विश्वासको मत नदिने बताएका थिए । यसअघि बागमती मन्त्रिपरिषद्बाट बानियाँ पक्षका चारजना मन्त्रीले राजीनामा दिएपछि लामाले आफ्नो पक्षका तीन मन्त्री नियुक्त गरेका थिए, जसमा गोविन्द लम्साल, रिता गुरुङ र माया श्रेष्ठ रहेका थिए । तर, आफूले नियुक्त गरेका मन्त्रीलाई लामाले शपथ गराउन सकेनन् । पछि पार्टी सभापति शेरबहादुर देउवाको निरन्तर दबाबपछि लामा मुख्यमन्त्रीबाट राजीनामा दिन बाध्य भए । यसैले मुख्यमन्त्री छाड्दा लामाले आपूmले नियुक्त गरेका तीनजनालाई बानियाँले मन्त्री बनाउनुपर्ने सर्त राखेका थिए । तर, त्यो सर्त बानियाँले नमानेको लामाको आरोप लगाएका थिए । यससँगै उनले बानियाँलाई सहयोग नगर्ने अडान राखेका थिए । यसका लागि लामासहितका १४ सांसद काठमाडौँ आएर बसेका थिए । तर, काङ्ग्रेस सभापति देउवाको निर्देशनपछि असन्तुष्ट पक्ष मंगलबार हेटौँडा फर्किएको थियो । अनि, संसदीय दलको बैठक बसेर एकमना भएर अघि बढ्ने निर्णयपछि बानियाँलाई सहज बनेको हो । प्रदेश सभामा सबैभन्दा ठुलो दल काङ्ग्रेसको ३७ र साझेदार एमालेका २७ सभासद् छन् । यस्तै, बागमतीमा प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३ (सभामुखसहित), नेकपा (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् ।
विश्वासको मतका लागि भएको मतदानमा सातजना प्रदेश सभा सदस्य तटस्थ रहनुभएको थियो । मुख्यमन्त्रीले राख्नुभएको विश्वासको मतमाथिको प्रस्तावको विपक्षमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले मत दिएका थिए । नेपाल मजदुर किसान पार्टी विश्वासको मतमाथिको मतदानमा तटस्थ बसेको हो । मुख्यमन्त्री बानियाँले साउन २० गते नै एकजना विनाविभागीय मन्त्रीसहित आठजनालाई मन्त्री नियुक्त गर्नुभएको थियो । विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री बानियाँले दलभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रदेश सभामा विश्वासको मत माग्दै उहाँले सहमति र सहकार्यका साथ सरकार सञ्चालन गर्ने बताउनुभएको थियो । समृद्ध बागमती प्रदेशप्रति आपूm प्रतिबद्ध रहेको भन्दै उहाँले भन्नुभयो, ‘जनताको मतको सम्मान गरेर अगाडि बढ्नेछु ।’ सरकारले आगामी दिनमा सुशासनको प्रत्याभूति दिने गरी कार्य गर्ने उहाँले बताउनुभयो । विश्वासको मतमाथिको छलफलमा नेकपा (एमाले)का संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्कट्टेल, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापा, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल र नेपाल मजदुर किसान पार्टी संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले आफ्नो धारणा राख्नुभएको थियो । विश्वासको मतमाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री बानियाँले जनभावनाअनुसारको काम गर्ने बताउनुभयो ।
प्रतिक्रिया