धुन्चे । नेपाल र चीनको नाका रसुवागढीमा अस्थायी बेलिब्रिज निर्माणको काम सुरु भएको छ । रसुवागढीमा गत असार २४ गते तिब्बतको लेन्देखोला हुँदै भोटेकोशी र त्रिशूली नदी मिसिएर आएको बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको मितेरी पुलको स्थानमा चीनतर्फबाट अस्थायी पुल निर्माण सुरु भइरहेको छ ।
चीन सरकारले पहिलो चरणमा आवतजावत र व्यापार पुनः सञ्चालनका लागि पुल निर्माणको थालनी गरेको छ । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाका इन्जिनियर रूपनारायण पौडेलले पक्की पुल निर्माणका लागि पुरानो स्थानबाट दुई मिटर पूर्वतर्फ सारेर ऐतिहासिक रसुवागढीको पुरातात्त्विक संरचना सुरक्षित राख्दै बेलिब्रिज निर्माण सुरु भएको जानकारी दिनुभयो । चीनतर्फ सडक तथा भुइँसतह मिलाउने काम पूरा भइसकेको छ भने नेपालतर्फ स्थान निर्धारण सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बेलिब्रिज यही भदौ ३० गतेभित्र सम्पन्न हुने गरी काम भइरहेको बताउनुभयो । गत असार १४ र २४ गते भोटेकोशीमा आएको बाढीले अवरुद्ध बनाएको स्याफ्रुबेँसी-रसुवागढी सडकको निर्माण तथा मर्मतको काम पनि तीव्र रूपमा भइरहेको छ ।
बाढीले घट्टेखोला, तातोपानी, कल्याङकुलुङ लिङलिङलगायतका १८ स्थानमा सडक कटान गरी क्षति पुर्याएको छ । योजनाका इन्जिनियर पौडेलका अनुसार प्रारम्भिक चरणमा टिमुरेको दुई स्थानमा सडक पुनर्निर्माण सम्पन्न भइसकेको छ भने तातोपानीतर्फ काम भइरहेको छ । सक्दो छिटो सडक मर्मत सम्पन्न गरी सडक दुईतर्फी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया