रसुवाका प्रजिअमा पन्थी

रसुवाका प्रजिअमा पन्थी
सरस्वती न्यौपाने
४ दिन अगाडी

धुन्चे । गृह मन्त्रालयले रसुवाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । यो जिल्लासहित १२ जिल्लाका सिडिओ मन्त्रालयको सचिवस्तरीय निर्णयबाट सरूवा भएका हुन्् । जिल्लामा यसअघि कार्यरत प्रजिअ अर्जुन पौडेललाई गृह मन्त्रालय र मन्त्रालयका उपसचिव राजेश पन्थीलाई रसुवाका प्रजिअमा सरूवा गरिएको हो ।

स्याङ्जा, वालिङ निवासी प्रजिअ पौडेल मङ्गलबार अपराह्न रसुवाबाट रमाना हुनुभएको छ भने पाल्पा निवासी पन्थी बुधबार रसुवा हाजिर हुनुभएको छ । प्रजिअको जिम्मेवारी सम्हाल्नुभएका पन्थीको पहिलो प्राथमिकता स्याफ्रुबेँसी-रसुवागढी सडकमार्ग खुलाई यातायात सञ्चालनमा सहज बनाउने रहेको छ । उहाँले सडकको अवस्था स्थलगत रूपमा निरीक्षण सुरू गरी मर्मत अगाडि बढाइसक्नुभएको छ । लामो समयदेखि सरकारी सेवामा रहनुभएका पन्थीले यसअघि पर्वतका प्रजिअको जिम्मेवारी पूरा गर्नुभइसकेको छ ।

प्रजिअमा काम गरी स्थानीय प्रशासनको लामो अनुभव सम्हालिसक्नुभएका कारण रसुवाबासीको काम छिटोछरितो सम्पादन हुने अपेक्षा नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले गर्नुभएको छ । उहाँले रसुवा हिमाली मात्र नभई अन्तरराष्ट्रिय सिमानामा रहेको जिल्लासमेत भएकाले यहाँका बाटाघाटालगायत व्यापार, सवारी साधन, निर्माणाधीन विद्युत् गृह र बन्दरगाहकासाथै हालै आएको बाढीपहिराले बिगारेका, भत्काएका सडक, पुललगायतको निर्माणमा जिल्लाका प्रमुखको ध्यान जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, दसैँतिहार, ल्छोहार जस्ता ठुला चाडपर्व आउँदै गरेकाले चीनबाट आयात भएका र अब भित्रने तथा नेपालबाट निर्यात हुने व्यापारिक मालसामानको सहज आवतजावतमा सिडिओ साबको चाँडै ध्यान जाने छ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

सरस्वती न्यौपाने