+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तहको संस्थागत क्षमता वृद्धि

नुवाकोटमा माओवादी केन्द्र नेतृत्वको पालिका उत्कृष्ट

शरणउत्सुक सापकोटा
३ महिना अगाडी

विदुर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सात सय ५३ पालिकाको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा गत हप्ता सार्वजनिक गरेको छ । सो नतिजामा अघिल्लो आव २०७९/०८० को भन्दा आव २०८०/०८१ मा देशभरका पालिकाको संस्थागत क्षमता बढेको छ ।

दश भिन्न विषय क्षेत्रलाई मूल्याङ्कनको आधार बनाएर अङ्क दिएको मूल्याङ्कन प्रतिवेदनअनुसारको औसत अङ्कमा अघिल्लो आवको भन्दा संस्थागत क्षमतामा सुधार भएको हो । आर्थिक वर्ष २०७९/०८० को औसत ७२.५८ प्रतिशत रहेकोमा २०८०/०८१ को संस्थागत क्षमता ८१.२२ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । लिजामा मन्त्रालयले शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य तथा समन्वयतर्फ १० वटा क्षेत्रमा एक सय पूर्णाङ्कमा स्थानीय तहको स्वमूल्याङ्कन गर्दै आएको छ ।

लिजाको नतिजाअनुसार अघिल्लो आवको भन्दा गत आवमा नुवाकोटका १२ पालिकाले अङ्क बढाएका छन् । दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट निर्वाचित प्रमुख रहेको पालिका उत्कृष्ट भएको छ । अघिल्लो आवमा पनि ककनी जिल्लाका ११ पालिकालाई पछि पार्दै उत्कृष्ट भएको थियो । गत आवमा पनि अघिल्लो आवको भन्दा ७९.७५ अङ्क पाएर उत्कृष्टतालाई कायम राखेको छ । ककनीमा माओवादीको तर्पmबाट निर्वाचित प्रमुख सुमन तामाङ, उपप्रमुख मिठुमाया तामाङ रहेका छन् । अघिल्लो आवको लिजाको नतिजामा १२ पालिकामध्ये सबैभन्दा कम अङ्क ४९.७५ प्राप्त गरेर तारकेश्वर अन्तिममा रहेको थियो । गत आवमा पनि संस्थागत क्षमता वृद्धि बढाए पनि तारकेश्वर अन्तिम स्थानमै रहेको छ । गत आवमा तारकेश्वरले ५३.७५ अङ्क ल्याएको थियो । सो पालिकामा वि.सं. २०७९ को स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस र माओवादीबिच गठबन्धन भएर नेपाली प्रमुखमा काङ्ग्रेसका शिव अधिकारी र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका हरिप्रसाद रिमाल निर्वाचित हुनुभएको थियो ।

लिजाको नतिजाअनुसार नुवाकोटका दुई नगरपालिका र दश गाउँपालिकामध्ये आर्थिक वर्ष २०७९/०८० मा पनि ककनी पहिलो र तारकेश्वर गाउँपालिका अन्तिम भएको थियो । मन्त्रालयले सार्वजनिक गरेको लिजाको नतिजा गुणस्तर परीक्षणमा जिल्लाका १२ पालिकामध्ये सबैभन्दा बढी ककनीले ७९.७५ प्रतिशत र सबैभन्दा कम तारकेश्वरले ४९.७५ प्रतिशत अङ्क पाएका थिए । त्यसैगरी, किस्पाङले ७३.५०, तादीले ६८, दुप्चेश्वरले ७८, पञ्चकन्याले ६८.७५, विदुरले ६०, बेलकोटगढीले ६५, म्यागङले ५२.२५, लिखुले ६३.२५, शिवपुरीले ६१.२५ र सूर्यगढीले ६६ प्रतिशत अङ्क प्राप्त गरेका छन् । सङ्घीय सरकारले स्थानीय तहलाई दिने अनुदानमा उत्कृष्ट पालिकालाई विशेष प्राथमिकता राख्ने गरेको छ । मन्त्रालयले हरेक वर्ष लिजाको कार्यक्रमअन्तर्गत अनलाइन आवेदन माग गर्ने गरेको छ । जिल्लाका स्थानीय तहको समन्वय र सहकार्य, न्याय सम्पादन, सेवा प्रवाह, सामाजिक समावेशीकरणका सूचकमा कमजोर अङ्क रहेको पाइएको छ ।आर्थिक वर्ष २०८०/०८१ मा ककनीले ९३ प्रतिशत र सबैभन्दा कम तारकेश्वरले ५३.७३ प्रतिशत अङ्क पाएका थिए । त्यसैगरी, किस्पाङले ८६.२५, तादीले ७३.२५, दुप्चेश्वरले ९०.५, पञ्चकन्याले ९१.२५, विदुरले ७६.७५, बेलकोटगढीले ८६.५, म्यागङले ६९.२५, लिखुले ७३, शिवपुरीले ७३.७५ र सूर्यगढीले ७४.२५ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

जिल्लाको सबैभन्दा बढी अङ्क पाउने ककनी, पञ्चकन्या र दुप्चेश्वरमा नेकपा माओवादी केन्द्रको तर्फबाट प्रमुख/उपप्रमुख निर्वाचित छन् । ककनीको प्रमुखमा सुमन तामाङ, उपप्रमुख मिठुमाया तामाङ, पञ्चकन्याको प्रमुखमा तेजबहादुर (रमेश) तामाङ, उपप्रमुखमा विमला केसी, दुप्चेश्वरको प्रमुखमा शंकरबहादुर थापा, उपप्रमुखमा माकुरी तामाङ रहेका छन् । जिल्लाको दुईवटा नगरपालिका विदुर र बेलकोटगढीमा विसं २०७९ को स्थानीय तहको निर्वाचनमा काङ्ग्रेस र माओवादीबिच गठबन्धन भएको थियो । बेलकोटमा माओवादीका जगतबहादुर गुरुङ प्रमुखमा र काङ्ग्रेसको शिव दाहाल उपप्रमुख, विदुरमा नेपाली काङ्ग्रेसका राजनलाल श्रेष्ठ प्रमुखमा, माओवादीका प्रभा बोगटी उपप्रमुख रहेका छन् । अघिल्लो आवमा भन्दा गत आवमा लिजाको अङ्क सुधार गरेका लिखु, सूर्यगढी र म्यागङमा काङ्ग्रेसका प्रमुख/उपप्रमुख रहेका छन् । लिखुमा ध्रुव श्रेष्ठ प्रमुख, सुभद्रा अधिकारी उप्रेती उपप्रमुख, सूर्यगढीमा सन्तबहादुर घले तामाङ प्रमुख, मञ्जु बुढाथोकी उपप्रमुख र म्यागङमा आशा तामाङ प्रमुख, सीता तामाङ उपप्रमुख रहेका छन् । त्यसैगरी, तादीमा काङ्ग्रेसका सन्तमान तामाङ प्रमुखमा, माओवादीका मञ्जु प्याकुरेल श्रेष्ठ उपप्रमुख, शिवपुरीमा काङ्ग्रेसका गोविन्दप्रसाद थपलिया प्रमुख, माओवादीका वीरबहादुर तामाङ उपप्रमुख र किस्पाङमा एमालेका वीरवल तामाङ प्रमुख, माओवादीका अर्जुनप्रसाद न्यौपाने उपप्रमुख रहेका छन् । किस्पाङमा केन्द्रीय नीतिविपरीत २०७९ सालको स्थानीय निर्वाचनमा एमाले र माओवादीबिच स्थानीय तहमा गठबन्धन भएको थियो ।

फरक-फरक दलबाट निर्वाचित धादिङका पालिका देशभरिमै उत्कृष्ट
धादिङबेँसी । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को सार्वजनिक गरिएको आव २०८०/०८१ को नतिजाअनुसार प्रमुख र उपप्रमुख एकै दलबाट निर्वाचित भएकोमा भन्दा फरक-फरक दलबाट निर्वाचित भएका स्थानीय तह अब्बल रहेका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत हप्ता लिजाको सार्वजनिक गरेको प्रतिवेदनमा धादिङको दुई पालिका देशभरिका सात सय ५३ वटा पालिकामध्येमा उत्कृष्ट भएका छन् । देशभरका दुई सय ७६ नगरपालिकामध्ये धादिङको नीलकण्ठ नगरपालिका देशभरिकै उत्कृष्ट भएको छ । नीलकण्ठले ९८.५ अङ्क पाएको छ । त्यसैगरी, देशभरका चार सय ६० गाउँपालिकामध्ये धादिङकै बेनीघाट-रोराङ उत्कृष्ट भएको छ । बेनीघाट-रोराङले ९८.२५ अङ्क पाएको छ । धादिङमा दुई नगरपालिका र ११ गाउँपालिका रहेका छन् । लिजाको नतिजाअनुसार नीलकण्ठ नगरपालिकातर्फ देशभरिका उत्कृष्ट भएको नीलकण्ठको प्रमुखमा काङ्ग्रेसका भीम ढुङ्गाना र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का दीपक विश्वकर्मा रहेका छन् । त्यसैगरी, गाउँपालिकातर्फ देशभरिकै उत्कृष्ट बनेको बेनीघाट-रोराङमा नेकपा (माओवादी केन्द्र)का कृष्णबहादुर थपलिया प्रमुख, नेकपा (एमाले)का टापबहादुर श्रेष्ठ उपप्रमुख रहेका छन् ।

मन्त्रालयले गरेको संस्थागत क्षमता मूल्याङ्कन प्रतिवेदनमा सार्वजनिक गरिएका तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ स्थानीय तहमा चारवटामा काङ्ग्रेसका तर्फबाट निर्वाचित प्रमुख छन् । दुईवटामा माओवादी केन्द्रका तर्फबाट निर्वाचित प्रमुख छन् । नगरप्रमुख र उपप्रमुख एकै दलबाट निर्वाचित भएकोमा भन्दा फरक-फरक दलबाट भएका स्थानीय तहको कामको गुणस्तरमा ‘चेक एन्ड ब्यालेन्स’ हुने गरेको मूल्याङ्कन प्रक्रियामा संलग्न मन्त्रालयका अधिकारीले बताउनुभयो । सर्वोत्कृष्ट भएको चितवनको खैरहनी नगरपालिकामा काङ्ग्रेसका शशिकुमार खनियाँ नगरप्रमुख छन् भने उपप्रमुखमा एमालेबाट कविता उप्रेती छिन् । धादिङ नीलकण्ठ नगरपालिका प्रमुखमा काङ्ग्रेसका भीम ढुङ्गाना र उपप्रमुखमा माओवादी केन्द्रका दीपक विश्वकर्मा छन् । यस्तै, तिलोत्तमा नगरपालिकामा काङ्ग्रेसबाट निर्वाचित रामकृष्ण खाँण प्रमुख र उपप्रमुखमा नेकपा एमालेकी जगेश्वरदेवी चौधरी छन् । गाउँपालिकातर्फ बेनीघाट-रोराङमा माओवादी केन्द्रका कृष्णबहादुर थपलिया प्रमुख र एमालेका टापबहादुर श्रेष्ठ उपप्रमुख छन् । रूरूक्षेत्र गाउँपालिकामा माओवादीका यदु ज्ञवाली प्रमुख र एमालेकी मीनादेवी गौतम उपप्रमुख छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा काङ्ग्रेसका प्रकाश तिवारी प्रमुख छन् । काङ्ग्रेसकै सपना गुरुङ उपप्रमुख निर्वाचित भएका छन् ।

अघिल्लो आवमा उत्तरगया, गत वर्ष नौकुण्ड पहिलो
धुन्चे । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को हालै सार्वजनिक गरिएको आव २०८०/०८१ को नतिजाअनुसार रसुवाको पाँच पालिकामध्ये नौकुण्ड गाउँपालिका पहिलो भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा सहभागी पाँच पालिकामध्ये नौकुण्ड पहिलो, कालिका अन्तिम भएको छ । अघिल्लो आवमा उत्तरगया पहिलो भएको थियो ।

मन्त्रालयले गत हप्ता सार्वजनिक गरेको लिजाको नतिजाअनुसार गत आवमा आमाछोदिङ्मोले ७८, कालिकाले ६८, गोसाइँकुण्डले ७४, नौकुण्डले ८६.५ र उत्तरगयाले ७८.७५ अङ््क प्राप्त गरेका छन् । रसुवाको पाँच पालिकामध्ये गोसाइँकुण्ड र उत्तरगयामा प्रमुख-उपप्रमुख एमालेका छन् भने कालिका र आमाछोदिङ्मोमा काङ्ग्रेसका प्रमुख-उपप्रमुख रहेका छन् । नौकुण्डमा उपप्रमुखमा एमालेका र नौकुण्डको प्रमुख काङ्ग्रेसका रहेका छन् । गोसाइँकुण्डको प्रमुखमा कैसाङनुर्पु तामाङ, उपप्रमुखमा प्रतिमा लामा, कालिकाको प्रमुखमा हरिकृष्ण देवकोटा, उपप्रमुखमा मीरा तामाङ, आमाछोदिङ्मोको प्रमुखमा बुचुङ तामाङ, उपप्रमुखमा चण्डिका तामाङ, उत्तरगयाको प्रमुखमा माधवप्रसाद अर्याल, उपप्रमुखमा चमेली गुरुङ, नौकुण्डको प्रमुखमा नुर्पुसाङ्वो घले, उपप्रमुखमा चन्द्रबहादुर घले छन् ।

प्रत्येक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमार्फत मन्त्रालयले शासकीय प्रबन्ध, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन, सहकार्य र समन्वय गरी जम्मा १० शीर्षकमा प्रत्येक स्थानीय तहले सम्पादन गरेका काम-कारबाही, सेवा प्रवाहका प्रमाणसहितका कागजात अनिवार्य रूपमा अपलोड गर्ने व्यवस्था गरेको छ । चार वर्षदेखि लागू भए पनि तीन वर्षदेखि प्रत्येक स्थानीय तहले कार्यान्वयनमा ल्याएका छन् । स्वमूल्याङ्कनका आधारमा नै सम्बन्धित निकायबाट स्थानीय तहका लागि बजेट विनियोजन गर्ने प्रक्रिया अपनाइएको अर्थ मन्त्रालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । रसुवाका पालिकाले अघिल्लो आवको भन्दा संस्थागत क्षमता वृद्धि गरेका छन् । अघिल्लो आवको नतिजाअनुसार उत्तरगयाले ६७.५० प्रतिशत अङ्क ल्याएर जिल्लाको पहिलो भएको थियो । सोही आवमा आमाछोदिङ्मोले ५७, कालिकाले ६१.२५, गोसाइँकुण्डले ६६..७५ र नौकुण्डले ६७.२५ प्रतिशत अङ्क प्राप्त गरेका थिए । गाउँपालिका, नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्ने आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आर्थिक वर्ष २०८०/०८१ को नतिजाको गुणस्तर परीक्षणको कार्य आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

शरणउत्सुक सापकोटा