+
Search

ताजा अपडेट +

पपुलर +

माथिल्लो तादी खोलाबाट उत्पादित ११ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप

माथिल्लो तादी खोलाबाट उत्पादित ११ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप
त्रिशूली प्रवाह
३ महिना अगाडी

समुन्द्रटार । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकामा निर्माण सम्पन्न भएको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ । परियोजनाले गत साउन १२ गतेदेखि नियमित रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली आपूर्ति गर्दै आएको छ ।

अपि पावरको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले उक्त परियोजना बनाएको हो । आयोजनाले १८ असारमा निर्माण सम्पन्न गरी १५ दिन परीक्षण उत्पादन गरेको थियो । परीक्षण उत्पादन सफल भएपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको हो । परियोजनाको बिजुली समुन्द्रटार सबस्टेसनमा स्विचयार्डमार्फत राष्ट्रिय ग्रिडमा आपूर्ति भएको छ । यो परियोजनाबाट वार्षिक ६१.३१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । कम्पनीले साधारण सेयर (आइपिओ) समेत निष्कासन गर्न प्रक्रिया अघि बढाएको छ । यसको निवेदन अहिले नेपाल धितो पत्र बोर्डमा विचाराधीन छ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी छ । आयोजनाले २०६८ चैत ३ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको थियो । आयोजनाले ऊर्जा मन्त्रालयबाट आवश्यक वातावरणीय प्रारम्भिक अध्ययन २०८१ साल असोज ८ गते स्वीकृत भई विद्युत् विकास विभागबाट २०७२ साल असोज २२ गते उत्पादन इजाजतपत्र प्राप्त गरेको थियो ।

परियोजनाको इन्टेक करिब १५ सय मिटर र पावरहाउस १२ सय ८२ मिटरको उचाइमा रहेको छ । पावरहाउसमा जडान गरिएका दुईवटा पेल्टन टर्बाइन युनिट (प्रत्येक पाँच/पाँच मेगावाट) बाट कुल ११ मेगावाट उत्पादन हुने गरी आयोजना डिजाइन गरिएको छ । डाइभर्सन बाँध र सहायक संरचना एक सय वर्षको पुनरावृत्तिमा हुने बाढीलाई समेत ध्यानमा राखी डिजाइन गरिएको छ । जसको परिमाण दुई सय ४७ घनमिटर प्रतिसेकेन्ड अनुमान गरिएको छ । समुन्द्रटार सबस्टेसनमा स्विचयार्डमार्फत जोडिएको आयोजनाबाट उत्पादित बिजुली ६ किलोमिटर लामो ३३ केभी ट्रान्समिसन लाइनमार्फत राष्ट्रिय ग्रिडमा आपूर्ति हुन थालेको छ । यस प्लान्टबाट वार्षिक ६१.३१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । यसमध्ये ५०.८९३ गिगावाट घण्टा वर्षायाममा र १०.४२५ गिगावाट घण्टा सुक्खा मौसमी अवधिमा उत्पादन हुने बताइएको छ ।

व्यावसायिक उत्पादन सुरू भएसँगै कम्पनीको प्राथमिक सेयर निष्कासन आइपिओको प्रक्रियासमेत अगाडि बढाइएको छ । सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको यो आयोजनाबाट उत्पादन भएको बिजुलीबाट बागमती प्रदेशसहित राष्ट्रिय विद्युत् आपूर्तिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह