+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट र रसुवाका सबै स्थानीय तहमा पूर्ण जिम्मेवारीसहितका अधिकृत

नुवाकोट र रसुवाका सबै स्थानीय तहमा पूर्ण जिम्मेवारीसहितका अधिकृत
त्रिशूली प्रवाह
४ महिना अगाडी

विदुर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्थाको अन्त्य गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत रहँदा सेवा प्रवाह र विकास निर्माणका काममा अपेक्षाकृत सफलता हासिल हुन नसकेको गुनासो आएपछि मन्त्रालयले गत हप्ता एकैपटक एक सय ९१ उपसचिव र शाखा अधिकृतलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएसँगै स्थानीय तहमा अब निमित्त प्रमुख प्रशासकीय अधिकृत रहने प्रवृत्तिको अन्त्य भएको हो ।

मन्त्रालयले नुवाकोटको किस्पाङमा राष्ट्रिय योजना आयोगबाट शाखा अधिकृत सुरेनकुमार श्रेष्ठ, तारकेश्वरमा गृह मन्त्रालयबाट शाखा अधिकृत सन्देश मास्केलाई खटाएसँगै नुवाकोटमा पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत रहने प्रवृत्ति अन्त्य भएको छ । नुवाकोटका १२ पालिकामध्ये तारकेश्वरमा विगत तीन वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत रहँदा आर्थिक अनियमितता र विकास निर्माणका काम लथालिङ्ग हुँदा सेवा प्रवाहसमेत सहज नभएको गुनासो आइरहेको थियो । सो पालिकाले विगत तीन वर्षदेखि मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिने र आफूअनुकूल निमित्त प्रमुख प्रशासकीय अधिकृत राख्ने गरेको थियो । शिक्षा शाखाका प्रमुख सिर्जना अर्याललाई पालिका अध्यक्ष शिव अधिकारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई आफूअनुकूल कार्य गराउँदै आएको आरोप उपाध्यक्षलगायत जनप्रतिनिधिले लगाउने गरेका छन् ।

त्यसैगरी, मन्त्रालयले रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत दयाराम पौडेललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको छ । मन्त्रालयले यही भदौ १२ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था अन्त्य गरेको छ । यसअघि दुई सय १० वटा पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतका भर सञ्चालन हुँदै आएका थिए । मन्त्रालयका अनुसार एक सय २२ जना उपसचिवमध्ये एक सय पाँचजनालाई नगरपालिकामा र ९७ जना शाखा अधिकृतमध्ये ८६ जनालाई गाउँपालिकामा खटाएर स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको अन्त्य गरिएको हो । स्थानीय सरकार सञ्चालन ऐनमा महानगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह