विदुर । नुवाकोट जिल्ला, तादी-२ स्थित चिलाउने आधारभुत विद्यालयबाट घर फर्कने क्रममा चिलाउने खोलामा आएको भलबाढीले बगाउँदा यही भदौ १८ गते एक बालिकाको मृत्यु भएको छ । खोलाले बगाएर अन्य तीन जना विद्यार्थी घाइते भएका छन् ।
विद्यालय छुट्टिपश्चात् अघिल्लो बुधबार अपराह्न ४ बजे घर फर्कने क्रममा चिलाउने खोलाले बगाउँदा बाल कक्षामा अध्ययनरत स्थानीय रामबहादुर तामाङकी अन्दाजी चार वर्षिया छोरी सतिकला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक बिक्रम लामाले जानकारी दिनुभयो । उहाँका अनुसार खोलाको कल्भर्ट पार गर्न हात समाएर चार जना विद्यार्थी तर्ने क्रममा शशीकलालाई खोलाले बगाउँदा घटनास्थलमा नै मृत्यु भएको हो । खोलाले बगाएर उनलाई करिब एकसय मिटर तल पुर्याएको तादी-२ का अध्यक्ष बच्चुराम तामाङले जानकारी दिनुभयो । चार जना खोला तर्ने क्रममा बाढीले बगाएका रामबहादुर तामाङको छोरी अन्दाजी सात वर्षिया सुष्मा तामाङ, पदम तामाङको छोरी अन्दाजी ११ वर्षिया ज्योती तामाङ र पदम तामाङको छोरा अन्दाजी सात वर्षका ज्योतिष तामाङ घाइते भएका छन् । उनीहरूको खरानीटार अस्पतालमा उपचारपश्चात् घर फर्केका छन् ।






प्रतिक्रिया