विदुर । भष्ट्रचार र बेथिती विरूद्ध ‘जेन जी’ युवाहरूको आन्दोलनका नाममा घुसपेठ भई देशैभरी सरकारी सम्पत्ति, व्यक्तिको घर तोडफोड, लुटपाट र आगजनी हुन थालेपछि नेपाली सेना मंगलबार राती १० बजेदेखि नुवाकोटसहित देशैभरी परिचालित भएको छ । सेना परिचालित भएपछि सरकारी सम्पत्ति र व्यक्तिको घर तोडफोड, लुटपाट र आगजनी गर्ने कार्य नियन्त्रणमा आएको छ ।

नुवाकोटमा मंगलबार जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेको अध्यक्षतामा आकस्मिक बैठकपछि मंगलबार रातदेखि नै सेना परिचालित भएको हो । सेनाले जिल्लामा रहेको केन्द्रीय कारागारसहित सरकारी कार्यालय र समवेदनशील क्षेत्रको सुरक्षामा खटिएको छ । मंगलबार जेन जी युवाहरूको विरोध प्रदर्शन दिनभर जसो जिल्लाभरी नै भएको थियो । उक्त प्रदर्शनीमा उत्र्ेका युवासँगै अज्ञात समूहको घुसपेठ भई जिल्ला प्रशासन कार्यालय दिउँसो आगजानी गर्न खोजेका थिए । सुरक्षाकर्मीको सर्तकताले आन्दोलनकारीको समूह प्रशासन कार्यालयबाट नारा लगाउँदै फर्केर विदुरमा रहेको नेपाली कांग्रेस, नेकपा (एमाले) को पार्टी कार्यालय र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नं २ का सांसद् अर्जुन नरसिंह केसीको घरमा तोडफोड र आगजानी गर्दै विरोध प्रदर्शनीमा उत्रे्का थिए । जेन जीको विरोध कार्यक्रम नुवाकोटमा अन्य जिल्लाको दाँजोमा शान्तिपूर्ण रहेको पाइयो ।

सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे (१७ः०० बजे) सम्म निषेधाज्ञा निरन्तर रहने जनाएको छ । अत्यावश्यक सेवा कर्मचारीलाई कार्यालयमा काम गरेर फर्कन सजिलो हुने छ । त्यसैगरी, भदौ २६ गते बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी हुने जनाएको छ । रक्षा मन्त्रालय मातहतको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार जारी गरेको अपिलमा आन्दोलनका क्रममा सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड, आगजनी, लुटपाट, हिंस्रक आक्रमण तथा यौनजन्य हिंस्रक प्रयाससमेत भइरहेका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । यस्ता अपराधजन्य गतिविधि नियन्त्रणका लागि सम्पूर्ण नागरिकसँग सहकार्यका लागि आग्रह गरिएको छ । सेनाले आन्दोलनको क्रममा जनधनको क्षतिप्रति पुनः गहिरो दुःख प्रकट गर्दै यस्तो संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको प्रयासलाई साथ दिन सबैलाई अनुरोध गरेको छ । निषेधाज्ञा तथा कफ्र्यूको समयमा अत्यावश्यक सेवासम्बन्धी सवारी साधन (एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारी साधन) भने सञ्चालन हुने जनाइएको छ ।
आन्दोलनका नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणलाई दण्डनीय अपराधका रूपमा लिई कडा कारबाही गरिने चेतावनीसमेत नेपाली सेनाले दिएको छ । त्यसैगरी, सम्पूर्ण अवकाशप्राप्त सैनिक, राष्ट्रसेवक, सञ्चारकर्मी र आम नागरिकलाई अफवाह वा भ्रामक समाचारमा विश्वास नगरी आधिकारिक सूचनामा मात्र भरोसा गर्न आग्रह गरिएको छ । सेनाले राष्ट्रिय एकता, सामाजिक सद्भाव र जनजीवनलाई सामान्य राख्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै जस्तोसुकै परिस्थितिमा पनि नेपाली जनताको सुरक्षा र मानवीय उद्धारमा आफ्नो दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।






प्रतिक्रिया