काठमाडौँ । नेपाल तयारी पोसाक उद्योग सङ्घको अध्यक्षमा पशुपतिदेव पाण्डे निर्विरोध निर्वाचित भएका छन् । नुवाकोट पञ्चकन्या गाउँपालिका भद्रुटारका पाण्डे प्योर क्लोथिङका सञ्चालक हुनुहुन्छ । उहाँको नेतृत्वमा आगामी दुई वर्षका लागि तयारी पोसाक उद्योग सङ्घको नयाँ कार्यसमिति चयन भएको हो । अघिल्लो शनिबार भएको सङ्घको २८औँ वार्षिक साधारणसभाले उहाँलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समिति सदस्यसमेत रहनुभएका पाण्डे यसअघि पनि सङ्घको अध्यक्ष रहेका हुनुहुन्थ्यो । नेपालबाट ठुलो परिमाणमा अमेरिकालगायतका मुलुकमा तयारी पोसाक निर्यात गर्दै आउनुभएका सफल युवा उद्यमी पाण्डेलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरिएको हो । उहाँ तयारी पोसाकबाहेक हस्पिटालिटीलगायत थुप्रै व्यापार–व्यवसायमा संलग्न हुनुहुन्छ । सङ्घको निवर्तमान अध्यक्षमा चण्डीप्रसाद अर्याल, प्रथम उपाध्यक्षमा वसन्तराज अधिकारी (हिमालयन कटन फेसन एन्ड इन्टरनेसनल प्रालि) र उपाध्यक्षमा भूपेन्द्रकुमार बस्नेत (विद्या एप्परेल्स प्रालि) निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै, महासचिवमा भीमकुमार गिरी (ब्ल्याक फेसन इ. प्रालि), सहसचिवमा थोमनाथ बस्याल (युनाइटेड फेसन निटिङ इ.प्रालि) चयन हुनुभएको छ भने कोषाध्यक्षमा सञ्जयकुमार अग्रवाल (हेरिटेज फेसन) निर्वाचित हुनुभएको छ । साथै, कार्यसमिति सदस्यमा क्रमशः कृष्णप्रसाद पाण्डे (ट्रान्सट्रिप गार्मेन्ट इ. प्रालि), सुरेशमान श्रेष्ठ (जम्फा निटिङ इन्डस्ट्रिज), हिराकाजी मुक्तान (लोगो फेसन इ. प्रालि), सतिश गिरी (अनुजित एपरेल्स), सचिन्द्र प्रधानाङ्ग (हिमालयन निट वेयर) र रमेशकुमार कर्ण निर्वाचित हुनुभएको छ । त्यस्तै, आमन्त्रित सदस्यमा सन्दीप पौडेल चयन हुनुभएको छ ।
प्रतिक्रिया