धुन्चे । बुधबार बिहान रसुवा कारागारबाट तोडफोड गरी फरार ९८ जना कैदीमध्ये ७२ जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई कारागार पठाए भने बाँकी २६ जनाको खोजी कार्य तीव्र बनाइएको छ ।
बिहीबार प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जारी गरेको विज्ञप्तिअनुसार देशका विभिन्न स्थानमा भएको आन्दोलन र सो आन्दोलनको आडमा देशका विभिन्न कारागारमा कैदीबन्दीले सुरक्षा घेरा तोड्ने र फरार हुने गरेपश्चात् रसुवा कारागार कार्यालयमा रहेका कैदीबन्दीले समेत जिल्लास्थित सम्पूर्ण सुरक्षा निकायले स्थिति नियन्त्रणमा ल्याउन यथासम्भव प्रयास गर्दागर्दै नाराबाजी/विरोध गरी तीनवटै सुरक्षा घेरा तोडी ९० पुरुष, सात महिला र एक शिशु गरी ९८ जना कैदीबन्दी कारागारको घेराबार तोडी गएका थिए । उनीहरूलाई तीनवटै सुरक्षा संयन्त्रको पहलमा बुधबार र बिहीबार विभिन्न स्थानबाट ७२ जना फरार कैदीलाई पक्राउ गरिएको छ । कानुनविपरीत फरार भई सुरक्षा नियन्त्रणमा आउन बाँकी कैदीबन्दीलाई सुरक्षाकर्मीले खोजतलास गरिरहेको छ । फरार कैदीबन्दीलाई सहज रूपमा नियन्त्रणमा आउन आग्रह गरिएको छ । साथै, स्थानीयवासीले आफ्नो दैनिक उपभोग्य खाद्य एवम् औषधिजन्य सामग्री खरिद-बिक्रीका लागि बेलुकी पाँचदेखि सात बजेसम्म आवश्यक सतर्कता अपनाई सीमित सङ्ख्यामा निश्चित कार्यका लागि मात्रै आवतजावत गर्न अनुरोध गरिएको छ ।
नेपाली सेना श्रीनाथ गण धुन्चेका अनुसार बारम्बार सुरक्षाकर्मीले कैदीलाई शान्त पार्ने प्रयास गर्दागर्दै उनीहरूले सामूहिक रूपमा हडताल र तोडफोड गर्न थालेपछि परिस्थिति नियन्त्रण गर्न हवाई फाइरिङ गर्नुपर्ने परिस्थिति थियो । उक्त परिस्थितिमा नियन्त्रण गर्न हवाई फाइरिङ गर्दा कारागारनजिकै बसोबास गर्ने स्थानीय र कैदीसमेतको जिउज्यानको खतरा हुने भएकाले नगरिएको बताइएको छ । थप फरार २६ जना कैदीको व्यापक खोजी भइरहेको सेनाले जनाएको छ । सेनाले नागरिकलाई कुनै पनि नौलो नयाँ व्यक्तिद्वारा आपराधिक गतिविधि गरिएको देखापरेमा तुरुन्तै ९७६७२३०२८३/०१०-५४०२७० मा फोन गर्न आग्रह गर्दै शान्ति, सुरक्षा र सहकार्यका लागि सबै नागरिकलाई आग्रह गरिएको छ ।
प्रतिक्रिया