बागमती प्रदेशका सभामुखद्वारा राजीनामा

बागमती प्रदेशका सभामुखद्वारा राजीनामा
त्रिशूली प्रवाह
२ हप्ता अगाडी

हेटौँडा । जेन-जीको आन्दोलनपछि विकसित पछिल्लो घटनाक्रमका कारण बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सभामुख पदबाट राजीनामा दिनुभएको छ । उहाँले बागमती प्रदेश सभामुखको सचिवालयको सामाजिक सञ्जाल फेसबुक पेजमा गत भदौ २५ गते राजीनामा दिएको पोस्ट गर्नुभएको छ । उहाँले हिजो बुधबार उपसभामुख अप्सरा चापागाईंसमक्ष औपचारिक रूपमा राजीनामा-पत्र पेस गर्नुभएको छ ।

जन्मथलो नुवाकोट जिल्ला, लिखु गाउँपालिका, थानसिंह हाल ज्ञानेश्वर, काठमाडौँ स्थायी बसोबास रहेका सभामुख पाठकले परिवर्तनका लागि युवाले गरेको आन्दोलनका क्रममा देशमा ठुलो जनधनको क्षति भएपछि पदमा बस्ने अवस्था नरहेकाले राजीनामा दिइएको बताउनुभएको छ । प्रदेशका संरचना ध्वस्त भएका र काम गर्न सक्ने अवस्था नभएकाले पदबाट राजीनामा दिइएको फेसबुकमा उल्लेख छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यले सामूहिक राजीनामा दिँदै प्रदेश सभाबाट बाहिरिने निर्णय गरेसँगै सभामुख पाठकले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो । उहाँ राजा ज्ञानेन्द्र शाहका पालामा शिक्षा तथा युवा सहायकमन्त्री पनि हुनुहुन्थ्यो । उहाँले गह्रौँ, तर दृढ मनले बागमती प्रदेश सभाको सभामुखका पदबाट राजीनामा दिने निर्णय गरिएको उल्लेख गर्नुभएको छ । सभामुखले उपसभामुखसमक्ष पदबाट राजीनामा दिने कानुनी व्यवस्था छ । एक सय १० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा सभामुख पाठकसहित राप्रपाका १३ सदस्य छन् ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह