ढुङ्गे । नुवाकोट जिल्लाको सदरमुकामसँगै रहेको ढुङ्गेमा दुई सय २७ वर्ष पुरानो महादेवको मन्दिर छ भन्ने नुवाकोटवासी कमैलाई थाहा होला । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाको विदुर-ढुङ्गे खण्डमा पर्ने सो मन्दिर संरक्षण र प्रचारप्रसारको पर्खाइमा छ ।
जिल्लाको सदरमुकाम विदुरबाट त्रिशूली बजार जाँदा बाटामा श्यामलालेश्वर मन्दिर पर्छ । इँटा प्रयोग गरी बनाइएको घन्टाकार शैलीको सो मन्दिरमा पिपलको रुख उम्रेको छ । मन्दिर समय-समयमा मर्मतसम्भार नहुँदा अहिले पिपलको बोटले मन्दिरको माथिल्लो र उत्तरपट्टिको भागलाई छोपिसकेको देखिन्छ । त्यहाँ राखिएको ढुङ्गाको गजुरचाहिँँ देख्न सकिन्छ । मन्दिरका चारै दिशामा ढोकाहरू बनाइएका भए पनि दक्षिणपट्टिको ढोकालाई प्रवेशद्वारका रूपमा प्रयोग गरिएको छ । उक्त प्रवेशद्वारको माथि ढुङ्गाको तोरण राखिएको छ । तोरणका बिचमा शिवलिङ्ग राखी दायाँबायाँ फुल बुट्टा बनाइएका छन् । गर्भगृहभित्र चतुर्मुखी शिवलिङ्ग स्थापना गरिएको छ । मन्दिरको दक्षिण-पश्चिम भित्तामा सूर्य, उत्तर-पश्चिम भित्तामा दुर्गा, उत्तर-पूर्व भित्तामा भैरवको मुखाकृति र दक्षिण-पूर्वपट्टि भित्तामा गणेश स्थापना गरिएका छन् । मन्दिर पाञ्चायन पद्धतिमा बनाइएको हुन सक्ने अहिलेको अवस्थाले अनुमान गर्न सकिन्छ । मन्दिरका कुनामा राखिएका सूर्य, दुर्गा र गणेशका मूर्ति पहिले गर्भगृहभित्रै राखिएका हुन सक्ने मन्दिरको रेखदेख गरिरहेका स्थानीय पुरोहित रामप्रसाद अधिकारीले बताउनुभयो ।
मन्दिर श.सं. १७२० (सन् १७९८) चैत्र कृष्ण ४ मा श्यामलाल सापकोटाले श्रीमती चन्द्रप्रभासँग मिलेर बनाएको विश्व हिन्दु महासङ्घ नुवाकोटका अध्यक्ष सोमप्रसाद पाण्डेले बताउनुभयो । पृथ्वीनारायण शाहको एकीकरण अभियानमा खजान्चीको समेत पद प्राप्त गरेका सापकोटादम्पतीले व्रत बसी पशुपतिनाथको स्वरूपमा शिवलिङ्ग स्थापना गरी मन्दिर बनाएको उहाँको जिकिर छ । त्यसवेला ३० मुरी धान बाली आउने खेत पनि गुठी राखिएको बताइएको छ । सापकोटाका बारेमा स्पष्ट जानकारी भने इतिहासमा पाइएको छैन । स्थानीयवासीका अनुसार उनी राजदरबारमा आर्थिक कारोबार हेर्ने शक्तिशाली व्यक्ति थिए (सापकोटा थरका स्थानीय बासिन्दा, पुरुष, उमेर ७२) । राजा गीर्वाणयुद्धविक्रम शाहको काठमाडौँ तलेजुको श.सं. १७२१ (सन् १७९९) को ताम्रपत्रमा कोषाध्यक्ष (खजान्ची) का रूपमा श्यामलाल उपाध्याय सापकोटाको नाम कुँदिएको छ (जी. बज्राचार्य भिएस २०३३, पिपि २६६-२६७) । मन्दिर बनाउने सापकोटा र काठमाडौँ तलेजुको ताम्रपत्रमा उल्लेख गरिएका खजान्ची उपाध्याय एउटै व्यक्ति हुन सक्छन् ।
श्यामलालले निर्माण गरेको मन्दिरमा पहिले ब्राह्मण पुजारी नियुक्त गरिएको थियो । पछि मन्दिरको गुठी जग्गा मासिएपछि पुजारीले पनि नित्यपूजा गर्न छोडे । विगत ४० वर्षदेखि स्थानीयवासी अधिकारीले मन्दिरको रेखदेख गर्दै आउनुभएको छ । धादिङ जिल्ला, खनियाँबासका श्यामलाल नेपाल एकीकरणका क्रममा राजा पृथ्वीनारायणका खजान्ची भई नुवाकोट हमला गर्न आएको गोरखाली सेनाले नुवाकोट विजय गरेपछि मन्दिर बनाएर सँगै चौतारो बनाएको बुढापाकाले भन्दै आएको हाल मन्दिर रेखदेख गरिरहनुभएका अधिकारीले बताउनुभयो । अहिले पनि विदुरका डिलमा खजान्ची चौतारो छ । उहाँका अनुसार मन्दिरका नाममा वि.सं. २०३६ अघिसम्म परिसरसँगै १० रोपनी जग्गा थियो । वि.सं. २०३६ मा भएको नयाँ नापीमा मन्दिरको उक्त जग्गा स्थानीय टाठाबाठाले आफ्ना नाममा नपाएको र बाँकी जग्गा पशु कार्यालयका नाममा नापी गरिदिएको बुढापाकाबाट आफूले सुनेको अधिकारीले बताउनुभयो ।
शिवालयमा प्रत्येक वर्ष शिवरात्रिमा रुद्री पाठ गराई धुनी जगाइन्छ र टोलभरि प्रसाद वितरण गरिन्छ । स्थानीयवासीले चन्दा उठाएर उक्त गतिविधि चलाइरहेका छन् । प्रत्येक वर्ष अक्षय तृतीयाका दिनमा टोलमा साखःति (सर्बत र जौको सातु मिश्रित प्रसाद) वितरण गरिन्छ । पहिले सापकोटाका सन्ततिले साखःति वितरण गर्न आर्थिक सहयोग दिने गर्थे । विगत केही वर्षदेखि उनीहरूले आर्थिक सहयोग दिन बन्द गरेपछि स्थानीयवासी आफैँले चन्दा उठाएर साखःति वितरण गरिरहेका छन् ।धार्मिक, सामाजिक, सांस्कृतिक, भौगोलिक विविधताले पूर्ण विदुर नगर क्षेत्रमा झन्डै डेढ दर्जन मठमन्दिर, धार्मिकस्थल रहेकाले स्थानीयवासीसँग सहकार्य गरी खोजी र संरक्षणमा आफूहरू लागिरहेको स्मारक, संरक्षण तथा दरबार हेरचाह कार्यालय नुवाकोटका प्रमुख सुनील पाण्डेले बताउनुभयो । ‘श्यामलालेश्वर महादेव मन्दिरलगायत एक दर्जनभन्दा बढी धार्मिक स्थलको खोज र अनुसन्धान गर्न कार्यालयले पुरातत्त्व विभागलाई पत्रसमेत लेखिएको छ,’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया