जेन–जेड आन्दोलनले राज्यलाई पुगेको क्षति

जेन–जेड आन्दोलनले राज्यलाई पुगेको क्षति
राजनप्रसाद प्याकुरेल
२ हप्ता अगाडी

वि.सं. २०८२ भदौ २३ र २४ गते नेपालमा भएको जेन–जेड आन्दोलन युवापुस्ता (१३ देखि २८ वर्ष उमेर समूह) द्वारा नेतृत्व गरिएको ठुलो प्रदर्शन थियो । यो आन्दोलनले देशको राजनीतिक र आर्थिक प्रणालीमा गहिरो असन्तुष्टि व्यक्त गरिरहेको प्रस्ट देखिन्थ्यो । यस लेखमा पङ्क्तिकारले आफूलाई लागेको यस जेन–जेड आन्दोलनका मुख्य कारण, घटनाक्रम र राज्यलाई पुगेको क्षतिबारे विश्लेषण गर्ने कोसिस गरेको छ । यो लेखमा भएका तथ्य विभिन्न अन्तर्राष्ट्रिय र नेपाली अनलाइन स्रोतबाट सङ्कलित गरिएको हो ।

१. आन्दोलन किन थियो (कारण) : जेन–जेड आन्दोलनको मुख्य ट्रिगर सामाजिक सञ्जालमा प्रतिबन्ध थियो, तर यसको जरा गहिरो राजनीतिक, आर्थिक र सामाजिक असन्तुष्टिमा थियो । नेपालको जनसङ्ख्याको अधिक हिस्सा रहेको युवा वर्ग जेन–जेडले सामाजिक सञ्जालको सबैभन्दा बढी प्रयोग गर्ने भएकाले यो मुद्दा उनीहरूका लागि विशेष महत्त्वपूर्ण थियो ।

मुख्य कारण निम्न छन् :

सामाजिक सञ्जाल प्रतिबन्ध : भदौ १९ गतेदेखि लागू हुने गरी नेपाल सरकारले २६ वटा सामाजिक सञ्जाल प्लाटफर्म (जस्तै फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर), युट्युब, ह्वाट्सएप, लिंक्डइन, रेडिट, सिग्नल र स्न्यापच्याट आदि)लाई बन्द गर्ने आदेश दियो । तत्कालीन सरकारले यो कदम सूचना तथा सञ्चार मन्त्रालयको नयाँ नियमअन्तर्गत नेपालमा सञ्चालित सामाजिक सञ्जाल दर्ता नगरेको भन्दै लिइएको बताइएको छ । सरकारले यसलाई ‘फेक खाता, साइबर अपराध र सामाजिक असहमति रोक्न’ गरिएको भनेको छ, तर युवाले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण गरेको भनी सरकारले नै आन्दोलनमा जान बाध्य पारेको भनेको छ । नेपालमा सन् २०२५ को सुरुतिर करिब १४.३ मिलियन सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्ता रहेको देखिन्छ, जसले युवाको शिक्षा, व्यवसाय र मनोरञ्जनलाई प्रभावित भएको आरोप उनीहरूको रहेको छ ।

भ्रष्टाचार र नेपोटिजम (नेपो किड्स ट्रेन्ड) : ‘नेपो किड्स’ शब्द ’नेपोटिजम’बाट निस्किएको हो, जसको अर्थ परिवारजनको प्रभाव वा सम्पर्कबाट अवसर प्राप्त गर्ने भन्ने बुझिन्छ । नेपालको सन्दर्भमा, यो राजनीतिक नेताहरू र उच्च पदाधिकारीका सन्तानलाई जनाउँछ, जसले भ्रष्टाचारको पैसाले विलासी जीवन जिउँछन् भन्ने आरोप लाग्छ । टिकटक, इन्स्टाग्राम, रेडिट र एक्स (ट्विटर)मा नेपालीको गरिबी, बेरोजगारी र दैनिक सङ्घर्षका तस्बिरसँग जोडेर देखाउँदै राजनीतिक नेताहरूका छोराछोरीको विलासितापूर्ण जीवनशैलीमाथि आक्रोश व्यक्त गर्दै भ्रष्टाचार र असमानताविरुद्धको व्यापक असन्तुष्टिलाई उजागर गर्न नेपोकिड्स, नेपोबेबिज, राजनीतिज्ञ नेपोबेबी नेपालजस्ता ह्यासट्याग भाइरल भएको एक ट्रेन्ड (ह्यासट्याग अभियान) थियो यो । यस्तो आन्दोलन मुख्य रूपमा भदौ २३ र २४ गतेमा भएको जेन–जेड युवा आन्दोलनको एक प्रमुख हिस्सा वा ट्रिगरका रूपमा रह्यो । यो ट्रेन्डले सामाजिक सञ्जाल प्रतिबन्धको विरोधसँग जोडिएर ठुलो सडक प्रदर्शनमा परिणत गर्न सफल भयो, जसले देशको राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा, संसद् विघटन तथा सत्ता परिवर्तनसम्म पु¥यायो ।

आन्दोलनकारीका अनुसार आन्दोलनको मूल जरा राजनीतिक नेताहरू र उनका परिवारको भ्रष्टाचार र धन प्रदर्शनजस्ता कारणले गर्दा हो भन्ने बुझाइ देखिन्छ । औसत नेपालीको वार्षिक आय एक हजार चार सय डलर हुँदा सत्ताधारीका ‘नेपो किड्स’ले सोसल मिडियामा विलासी जीवनशैली, लग्जरी यात्रा र अकुत धन प्रदर्शन गरेको तस्बिर सार्वजनिक गर्दै गरिएको यो ट्रेन्डले युवामा आक्रोश बढायो, युवाले यसलाई राजनीतिक एलिटको भ्रष्टाचार र सार्वजनिक कोषको दुरुपयोगको प्रमाण ठाने र यही ट्रेन्डले पनि आन्दोलनलाई प्रश्रय दियो ।

आर्थिक असन्तुष्टि र बेरोजगारी : नेपालमा युवा बेरोजगारी दर २०.८ प्रतिशत (गत आवको तथ्याङ्कअनुसार) रहेको छ । देशभित्र रोजगारीको न्यून सम्भावनाले धेरै युवालाई विदेश पलायन हुन बाध्य बनाएको छ । गत आव २०८१÷०८२ मा मात्र आठ लाख ३९ हजार दुई सय ६६ जनाले श्रम तथा रोजगार मन्त्रालयबाट श्रम स्वीकृति लिएको तथ्याङ्कले देखाउँछ । जसले दैनिक हजारौँ युवा श्रमका खोजीमा विदेश गइरहेको देखिन्छ । रेमिट्यान्सले अर्थतन्त्रको २६ प्रतिशत योगदान दिन्छ, तर युवाले सम्मानजनक रोजगारीको अभाव र विकास मोडेलको असफलताले युवामा व्यापक निराशा पैदा ग¥यो । गणतन्त्र संस्थागत भएको वर्षौँ वर्षसम्म पनि सुधार नभएको भन्दै उनीहरूले पारदर्शिता, जवाफदेहिता र राम्रो शासनको माग गर्दै सामाजिक सञ्जालमा व्यापक जनमत बटुले र अन्ततः आन्दोलनले व्यापकता पाएको देखिन्छ । यो आन्दोलनलाई बंगलादेश र श्रीलंकाका युवा आन्दोलनसँग तुलना गरिएको छ ।

२. के भयो (घटनाक्रम र परिणाम) : आयोजकले भनेअनुसार आन्दोलन सुरुमा शान्तिपूर्ण हुने गरी सुरु भएको देखिन्छ । शान्तिपूर्ण रूपमा सुरु भए पनि अपराह्नपश्चात् आन्दोलन हिंसामा परिणत हुन पुग्यो ।

मुख्य घटनाक्रम निम्न छन् : सुरुवात (भदौ १९ देखि २२ सम्म) : सामाजिक सञ्जाल प्रतिबन्धपछि युवाले अनलाइन क्याम्पेन गरेको देखिन्छ । सोही अनलाइन क्याम्पेनबाट युवा एकजुट भई भदौ २३ मा काठमाडौँ र अन्य सहरमा हजारौँ युवा सडकमा उत्रिएको देखिन्छ । उनीहरूले आन्दोलनमा ‘जेन–जेड’को लोगो र नेपालको झन्डा प्रयोग गरेको देखिन्छ । प्रदर्शनकारीले संसद् भवनमा प्रवेश गर्ने प्रयासपश्चात् आन्दोलन थप हिंसात्मक हुन सुरु भएको देखिन्छ । हिंसाको वृद्धि प्रहरीले टियरग्यास, पानीको फोहोरा, रबर बुलेट र लाइभ गोली प्रयोग गरेबाट हुन पुग्यो । प्रदर्शनकारीले संसद् भवन, नेपाली काङ्ग्रेसको मुख्यालय, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घर र राष्ट्रपतिको कार्यालय (शीतल निवास)लगायत सयौँ प्रशासनिक भवन, दरबार, राजनीतिक व्यक्तित्वका घरमा तोडफोड र आगजनी गरे । विमानस्थल २४ घण्टाका लागि बन्द भयो । सेना परिचालन भयो र कफ्र्यु लाग्यो । केही प्रदर्शनकारीले प्रदर्शनमा घुसपैठ भयो भन्दै हिंसा भड्कनु र तोडफोड र आगजनीमा घुसपैठलाई दोष दिए ।

परिणाम : प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । जेन–जेड नेताहरूले समर्थन पाएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम मन्त्री मण्डलको प्रधानमन्त्री बनिन् । देशमा शान्ति सुव्यवस्था कायम गर्न सेनाको भूमिका बढ्यो । सामाजिक सञ्जाल प्रतिबन्ध हटाइयो । संसद् विघटन भयो र ६ महिनाभित्र नयाँ चुनावको हुने भयो । अन्तर्राष्ट्रिय रूपमा राष्ट्रसङ्घ, मानव अधिकार संस्था र विभिन्न देशका दूतावासले पारदर्शी छानबिनको माग गरे । पूर्वराजा ज्ञानेन्द्रले समेत शान्तिको अपिल गरे । यो आन्दोलनलाई नेपालको आधुनिक इतिहासको सबैभन्दा व्यापक र अत्यन्त छोटो समयमा सत्ता परिवर्तन गर्न सफल आन्दोलन भनिएको छ ।

३. कति क्षति पुग्यो राज्यलाई (क्षति र प्रभाव) : आन्दोलनले ठुलो मानवीय र भौतिक क्षति पु¥यायो । यो नेपालको आधुनिक इतिहासमा सबैभन्दा घातक सामाजिक अशान्ति भड्कोको आन्दोलनका रूपमा यो आन्दोलनलाई चिनिन्छ ।

मानवीय क्षति :

मृत्यु : करिब ५० जनाभन्दा धेरैको (विभिन्न स्रोतअनुसार; प्रहरीले ५१ जनाको पुष्टि गरेको छ) मृत्यु भयो । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार जलनबाट गम्भीर घाइते भइन् । घाइते चार सयभन्दा बढी मानिस घाइते भए । सिभिल हस्पिटलमा मात्र दुई सयभन्दा बढी भर्ना भए । प्रहरीले घातक बल प्रयोग गरेकोमा चौतर्फी आलोचना भयो ।

भौतिक र आर्थिक क्षति : प्रमुख प्रशासनिक भवन सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, नेपाली काङ्ग्रेस मुख्यालय, गृह मन्त्रालय, प्रहरी चौकी, राष्ट्रपतिको कार्यालय (शीतलनिवास) र अन्य सरकारी तथा व्यवसायीको सम्पत्तिमा आगो, तोडफोड र लुटपाटका घटना अत्यन्तै धेरै देखियो । तोडफोड र आगजनीबाट सयौँ भवन संरचना जलेर खरानी भए । कारागारमा भौतिक संरचनामा सामान्य क्षति पुगे पनि दर्जनौँ कारागारबाट करिब १३ हजारभन्दा धेरै कैदीबन्दी जेल तोडेर भाग्न सफल भए । जेलबाट भाग्ने क्रममा पनि केही कैदी प्रहरीसँगको मुडभेडमा ज्यान गुमाउन पुगे । व्यवसायीका अनुसार भाटभटेनी, सुपरमार्केट आदिमा लुटपाट, तोडफोड र आगजनीबाट दशौँ अर्ब रुपैयाँको क्षति पुगेको अनुमान छ । बैंकमा लुटपाट, एटिएम तोडफोड, सिसा फुटाइयो, विमानस्थल बन्द हुँदा सयौँ उडान प्रभावित भयो ।

आर्थिक प्रभाव : निषेधाज्ञा, कफ्र्यु र हिंसाले व्यापार व्यवसाय ठप्प, पर्यटन र रेमिट्यान्स प्रभावित हुन पुग्यो । पुनर्निर्माणका लागि दाता सम्मेलनको आवश्यकता महसुस हुँदै छ । सरकारी निकायका अनुसार सरकारी ढुकुटी सुरक्षित छ, कर्मचारीको तलबभत्ता नियमित हुनेछ, तर कुल क्षतिको आकलन गर्ने काम भने जारी नै रहेको छ । यो घटनाबाट नेपाल मात्र नभई क्षेत्रीय र विश्वव्यापी रूपमा धेरै पाठ सिक्न सकिन्छ । खासगरी नेपालले यस घटनाबाट सरकारको कुनै पनि कुराको प्रतिबन्धले आममानिसमा आक्रोश बढाउँछ, रेमिट्यान्स निर्भरता छोडेर देशमा रोजगारीकेन्द्रित मोडेल अपनाउनु आवश्यक भएको, पारदर्शिता, प्रहरी सुधार र युवा सहभागिता आदि जस्ता विषयमा पाठ सिकाएको छ । यो आन्दोलनले नेपालको राजनीतिमा ‘युवा क्रान्ति’ को सम्भावना देखाएको छ, तर हिंसाबाट बच्न र देशले दीर्घकालीन सुधारमा भने जोड दिनुपर्छ ।

विदुर-१०, नुवाकोट

 

प्रतिक्रिया

लेखकको बारेमा

राजनप्रसाद प्याकुरेल