+
Search

ताजा अपडेट +

पपुलर +

सोह्रश्राद्ध : पूर्वजप्रतिको श्रद्धा र संस्कृतिको निरन्तरता

सोह्रश्राद्ध : पूर्वजप्रतिको श्रद्धा र संस्कृतिको निरन्तरता
रमेशकुमार बोहोरा
५ महिना अगाडी

सोह्रश्राद्ध वा पितृपक्ष हिन्दुधर्म संस्कृतिमा एक अत्यन्तै महत्त्वपूर्ण संस्कार हो । यसलाई केवल धार्मिक परम्परा मात्र नभई आस्था, श्रद्धा र कर्तव्यबोधसँग जोडिएको जीवनशैलीका रूपमा पनि बुझिन्छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृपक्ष गत भदौ २३ गतेदेखि सुरु भएको थियो । यो संस्कारमा दिवंगत पितृको सम्झनामा श्राद्ध, तर्पण, दान र पिण्डदानजस्ता धार्मिक कर्म गरिन्छन् । यसै अवधिलाई पितृपक्ष भनिन्छ । जसलाई ‘महालय’ वा ‘सोह्रश्राद्ध’ नामले पनि चिनिन्छ । हिन्दु मान्यताअनुसार पितृपक्षमा गरिएका श्रद्धा र कर्मले दिवंगत आत्मालाई शान्ति, तृप्ति र मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास छ । परिवार र वंशजले पुण्य कमाउने, घरमा सुख–समृद्धि आउने र जीवनमा शान्ति कायम हुने धार्मिक धारणा पाइन्छ ।

शास्त्रीय व्याख्याअनुसार श्राद्ध भन्नाले श्रद्धापूर्वक गरिएको धार्मिक कर्मलाई जनाउँछ । संस्कृत श्लोक ‘श्रद्धया यत् क्रियते तत् श्राद्ध’ अर्थात् श्रद्धासाथ गरिएको कर्म नै श्राद्ध हो भन्ने कुरा यस परम्पराको मूल आधार हो । यसको अर्थ पितृको सम्झनामा गरिएको हरेक कर्मको जड श्रद्धा नै हो । तसर्थ सोह्रश्राद्धमा वंशजले दिवंगत पितृलाई सम्झने उनीहरूको योगदान र अस्तित्वप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पाउँछन् । यसरी हेर्दा यो संस्कार जीवन र मृत्युबिचको सम्बन्ध बुझाउने गहिरो आध्यात्मिक अभ्यास पनि हो । श्राद्ध कर्ममा विभिन्न विधि अवलम्बन गरिन्छन् । विशेषतः चामल, तिल, कुश, दुध र जल प्रयोग गरी तर्पण गरिन्छ । दिवंगत पितृको नाममा पिण्डदान गरिन्छ जुन आत्माको तृप्तिको प्रतीक मानिन्छ । यसैगरी ब्राह्मणलाई भोजन गराइन्छ र दान दिइन्छ । यो परम्परा केवल धार्मिक विश्वासमा मात्र नभई सामाजिक दृष्टिले पनि गहिरो छ किनभने यसले दानशीलता, परोपकार र सामूहिक सद्भाव बढाउँछ । पितृपक्षमा गरिएका दान र पुण्यकर्मले नकारात्मक ऊर्जा हटाउने घर–परिवारलाई विपत्बाट जोगाउने र सकारात्मक फल दिने विश्वास गरिन्छ ।

सोह्रश्राद्धलाई समाजशास्त्रीय दृष्टिबाट पनि महत्त्वपूर्ण मानिन्छ । यो केवल व्यक्तिगत धार्मिक अनुष्ठान नभई सामूहिक परिवारिक संस्कार हो । यस समयमा परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर दिवंगत पितृको सम्झना गर्छन् । पुराना पुस्ताले नयाँ पुस्तालाई आफ्नो संस्कार, परम्परा र वंशको महत्त्व सम्झाउँछन् । यसरी यसले परिवारमा एकता, भावनात्मक नजिकता र संस्कृतिको संरक्षण गर्ने कार्य गर्दछ । वास्तवमा यो संस्कारले वंश निरन्तरता र सामूहिक जिम्मेवारीबोधलाई मजबुत बनाउँछ । आध्यात्मिक दृष्टिले पितृपक्ष जीवन र मृत्युको गहिरो सत्यलाई सम्झाउने अवसर पनि हो । मानिसलाई मृत्यु अन्त्य होइन, अर्को अस्तित्वको सुरुवात हो भन्ने धारणा यसले प्रस्ट पार्छ । जीवित व्यक्तिलाई आफ्ना कर्म, श्रद्धा र कर्तव्यप्रति सजग गराउँछ । पूर्वजप्रतिको कृतज्ञता व्यक्त गर्नु भनेको वर्तमान जीवनलाई नै धर्म, आस्था र नैतिकताको बाटोमा अघि बढाउने प्रेरणा हो । त्यसैले पितृपक्षमा गरिने हरेक विधि केवल आत्मा सन्तुष्ट पार्ने कर्म नभई जीवितलाई पनि जीवन दर्शन सिकाउने माध्यम हो ।

यस संस्कारलाई सांस्कृतिक दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । पुस्तौँदेखि चलिआएको परम्परा निरन्तरता पाउँदै आएको छ, जसले नेपाली समाजको सांस्कृतिक पहिचानलाई मजबुत बनाएको छ । आधुनिकतासँगै धेरै संस्कार बिस्तारै हराउँदै गएको देखिए पनि पितृपक्ष अझै पनि हिन्दु समाजमा उस्तै श्रद्धा र भव्यताका साथ मनाइन्छ । यसले परम्परागत मूल्य, सामाजिक एकता र पारिवारिक सम्बन्धलाई जीवित राख्ने महत्त्वपूर्ण भूमिका खेलेको छ । यसरी हेर्दा सोह्रश्राद्ध वा पितृपक्ष केवल धार्मिक कर्म मात्र होइन पूर्वजप्रतिको श्रद्धा, परिवारप्रतिको आस्था, सामाजिक एकताको आधार र सांस्कृतिक निरन्तरताको प्रतीक हो । यो परम्पराले वर्तमानलाई अतीतसँग जोड्छ मृत्युपछि पनि आत्माको अस्तित्व रहने विश्वासलाई बल दिन्छ र जीवनलाई कर्तव्य, श्रद्धा र नैतिकताका मार्गमा अघि बढ्न प्रेरित गर्दछ । पितृपक्ष मनाउनु भनेको दिवंगत आत्मालाई सम्झनु मात्र होइन आफ्नो जीवनलाई पनि धार्मिक, नैतिक र सांस्कृतिक दृष्टिले समृद्ध बनाउनु हो ।

(लेखक : बोहोरा अर्थसवाल साप्ताहिकका सम्पादक हुनुहुन्छ ।)

 

 

प्रतिक्रिया

लेखकको बारेमा

रमेशकुमार बोहोरा