मानिसको जीवनमा केही यात्रा यस्ता हुन्छन्, जसले केवल नयाँ ठाउँको परिचय मात्र गराउँदैनन्, जीवनलाई नयाँ दृष्टिकोण पनि दिन्छन् । हिमालको काखमा अवस्थित लाङ्टाङ उपत्यकाको यात्रा गर्ने अवसर अघिल्लो महिना मिलेको थियो । नेपालको तेस्रो पर्यटकीय स्थल लाङ्टाङको ६ दिने यात्रा गर्दा अविस्मरणीय अनुभव बटुल्न पाएँ । प्राकृतिक सौन्दर्य, चुनौतीपूर्ण पदयात्रा, हिमाली संस्कृतिसँगको साक्षात्कार र खेल पर्यटनको उत्साहले भरिएको यो यात्रा मेरो स्मृतिमा ताजै छ ।

यात्राको सुरुवात एक सामान्य भेटघाटबाट भएको थियो । काठमाडौँको नयाँ बानेश्वरमा फोटो पत्रकार भरतबन्धु थापासँग चिया पिउँदै गफ गरिरहेका वेला उहाँले अचानक सोध्नुभयो, ‘लाङ्टाङ जान्छौ ?’ मैले पनि कुनै हिचकिचाहट नगरी हुन्छ भनेँ । केही समयपछि पर्यटन व्यवसायी गगनराज न्यौपानेको फोन आयो । उहाँ दोस्रो लाङ्टाङ ट्रेल रनका आयोजकसमेत हुनुहुन्छ । उहाँले मिडिया टोलीसँग लाङ्टाङ जाने प्रस्ताव गर्नुभयो । यसरी मेरो लामो समयदेखि मनमा रहेको लाङ्टाङ पुग्ने चाहना पूरा हुने अवसर मिल्यो । लाङ्टाङ ट्रेल रन गत जेठ २३ गते लाङ्टाङको क्याङजिङदेखि स्याफ्रुबेँसीसम्म रसुवा-नुवाकोट पर्यटन समाजको आयोजनामा भएको थियो ।
स्याफ्रुबेँसीदेखि निगालो घारीसम्म
जेठ १९ गते बिहान सामाखुसीबाट हाम्रो टोली चारवटा बसमा रसुवातर्फ प्रस्थान गर्यो। खेलाडी, आयोजक, अफिसियल, स्वास्थ्यकर्मी र सञ्चारकर्मी गरी करिब एक सय जनाभन्दा बढी सहभागी थिए । काठमाडौँको व्यस्त वातावरण छाडेर टोखा, नुवाकोट हुँदै रसुवाको स्याफ्रुबेँसी पुग्दा दिउँसो भइसकेको थियो । त्यहाँबाट सुरु भएको पैदल यात्रा नै वास्तवमा लाङ्टाङको वास्तविक परिचय थियो । जुम्लाको पहाडी भूगोलमा हुर्किएको हुनाले उकालो-ओरालो मलाई नयाँ विषय थिएन । त्यसैले यो यात्रा सहजै पूरा गर्ने आत्मविश्वास थियो । तर, लामो समयदेखि काठमाडौँको सहज जीवनशैलीमा अभ्यस्त शरीरले भने फरक अनुभव गरायो । उकालो बाटोले शरीरलाई निकै परीक्षा लियो । ऊर्जा तामाङको नेतृत्वमा अघि बढेको टोली बाँसबारीतर्फ लम्किरहेको थियो । साँझसम्मको कठिन यात्रापछि निगालो घारीसम्म पुग्दा शरीर थकित भए पनि मन भने उत्साहित थियो । खोलाको सुसाई, जङ्गलको शान्त वातावरण र यात्राको थकानले पहिलो रात निकै स्मरणीय बनायो । होटेल अभावका कारण हामी सञ्चारकर्मी टेन्टमा बस्यौँ । प्रकृतिको काखमा बितेको त्यो रातले सहरको कृत्रिम जीवनभन्दा प्रकृतिको नजिक रहनुको आनन्द कति ठुलो हुन्छ भन्ने अनुभूति गरायो ।
लाङ्टाङ भ्यालीतर्फ
दोस्रो दिनको यात्रा अझ कठिन थियो । बिहानैदेखि सुरु भएको यात्रा रिम्चे, लामा होटेल, रिभरसाइड, घोडातबेला हुँदै लाङ्टाङ उपत्यकातर्फ अघि बढ्यो । बाटोभरि देखिने हरिया वन, झरना, नदी र हिमालका झल्काले थकानलाई बिर्साइरहेका थिए । उकालो चढ्दै जाँदा हावामा चिसोपन बढ्दै गयो भने हिमाल झन् नजिकिँदै गए । साँझ लाङ्टाङ भ्याली पुग्दा शरीर थाकेको थियो, तर मनमा छुट्टै उत्साह थियो । त्यहाँ पुगेपछि विसं २०७२ को विनाशकारी भूकम्पको पीडा पनि नजिकबाट बुझ्ने अवसर मिल्यो । स्थानीयले पुरानो लाङ्टाङ गाउँ हिमपहिरो र हिमतालको भेलले बगाएको दर्दनाक कथा सुनाए । सयौँ मानिसको ज्यान गएको त्यो घटना सम्झँदा मन भारी भयो । तर, त्यही स्थानमा पुनः नयाँ बस्ती निर्माण गरी जीवनलाई अघि बढाएका स्थानीयको साहसले भने प्रेरणा दियो । लाङ्टाङ उपत्यकाको हिमाली वातावरण साँच्चै मोहक थियो । वरिपरि सेता हिमाल, चिसो हावा र शान्त वातावरणले थकानलाई क्षणभरमै बिर्साइदियो । यद्यपि, लगातारको पदयात्राका कारण मेरो खुट्टामा चोट लागेको थियो । जुत्ताले घोटेर रगतसमेत बगेको थियो । मेडिकल टोलीले उपचार गरिदिएपछि केही राहत मिल्यो । तर, त्यो रात खुट्टाको पीडाले राम्ररी निदाउन भने सकिएन ।
क्यान्जिन गुम्बा र रीको मोह
तेस्रो दिन लाङ्टाङ भ्यालीबाट क्यान्जिन गुम्बातर्फ लाग्यौँ । यो दिन दूरी कम भए पनि दृश्यावलोकनका हिसाबले सबैभन्दा रमणीय थियो । मुन्डु र सिन्दुम हुँदै क्यान्जिन गुम्बा पुग्दा स्वर्गको कुनै कुनामा आइपुगेको अनुभूति भयो । समुद्री सतहबाट करिब तीन हजार आठ सय ७० मिटर उचाइमा रहेको यो स्थान चारैतिर हिमालले घेरिएको छ । क्याङजिङ गुम्बा पुगेपछि मलाई क्याङजिङ री चढ्ने इच्छा जाग्यो । साथीहरूले कठिन आरोहण भएकाले नजान सुझाव दिए । तर, हिमालको आकर्षणले मलाई रोक्न सकेन । एकजना साथीलाई लिएर उकालो लागेँ । जति माथि चढ्दै गयो, उति नै प्रकृतिको सौन्दर्य खुल्दै गयो । करिब दुई घण्टाको कठिन यात्रापछि क्याङजिङ रीको चुचुरोमा पुग्दा प्राप्त भएको अनुभूति जीवनकै अनुपम क्षणमध्ये एक बन्यो । त्यहाँबाट देखिने हिमालका शृङ्खला, तल चम्किरहेका हिमताल, बादलको खेल र लाङ्टाङ उपत्यकाको विहंगम दृश्यले मनलाई पूर्णरूपमा मोहित बनायो । त्यो क्षणमा लागिरहेको थियो– हिमालभन्दा माथि म छु र आकाशलाई छुने दूरी अब धेरै टाढा छैन । प्रकृतिले दिएको त्यो आनन्द शब्दमा व्यक्त गर्न गाह्रो छ ।
विश्राम र याक चिज
चौथो दिन खेलाडीलाई विश्राम दिइएको थियो । तर, मेरो उत्सुकता अझै बाँकी थियो । नेपालकै प्रसिद्ध याक चिज उद्योग अवलोकन गर्ने अवसर मिल्यो । विसं २००९ मा स्थापना भएको उक्त उद्योग नेपालको हिमाली अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा रहेछ । त्यहाँका कर्मचारीसँग कुराकानी गर्दा चौँरीपालन घट्दै जाँदा उत्पादनमा परेको प्रभावबारे जानकारी पाइयो । याक चिजको स्वाद मात्र होइन, त्यसको इतिहास र महत्त्वबारे पनि धेरै कुरा सिक्ने अवसर मिल्यो । त्यसपछि पञ्चतालसम्म पुगेर हिमाली प्रकृतिको अर्को रूप नियाल्ने अवसर मिल्यो । तालको किनारमा बसेर हिमालको प्रतिबिम्ब हेर्दा प्रकृतिको अनुपम सौन्दर्यप्रति अझ बढी सम्मान जाग्यो ।
लाङ्टाङ ट्रेलरनको रोमाञ्च
पाँचौँ दिन दोस्रो लाङ्टाङ ट्रेलरनको मुख्य दिन थियो । बिहानैदेखि खेलाडी उत्साहित देखिन्थे । मौसम प्रतिकूल हुँदा कार्यक्रम केही ढिला भए पनि उत्साहमा कमी आएको थिएन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ, पर्यटनमन्त्री सुरज श्रेष्ठ र आर्थिक मामिलामन्त्री प्रभात तामाङको उपस्थितिमा प्रतियोगिताको उद्घाटन भयो । खेल पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले लाङ्टाङलाई थप परिचित बनाउने विश्वास सबैमा थियो । उद्घाटनपछि खेलाडी दौडिन थाले । हिमालको काखमा, चुनौतीपूर्ण पदमार्गमा खेलाडी दौडिरहेको दृश्य साँच्चिकै प्रेरणादायी थियो । म पनि उहाँहरूको पछिपछि स्याफ्रुबेँसीतर्फ लागेँ । उक्लिन तीन दिन लागेको बाटो एकै दिनमा ओरालो झर्दा फरक अनुभव भयो । साँझ स्याफ्रुबेँसी पुग्दा विजेता सम्मानित भइसक्नुभएको थियो । उहाँहरूको अनुहारमा देखिएको सफलताको खुसीले कार्यक्रमको महत्त्व झन् बढाएको थियो ।
स्याफ्रुबेँसीदेखि काठमाडौँ
पाँचौँ दिनको भोलिपल्ट बिहान हामी सबै काठमाडौँ फर्कियौँ । सामाखुसीमा बसबाट ओर्लिँदा यात्रा समाप्त भएको थियो, तर मन भने अझै लाङ्टाङकै हिमालमा डुलिरहेको थियो । पाँच दिनको त्यो यात्रा केवल पदयात्रामा मात्र सीमित भएन, त्यो आत्मविश्वास, साहस, मित्रता, प्रकृतिप्रेम र नयाँ अनुभवको सङ्गम थियो । ६ दिनको यो यात्रा केवल पदयात्रा थिएन । यो प्रकृति, इतिहास, संस्कृति र आत्मविश्वाससँगको साक्षात्कार थियो । हिमालको काखमा बिताएका ती दिनले थकानभन्दा बढी ऊर्जा, दुःखभन्दा बढी आनन्द र यात्राप्रतिको मोह अझ गाढा बनाए । लाङ्टाङका हिमाल, त्यहाँका बस्ती, स्थानीयको आत्मीयता र पदमार्गका हरेक पाइला आज पनि स्मृतिमा ताजा छन् । सायद त्यसैले लाङ्टाङ मेरो लागि केवल एउटा गन्तव्य होइन, जीवनभर सम्झिरहने एउटा अनुपम अनुभूति बनेर बसेको छ । आज पनि जब लाङ्टाङको नाम सुन्छु, आँखाअघि सेता हिमाल, चिसो हावा, क्यान्जिन रीको चुचुरो, याक चिज उद्योग, ट्रेलरनका खेलाडी र हिमालको काखमा बसेको शान्त बस्तीको दृश्य ताजै भएर आउँछ । यही कारणले लाङ्टाङ मेरो लागि केवल एउटा पर्यटकीय गन्तव्य होइन, जीवनभर सम्झिरहने एउटा अविस्मरणीय यात्रा बनेर बसेको छ । (साभार अनलाइन खबर)






प्रतिक्रिया