काठमाडौँ । अब आमाको नामबाट पनि नेपाली नागरिकले नागरिकता पाउने भएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आइतबार राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आमाको नामबाट नागरिकता जारी गर्ने बाटो खुलेको छ ।
यो विधेयक प्रमाणीकरण भएसँगै राजपत्रमा प्रकाशित हुनेछ । राजपत्रमा प्रकाशित भएसँगै विधेयकले ऐनको रूप लिनेछ । सोपछि अब नागरिकताका लागि निवेदन दिएमा तुरुन्तै आमाको नामबाट नागरिकता प्राप्त हुनेछ । अर्कोतर्फ नागरिकतामा बाबुको नाम नराखे पनि नागरिकता प्राप्त गर्न सकिनेछ । विगतमा सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिनुपर्ने र बाबुको नाम उल्लेख नगरे पनि नागरिकता प्राप्त गर्न सकिने भनी आदेश दिएको थियो । त्यो आदेशबमोजिम सम्बन्धित व्यक्तिले नागरिकता प्राप्त गरे पनि समग्रले प्राप्त गर्न कानुनको आवश्यकता थियो । तर, कानुन बन्न सकेको थिएन । अब कानुन निर्माण भएकाले यस्तो व्यवस्थाले नेपाली समाजमा एउटा महत्त्वपूर्ण परिवर्तन भएको कानुनविद् रामनारायण बिडारी बताउनुहुन्छ ।
कानुनमा बाबु वा आमामध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्को जन्मको आधारमा नागरिकता प्राप्त गर्नुअगावै मृत्यु भएको वा बाबुले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेकोमा आमा सम्पर्कविहीन रहेको व्यक्तिको हकमा सम्बन्धित व्यक्तिले सोबमोजिमको स्वघोषणा गरेमा अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्रमा बाबुको नाम उल्लेख भए तापनि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको भनि निजले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान नभएको मानिनेछ र निजले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिएबमोजिम स्वघोषणा गरेमा अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने विधेयकमा व्यवस्था छ । वैदेशिक रोजगारमा गएका नेपाली नागरिक महिलाबाट विदेशमा जन्मिएका, तर बाबुको पहिचान नखुलेको व्यक्तिलाई नागरिकता दिनका लागि यो व्यवस्था गरिएको हो । नेपाली नागरिकताको प्रमाणपत्रमा र कुनै व्यक्तिको नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनुपर्ने स्थानमा कुनै व्यहोरा उल्लेख नगरी दिनुपर्ने व्यवस्था पनि गरिएको छ । कुनै अधिकारीले यो ऐनबमोजिम दिएको आदेश वा गरेको निर्णयबाट मर्का पर्ने व्यक्तिले त्यस्तो आदेश भएको मितिले ३५ दिनभित्र गृह मन्त्रालयको सचिवसमक्ष निवेदन दिन सक्ने व्यवस्था छ ।
निवेदन प्राप्त भएमा आदेश दिने वा निर्णय गर्ने अधिकारीसँग प्रतिवेदन लिई सो प्रतिवेदनसमेतको विचार गरी गृह मन्त्रालयको सचिवले आफ्नो निर्णय वा आदेश दिन सक्नेछ र त्यो निर्णय वा आदेश अन्तिम हुने व्यवस्था गरिएको छ । यसैगरी, १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एकजना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ । नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने उमेर पूरा नभएको नेपाली नागरिकको नाबालक सन्ततिलाई वैदेशिक यात्रा गर्नुपर्दाको अवस्थामा नेपाली राहदानी प्राप्त गर्न नाबालक परिचयपत्र प्रदान गर्न सकिनेछ ।
प्रतिक्रिया